भूकम्प पीडित वीरे घर आफ्नो नाममा नहुँदा क्षतिपूर्ति पाउनेको सूचीमै परेनन्
टिकाराम सिङ/जाजरकोट, कार्तिक २८,
मुलुकमा जाजरकोटको नलगाड नगरपालिका–१ का ४८ वर्षीय वीरे पुन ०६३ मा आफ्ना छोराछोरीको भविष्य सुन्दर बनाउने उद्देश्यसहित सदरमुकाम खलंगा आए । सामान्य परिवारका उनले सुरुमा हार्डवेयर पसल गरे । त्यसबाट खासै आम्दानी भएन, सानोतिनो भए पनि होटल चलाउने सोचे । स्थानीय रामबहादुर पुनले आफ्नो जमिनमा एक कोठे घर बनाएर त्यसै छाडेका थिए । वीरेले त्यसलाई मर्मत गरे, माथिल्लो तलामा आफैँले टिन (जस्तापाता)को छाना हालेर कोठा निकाले । दुई कोठा र दुई अलग्गै टिनकै कोठा बनाए । तीन छोरी र दुई छोराका साथ सदरमुकाम छिरेका उनका लागि निकै चुनौतीपूर्ण बसाई थियो बजारको । ०६७ सालदेखि भेरी नगरपालिका–३, थाप्लेमा अर्काको जमिनमै लगानी गरेर उनले सामान्य होटल सुरु गरे । त्यो बेला नै घर मर्मतदेखि टिन लगाउने र होटलका सामग्रीहरु किन्न उनको साढे पाँच लाख खर्च भएको थियो । वीरेको परिवार भने होटल भएकै घरमा बस्थ्यो । होटलको आम्दानीले पाँच जना छोराछोरी पढाउन, घर खर्च र जमिनको तीन हजार भाडा तिर्न ठिकै हुन्थ्यो । जसोतसो घर खर्च चलेर पनि उनीहरुले ऐलानी जग्गामा थोरै लगानी गरेर सानो कच्ची घर बनाए । उक्त घरमा कोही बस्दैनन् । खाना, नास्ता खुवाउने सामान्य होटल हो उनको । पछि मान्छेहरु बास बस्ने गरी आउन थालेपछि नजिकैको पक्की घरमा दुई कोठा भाडामा लिए, जहाँ पाहुनालाई सुताउँथे । कार्तिक १७ गते मध्यरात आएको विनाशकारी भूकम्पले उनको गाउँको घर, लगानी गरेको होटल र सानो ऐलानी जग्गामा बनाइएको घर सबै भताभुङ्ग पारिदियो । घर भत्किएपछि छोराछोरी र श्रीमतीलाई सामान्य चोट लागे पनि वीरे भने गम्भीर घाइते भए । वीरेको पिठ्यूँ र खुट्टाका नराम्ररी चोट लाग्यो । उनी भन्छन्, ‘म र श्रीमती तल्लो तलामा थियौँ, छोराछोरी माथिल्लो तलामा, टिनको छानो भएकाले छोरीलाई सामान्य चोट लागे पनि बेहोस अवस्थामै निस्किन सफल भइ, बाँकी तीन जना त पाँच मिनेटमात्र ढिलो भएको भए मर्ने थियौँ ।’ घरमा कान्छो छोरा, साइली छोरी र वीरेका बुढाबुढी मात्रै थिए । जेठी छोरीको बिहे भइसक्यो, माइली छोरी काठमाडौँमा थिइन् भने दसैँको टीका लगाउन नलगाड गएका उनका जेठा छोरा फर्किएका थिएनन् ।छोरी ललिताका अनुसार कोही त्यहाँ आएर छिटो–छिटो भग्नावशेष पन्छाएर अक्सिजन पास हुने ठाउँ बनाइदिए । त्यसपछि च्यापिएका वीरेका बुढाबुढीले सास फेर्न पाए । ललिता भन्छिन्, ‘म बेहोस थिएँ, हामी बस्नेभन्दा दायाँको घर पनि ढलेको रहेछ, मम्मीबुबा जीवित हुनुहोला भन्ने लागेकै थिएन, त्यही बेला कोही आएर उद्धार गरिदिनुभयो । पाँच मिनेटमात्र ढिला भएको भए मम्मी, बुबा र भाइको मृत्यु हुन सक्थ्यो ।’ होटल र घर भत्किएर आफू मरणासन्न अवस्थामा पुग्दा पनि वीरेको नाममा ती कुनै भौतिक संरचना नहुँदा राहतबाट उनी वञ्चित भएका छन् । होटल सञ्चालन गरेको जमिनका मालिक रामबहादुरले राहतका लागि आफ्नो नाम लेखाएका छन् भने उता गाउँको घर अंशवण्डा नभएका कारण उनकै कान्छा भाइले क्षति विवरणमा आफ्नो नाम लेखाएका छन् । गम्भीर घाइते भएका वीरेको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक हप्ता जिल्ला अस्पतालमा उपचार गराउँदा पनि सम्भव नभएपछि अहिले उनलाई काठमाडौँ लगिएको ललिता बताउँछिन् । लाखौँ लगानी गरेका वीरेले भने क्षति विवरणमा नामै राख्न सकेनन् । उनी यता न उताका भएका छन् । ‘लाखौँ लगानी गरेँ, भूकम्पले भताभुङ्ग पार्यो, अहिले क्षतिपूर्ति र राहत जसको नाममा घर छ, त्यसैले पाउँछ भन्छन्, म कहाँ जाऊँ ? मेरा छोराछोरीलाई कहाँ राखौँ ?’ वीरेले रातोपाटीसँग गुनासो पोखे । वीरेका होटेलको फ्रिज, दराज, कुर्सी, टेबल, सबै नष्ट भइसके । भग्नावशेष पन्छाउन गाह्रो भएपछि प्रहरीले त्यसै छाडेको छ । काठमाडौँमै रहेकी माइली छोरीसहित चार जनाको परिवार काठमाडौँमा छन् भने दुई छोरा भत्किएको घर नजिकै पाल टाँगेर बसेका छन् । रामबहादुरलाई पहिला नै आफूहरुले लगानी गरेको रकम फिर्ता गर्न आग्रह गर्दा पनि नगरेको ललिता बताउँछिन् । वीरे घाइते भएपछि अहिले परिवारको गुजारा र अहिलेको संकट टार्न समस्या भएको उनको भनाइ छ । अरुले राहत सामग्री पाइरहँदा वीरेका परिवारले भने पाउन सकिरहेको छैन । ललिताका अनुसार बुधबार चामल, ग्यास, पकाउने भाँडा दिइएको थियो । ‘एउटा पाल र एउटा ब्ल्याङ्केट दिइएको छ, यस्तो चिसोमा त्यस्तो एकसरो कपडाले के नै हुन्छ र ?’ उनी भन्छिन्, ‘त्यहाँ अहिले राहतको चामल, नुन लगायत अरुले पाइरहेका छन्, हामीले पाइरहेका छैनौँ ।’ ‘बुबा घाइते भएसँगै टुहुरोजस्तै भएका छौँ, हामी सबै सानै छौँ, हामी जस्तो भूकम्प पीडितका लागि सरकारले केही क्षतिपूर्ति÷राहतको व्यवस्था गरिदिए हुन्थ्यो,’ ललिता भन्छिन्, ‘बुबाले ढाड नै चलाउन सक्नुहुन्न, हामीले कसरी गुजारा चलाउने ?’ उता गाउँको घरमा उनका साइलो काकाका छोराछोरीहरु सुत्थे । त्यो दिन ६ जना सुतेका रहेछन् । भूकम्पले घर भत्काएपछि दुई बहिनी (काकाको छोरी) को मृत्यु भएको ललिताले बताइन् । ललिता अहिले बीबीएस चौथो सेमेस्टर पढ्दैछिन् । होटलबाहेक अन्य कुनै आयस्रोत नभएकाले राज्यले सोचिदिनुपर्ने उनको भनाइ छ ।