रामीडाँडाका स्थानीय बिरामी पर्न थाले
टिकाराम सिङ/जाजरकोट, कार्तिक २७,
मुलुकमा जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्। जाजरकोट भूकम्पको केन्द्रविन्दु रहेको रामीडाँडाका अधिकांश स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य चौकीमा बिरामीहरुको भीड पनि बढ्न थालेको छ। अरु बेला दिनमा चार–पाँच जना बिरामीहरु आउने गरेकोमा आजभोलि स्वास्थ्य चौकीमा दिनकै ५० जनाभन्दा बढी बिरामीहरु आउन थालेका छन्। रामीडाँडा भूकम्पको केन्द्रविन्दू हो। यहाँ अत्याधिक चिसो छ। लेकतिर हिउँ परिरहेको छ। भूकम्पले घर भत्किएर बारीको बास भएपछि स्थानीय बिरामी हुन थालेका हुन्। रामीडाँडाकी कमला ज्योति स्वास्थ्य चौकीमा कार्यालय सहयोगी छिन्। भूकम्पले घर भत्काएपछि उनको पाँच जनाको परिवार पालमुनि छ। अत्याधिक चिसोमा पालमुनि बासले पूरै परिवार थलिएको छ । सबै थलिएपछि खाना पकाएर दिने मानिस पनि उनको परिवारमा छैनन्। स्वास्थ्य चौकी पुग्ने अधिकांशमा ज्वरो आउने, वान्ता हुने समस्या देखिएको स्वास्थ्यकर्मी सपना बुढाले बताइन्। उनले दैनिक बिरामीको संख्या यसैगरी बढ्न थाले हामीलाई थेग्न गाह्रो हुने बताइन्। ‘त्रिपालमुनि सुत्दा माथिबाट सितहरु झर्छ, ओछ्याउने र ओढ्ने प्रयाप्त कपडा छैनन्,’ उनले भनिन्, यहाँ म र मेरो परिवार मात्रै होइन्, सबै बिरामी छन्।’ चिसोले सुत्केरी, गर्भवती, बालबालिका र बृद्धबृद्धा मारमा परेका छन्। स्वास्थ्यकर्मी बुढाले बिरामीको संख्या बढ्दै गएकाले औषधि र स्वास्थ्यकर्मीको तत्काल व्यवस्था गर्नुपर्ने बताइन्। कुशे गाउँपालिकाको उपल्लो भाग धनराशिमा पनि रामीडाँडाकै अवस्था छ। स्वास्थ्य चौकी धनराशिमा विरामीको भीड लाग्न थालेको छ। भूकम्पले गाउँका सात जना सदस्य गुमाएको यो गाउँका घाइते भएका पाँच जना अझै नेपालगञ्ज र सुर्खेतमा उपचार गराइरहेका छन्। ‘चिसोका कारण बृद्धबृद्धा, बालबालिका, सुत्केरी, गर्भवती बढी प्रभावित भएका छन्, सिंगो गाउँनै थलिने अवस्था छ,’ उनले भनिन्, ‘समयमै स्वास्थ्यकर्मी र औषधिसहित हेल्थ डेक्स राख्न आवश्यक छ।’ उनले अहिले स्वास्थ्य चौकीमा रहेको औषधिका एक–दुई दिनलाई धान्ने बताइन्। भूकम्पले घर गुमाएर एकसरो पालमुनि आइपुगेकाहरु अहिले झन समस्यामा छन्। परिवारको संख्या नहेरेर सरकारले ओत लाग्नका लागि दिएको एकसरो पालभित्र एलिशा शाहीको परिवार अट्दैन्। ‘सरकारले दिएको पालमुनि मुस्किलले दुई जना अटाउँछौं, मेरो परिवारमा आठ जना छौं,’ उनले भनिन्, ‘भूकम्पले कोही घाइते भएर हेलिकप्टरले नेपालगञ्ज र सुर्खेत पु¥याएकाहरु उपचार गराइरहेका छन्, पालमुनि भएका हामीहरु बिरामी पर्न थालेका छौं।’ उनले बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको बताए। ‘गाडी नजाने ठाउँ भएकाले त्यहाँका स्थानीयले राहत सामाग्री पनि आवश्यकता अनुसार पाएका छैनन्, त्रिपाल पाएपनि ओढ्ने र ओछ्याउने केही पाउनु भएको छैन्,’ उनले भने, ‘चिसो भुइँ र ओड्ने कपडा नहुँदा भूकम्प भन्दापनि ठूलो समस्या आउने देखिन्छ।’ उनले स्वास्थ्य चौकीमा न्यूनतम आवश्यक औषधिको पनि अभाव रहेको बताए। सरकारले सबै भूकम्प पीडितहरुलाई ओत लाग्ने त्रिपाल नपुर्याउँदै जाजरकोटमा माथिल्ला क्षेत्रमा हिउँ र पानी पर्न थालेको छ। धनराशि पुगेर फर्किएका डा. मनिष रेग्मीले पालमुनि रहेका भूकम्प पीडितहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको बताए। ‘उच्च पहाडी ठाउँमा प्रयाप्त लत्ता–कपडा नहुँदा स्थानीयहरुमा विभिन्न समस्या समस्या देखिएका छन्,’ उनले भने, ‘हैजाको संभावना पनि छ।’