प्रधानमन्त्री दाहाल ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै
रासंसा/काठमाण्डौ, कार्तिक ३०,
भारतले भोलिदेखि ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को आयोजना गर्ने भएको छ। भर्चुअलरूपमा हुने समिटको दोस्रो संस्करणमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उक्त समिटमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सञ्चालन गर्ने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने भएका हुन्। ‘एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ नारा दिएको उद्घाटन सत्रमा अन्य देशका राष्ट्र प्रमुखहरूको समेत सहभागिता रहने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीले गर्ने सम्बोधनको तयारी पूरा भएको छ। ‘भारतले आयोजना गर्ने समिटमा नेपालको तर्फबाट प्रधानमन्त्रीज्युले उठाउने विषयवस्तुका विषयमा सम्पूर्ण तयारी पूरा भएको छ। भोलि साँझ उहाँले सम्बोधन गर्नुहुनेछ,’ परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने। त्यस्तै समिटमा १० वटा सत्रमा छलफल गरिनेछ भने अन्य ८ वटा मन्त्रीस्तरीय सत्रहरू सञ्चालन हुनेछन्। भारतीय विदेश मन्त्रालयका अनुसार इमर्जिङ टुगेदर फर अ बेटर फ्युचर, मेकिङ ह्युमन रिसोर्सेस फ्युचर रेडी, फाइनान्सिङ पिपल सेन्ट्रिक डेभलपमेन्ट, सस्टनेबल सोलुसन फर क्लाइमेट रिसाइलेन्स एन्ड क्लाइमेट फाइनान्स, ग्लोबल साउथ एन्ड वान डेभलमेन्ट, अफोर्डेबल एन्ड इन्क्लुसिभ इनर्जी ट्रान्जिसन फर सस्टनेबल डेभलमेन्ट, सोलुसन फ्रम दी ग्लोबल साउथ फर वान हेल्थ र ग्लोबल साउथ एन्ड रिसाइलेन्ट सप्लाई चेन्स नामक सत्र सञ्चालन हुनेछन्। यी सत्रहरूमा विषयगत मन्त्रीहरूको सहभागिता रहने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। भारतले यसअघि २०७९ पुस २८ देखि २९ गतेसम्म भर्चुअलरूपमै प्रथम भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो। त्यसबेला नेपालका तर्फबाट पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।