भूकम्प पीडितलाई सरकारले १ अर्ब ४१ करोड पठायो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ४,

मुलुकमा भूकम्प पीडितलाई अस्थायी आवास बनाउनका लागि रकम नपठाएको भनेर आलोचना भइरहेका बेला सरकारले भूकम्प पीडितलाई १ अर्ब ४१ करोड रुपैयाँ पठाएको छ। पीडितको सहजताका लागि पालिकाको वडा कार्यालयबाट नै रकम पाउने व्यवस्था मिलाएको पोखरेलले बताए। पीडितले वडामा गएर आवेदन दिए पछि स्थानीय तहले पीडित भएको प्रमाणित गरेर रकम वितरण गर्नेछ। ‘भूकम्पले क्षति भएका र जोखिम भएका परिवारले यो रकम पाउँछन्,’ उनले भने, ‘पीडित हो/होइन वडाले भेरिफाई गर्छ।’ भूकम्पले क्षति पुगको करिब ८० हजार घरधुरीलाई यो सुविधा दिने तयारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास बनाउनका लागि रकम निकासा गरेको जनाएको छ। भूकम्पले क्षति भएका प्रति परिवारलाई अस्थायी संरचना बनाउन प्राधिकरणमा रहेको कोषबाट रकम पठाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। ‘प्रति परिवारलाई ५० हजार रुपैयाँ दिने योजना छ,’ पोखरेलले भने, ‘पहिलो किस्तामा २५ हजार दिने व्यवस्था मिलाएका छौँ।’भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ। मन्त्रालयका अनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ घरमा पूर्ण क्षति, २४ हजार ७ सय ७ घरमा आंशिक क्षति, रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण क्षति, ९ हजार ९ सय ६१ घरमा आंशिक, रुकुम पूर्वमा १ सय ८२ घरमा आंशिक क्षति, सल्यानमा १ सय २९ पूर्ण, ४ सय १८ आंशिक, रोल्पामा २५ घर पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति, प्युठानमा ३१, दाङमा ७, जुम्लामा ५ घरमा आंशिक क्षति पुगेको थियो।

Like