पहिले बेसहारा अहिले अरूका सहारा

Share to:

रासंसा/कैलाली, कार्तिक १९,

मुलुकमा सहारा घरबाट नयाँ जीवन पाएका मोहनबहादुर कुँवर यतिबेला बेसहाराका सहारा बन्न पुगेका छन्। उनी विगत ६ वर्षदेखि बर्दगोरिया गाउँपालिकास्थित सहारा घरमा रहेका बेसहाराहरूको सेवा गर्दै आएका छन्। बिष्टका अनुसार उनलाई त्यतिबेला आफू को हुँ भन्ने नै थाहा थिएन। बिष्टले अरू बेसहारा झैं कुँवरलाई समेत स्याहारसुसार गरे। सहारा घरको माहोलमा कुँवर रमाउन थाले। उनी करिब तीन महिनामै सञ्चो भए। उनले आफ्नो विगत पूरै सम्झिए। सोही सहारा घरले उनलाई नयाँ जीवन दिएको हो। ६ वर्षअघि कैलालीको लम्कीमा सडकमा अलपत्र भेटिएका उनलाई सहारा घरका सञ्चालक बलबहादुर बिष्टले उद्धार गरेका थिए। उनी मानसिक रूपमा विक्षिप्त अवस्थामा भेटिएको सञ्चालक बिष्ट बताउँछन्। उनको घर बैतडीको पुर्चौडी नगरपालिका ८ पुर्चौडी हाट हो। उनले सानै उमेरमा बुबा गुमाए। उनी परिवारको एक्लो छोरा हुन्। उनका दुई बहिनी छन्। उनीहरूको विवाह भइसकेको छ। परिवारको अवस्था सामान्य थियो, जसका कारण उनले कक्षा ६ भन्दा माथि पढ्न पाएनन्। यस्तैमा एक दिन अचानक बिरामी परे। उनी मान्छे देख्दा डराउन थाले। कैयन् दिनसम्म आफन्तले खोजी गरे तर उनी कतै भेटिएनन्। उनी घर छाडेर हिँडेको ६ महिनाजति भइसकेको थियो। घरपरिवारले उनी जीवितै रहेको हुन सक्ने आशा मारिसकेका थिए। उनलाई घर छाडेपछि लम्की पुग्दासम्मको कुनै कुरा थाहा छैन। जब सहारा घरमा होस आयो उनले आफूले घर छाड्नुअघिको कुरा मात्रै सम्झिए। घरपरिवारले धामीझाँक्रीलाई देखाए। अस्पताल लगिदिने आफन्त थिएन। साथीभाइ र छिमेकी सबैले उपेक्षा गर्न थालेपछि उनलाई एक्लो महसुस हुन थाल्यो। एक दिन झमझम पानी परिरहेका बेला उनी घरबाट निस्किए। सहारा घरका सञ्चालक बिष्टले पुर्चौैडी नगरपालिका ८ का वडाध्यक्ष जनक बिष्टलाई फोन सम्पर्क गरे र कुँवरका बारेमा जानकारी दिए। कुँवरलाई लिएर बिष्ट आफैं पुर्चौडी हाट पुगे र परिवारलाई जिम्मा लगाए। मानसिक समस्या भएपछि घर छाडेर हिँडेको छोरो सकुशल घर फर्किएपछि आमा निकै खुसी भइन्। उनका पत्नी र छोराछोरी पनि खुसी भए। सहारा घरमा बेसहाराको संख्या दिनदिनै थपियो। सञ्चालक बिष्टलाई एक्लै धान्न धौधौ पर्‍यो। उनले यो समस्या बिष्टलाई सुनाए। बिष्टको कुरा सुन्नेबित्तिकै कुँवर घर छाडेर हिँडे, तर यसपटक घरपरिवारसँग हाँसीखुसी बिदा मागेर हिँडेका थिए। कुँवर करिब तीन महिनाजति घरपरिवारसँगै बसे, तर उनको मन सहारा घरमै थियो। उनी त्यहाँ रहेका बेसहारा सम्झिरहन्थे। आफूलाई सञ्चो भएपछि उनले झन्डै पाँच महिना बेसहाराको सेवा गरे। उनले आफू छिटै सञ्चो हुनुको कारण आफूजस्तै बेसहारालाई सहयोग गर्नु रहेको महसुस गरेका छन्। ‘म यिनीहरूलाई सहयोग गरेकै कारण छिटै निको भएको हुँ’, उनले भने, ‘मलाई बेसहाराको आशीर्वाद प्राप्त भयो।’ उनी बेलाबेलामा घरपरिवार भेट्न जान्छन्। घरको अवस्था त्यति राम्रो छैन। उनलाई सेवा गरेवापत सञ्चालक बिष्ट केही रकम दिन्छन्। सोही रकमले कुँवरको घरपरिवारको खर्च चल्ने गरेको छ। बाँकी समय उनले सहारा घरका बेसहाराको स्याहारसुसारमै बिताउने गरेका छन्। ‘घरमा मन बस्दैन’, उनले भने, ‘यिनीहरूकै सम्झना आइरहन्छ।’ हिजो बिरामी हुँदा छिमेकी छिःछिः र दूरदूर गर्थे। न कोही साथीभाइ थिए न कोही इष्टमित्र थिए। आफन्त नै टाढा भएका थिए, तर अहिले सबैजना माया गर्छन्। कुँवर ३३ वर्षका मात्रै भए। उनी ज्याला मजदुरी गर्न सक्छन्। परदेश गएर नोकरीसमेत गर्न सक्छन्, तर उनलाई सहारा घरबाहेक अन्यत्र काम गर्ने मनै छैन। उनी भन्छन्, ‘दुःखी र गरिबहरूको सेवा गर्न पाएको छु। यसैमा मेरो मन रमाएको छ। आखिर मलाई नयाँ जीवन दिएको यही सहारा घरले नै हो।’ सहारा घरमा अहिले ७० जना बेसहारा छन्। तीमध्ये १७ जना महिला छन्। उनीहरूको सम्पूर्ण रेखदेख कुँवरले गर्छन्। सञ्चालक बिष्टले आफ्नो अनुपस्थितिमा सहारा घरको सम्पूर्ण जिम्मेवारी कुँवरले धानेको बताए। उनले कुँवरविना आफू बेसहारा हुने बताए।

Like