भूकम्प पीडितको जाजरकोटमा चिसोले थप तीन जनाको मृत्यु

Share to:

टिकाराम सिङ/जाजरकोट, मार्ग २,

मुलुकमा चिसो बढ्दै गएको अवस्थामा चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ। डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए।

Like