तीन नयाँ अनुहार नेपाली फुटबल टोलीमा
रासंसा/काठमाण्डौ, कार्तिक २५,
मुलुकमा पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्। मिडफिल्डर निसान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। निसानले पोर्चुगलमा त्यहाँको स्थानीय टोली नेपजुम क्लबबाट खेल्दै आएका थिए। बागलुङका निसानले सीधै ट्रायल दिए र राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सफल रहे। नेपालले यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्स (युएई) सँग फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण र एएफसी एसिया कप २०२७ को छनोट खेल्दै छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार तीन नयाँ अनुहारसहित २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। योगेशले थ्री स्टार र राजेशले एनआरटीबाट ‘ए’ डिभिजन फुटबल खेलेका थिए। नेपालले दोस्रो चरणको पहिलो खेलमा नै बलियो टोली युएईविरुद्ध खेल्दा महत्वपूर्ण डिफेन्डर अनन्त तामाङ हुने छैनन्। अभ्यासका क्रममा घुँडामा चोट लागेपछि उनले खेल गुमाउने भएका हुन्। यद्यपि, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले उनलाई टोलीमा फर्काउन सक्ने सम्भावनाबारे चिकित्सकसँग थप जानकारी लिने बताए। नेपालले युएईसँग एक मात्र खेल सन् १९८४ मा खेलेको थियो। उक्त मैत्रीपूर्ण खेलमा नेपाल ११–० को फराकिलो हार सामना गर्न बाध्य भएको थियो। यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईसँग खराब रेकर्ड भए पनि यस पटक राम्रो फुटबल खेल्ने प्रयास रहने विश्वास व्यक्त गरेका छन्। दोस्रो चरणको छनोटको समूह ‘एच’ मा नेपालसहित युएई, बहराइन र यमन छन्। नेपालले समूहको पहिलो खेलमा नै फिफा वरीयतामा ६९औं स्थानमा रहेको बलियो टोली युएईको सामना गर्न लागेको हो। नेपाली टोलीको तीन गोलकिपरमा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, अभिषेक बराल छन्। डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बु, उत्सव राई, कृतीशरत्न छुन्जु, मनीष डाँगी र सेसेहाङ आङदेम्बे छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्र्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले टिोलीको बिदाइ गरे। राखेप सदस्यसचिव घिसिङले टिम स्पर्धाका खेल फुटबल र क्रिकेटबाट नेपाली खेल समर्थक र सरकारले धेरै आशा गरेको उल्लेख गर्दै युएई बलियो टोली भए पनि सुखद नतिजा ल्याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए। त्यस्तै फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट छन्। नेपालले आगामी कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ। त्यसका लागि नेपाली टोली आइतबार युएई प्रस्थान गर्दै छ। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भए पनि राम्रो तयारी गरिरहेको बताए। उनले बलिया टोलीविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्र्शन गर्ने पनि विश्वास व्यक्त गरेका छन्। नेपालले मंसिर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ। यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन्। पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन्। यता, युएई र बहराइनले भने फिफा वरीयताको आधारमा सीधै दोस्रो चरणमा स्थान बनाएका थिए। तयारी क्रममा उनले घरेलु टोलीसँग केही अभ्यास खेल पनि खेलेको बताए। अनुभवी फुटबलर अञ्जन विष्टले पर्याप्त एक्सपोजर नपाए पनि बलिया टोलीविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। जित या टोलीको उत्कृष्ट प्रदर्शन गर्छौं भन्ने आशासहित युएई जाने लागेको अञ्जनको भनाइ छ। युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ।