ठुलो भूकम्पको जोखिम अझै कायमै
रासंसा/काठमाण्डौ, कार्तिक १९,
मुलुकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निट्युडको भूकम्प ठुलो धनजनको क्षति पु¥याएपछि धेरै मानिसको ध्यान तानेको छ । भूकम्पविद्हरूले पश्चिम नेपालको क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको पटकपटक चेतावनी दिए पनि राज्यले भने त्यसतर्फ ध्यान दिन सकेको छैन । पश्चिम नेपालमा करिब ५ सय वर्षदेखि ठुलो भूकम्प नगएकाले भूकम्पीय जोखिम भनेर विज्ञले औंल्याउँदै आएका थिए । तर, शुक्रबार गएको भूकम्पले एकपटक राज्यको ध्यान केन्द्रित भएको छ । ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चित भइरहेको वैज्ञानिकको अध्ययनले ८ म्याग्निट्युड् वा सोभन्दा ठुलो भूकम्प जान सक्ने भएकाले पूर्वसावधानीमा जोड दिएका थिए । शनिबारसम्म सो भूकम्पको पराकम्प ४० वटाभन्दा बढी गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको ज्यान जानुको साथै झन्डै २ सय बढी घाइते भएका छन् । सरकारले उद्धार र राहतको काम सुरु गरेको छ तर अब आउने सक्ने विपत्ति’bout भने सोचेको पाइँदैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्यांक हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्प गइरहेको छ । विगत केही समयदेखि दैनिक रूपमा भूकम्पको पराकम्प गइरहनुले पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेको देखिन्छ । तर, यही भूकम्पपछि अर्को ठुलो भूकम्प नआउला भन्न सकिन्न । अहिले गइरहेका साना तथा मझौला भूकम्प गइरहेकाले पनि भूकम्पको जोखिम अझै बाँकी छ भन्न सकिने विज्ञहरू बताउँछन् । सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्युडको भूकम्प गएको थियो जसमा ९ हजारभन्दा बढीको ज्यान गएको थियो । त्यसपछिको तीन वर्षमा नेपालमा ४० हजारभन्दा बढी भूकम्पका पराकम्प गए । केही साताअघि मात्रै धादिङ केन्द्रबिन्दु भएर गएको ५.२ म्याग्निट्युडको भूकम्पलाई पनि भूकम्पविद्ले २०७२ सालको ठुलो भूकम्पको पराकम्पका रूपमा लिँदै आएका थिए । त्यस्तै, नेपालमा गत महिना मात्रै बझाङमा गएको ६.३ म्याग्निट्युडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए । त्यसयता पनि भूकम्पको पराकम्प गइरहेका छन् । विज्ञका अनुसार अहिले पनि नेपालमा २ म्याग्निट्युडभन्दा कमका भूकम्प दैनिक १० देखि १५ वटासम्म जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसर विक्रम संवत् १९९० पछि नेपालको पूर्वी क्षेत्रमा ठुलो भूकम्प गएको छैन । पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर विक्रम संवत् १२५५ मा ८ म्याग्निट्युडभन्दा बढीको भूकम्प गएको थियो । विक्रम संवत् १२५५ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको मानिन्छ । सो महाभूकम्पले त्यतिखेरको नेपालको एकतिहाइ भाग ध्वस्त भएको ठानिन्छ । विज्ञहरूका अनुसार लामो समय भूकम्प नजाँदा जति ठुलो अन्तरालमा भूकम्प गयो त्यति ठूलो शक्तिशाली भूकम्प आउने जोखिम बढी हुन्छ । पश्चिम नेपालमा सन् १५०५ पछि ठुलो भूकम्प गएको नै छैन । मध्य नेपालमा भने १ सय देखि १ सय ५० वर्षको अन्तरालमा शक्तिशाली भूकम्प गइरहेको छ । पछिल्लो समय नेपालमा विक्रम संवत १९९० मा ठुलो भूकम्प गएपछि २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गयो । त्यसभन्दा पहिला १४०० सयमा र १६०० सालमा ठुलो भूकम्प गएको तथ्यांक छ । जाजरकोट जिल्लाको ’boutकोट गाउँपालिका–१ स्थित रामीडाँडा केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पमा परेकाको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा मेडिकल सामग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित करिब ५ सय जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन गरिएको छ । भूकम्पमा परेकाको खोज तथा उद्धारका लागि सम्बन्धित जिल्ला तथा अन्य जिल्लाबाट समेत सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । त्यस्तै, पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीसहित ९ जना, नम्बर २९ ज्वालामाई गण दाङबाट ४० जना, नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ३० जना र आश्रित गुल्म सल्यानबाट ५५ जनासमेत जम्मा २ सय २१ जना गरी भूकम्प प्रभावित क्षेत्रमा करिब ५ सय सशस्त्र प्रहरी बलको सुरक्षा फौज परिचालन भएका छन् । जाजरकोट जिल्लामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमान्डमा ७ जना एम्बुलेन्ससहितको मेडिकल टोली, नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट ८५ जना, नम्बर ४२ रिजर्भ गण बाँकेबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित ६० जना, आश्रित गुल्म जाजरकोटबाट ७५ जना र आश्रित गुल्म दैलेखबाट ३५ जना गरी जम्मा २ सय ६२ जना सशस्त्र प्रहरी बलको सुरक्षा फौज आवश्यक उद्धार सामग्रीसहित खटिएको छ । सशस्त्र प्रहरी बल नेपालको डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटका लागि पठाइसकिएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको मास क्याजल्टी भेइकल (एमसीभी) काठमाडौं, नेपालगन्ज र सुर्खेतमा तयारी हालतमा राखिएको छ । नेपालगन्जमा रहेको एमसीभीले घाइतेलाई अस्पताल पु¥याएको थियो । सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रमा विपद् उद्धारका दक्ष जनशक्तिसमेत परिचालन गरेको छ भने खोज तथा उद्धारका लागि नेपाल एपीएफ अस्पताल तथा उपत्यकास्थित नम्बर २० विपद् उद्धार उपत्यका गण, नम्बर २१ निलवाराही गण, नम्बर २२ गुहेश्वरी गण, नम्बर २६ गण पश्चिम नवलपरासी, नम्बर २९ ज्वालामाई गण दाङ, नम्बर ४१ रिभर्ज गण कपिलवस्तु, नम्बर ३० बागेश्वरी गण बाँके, नम्बर ३१ गण बर्दिया, नम्बर ३४ गण कैलाली र नम्बर ३५ गण कञ्चनपुरबाट जम्मा ५ सय ६८ जना सशस्त्र प्रहरी बलको विशेष सुरक्षा फौज तयारी अवस्थामा राखिएको छ । जसमा विपद् व्यवस्थापन तालिम प्राप्त १ सय २०, मेडिकल टिम १६ जना, फायरफाइटिङ १० जनासमेत रहेका छन् । यस्तै, भूकम्पमा परी घाइते भर्ना गरिएका अस्पताल नजिकका युनिटमा सशस्त्र प्रहरी बल नेपालको फौज रक्तदानका लागि तयारी हालतमा राखिएको छ ।