घडिअर्वा घाटको छठ सजावट
रासंसा/पर्सा, मार्ग १,
मुलुकमा छठ पर्वको रौनक संस्कृतमाया भएको छ भने छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको जानकारी गराए। उनले यसपाली छठघाटको सजावट र व्यवस्थापनमा गरी करिब १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। टेन्टमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८, सरसफाइमा ६० हजार रुपैयाँ खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए। यस्तै छठघाट परिसरमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए। सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए। सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार छठघाटमा व्रतालु , दर्शनार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ। गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले जानकारी गराए।