ट्यांकसहितका इजरायली सैनिक गाजाको मध्यभागमा हवाई हमलासँगै स्थलगत युद्ध

Share to:

एजेन्सी,

विश्वमा इजरायल र हमासबीच युद्ध सुरु भएको २४औं दिनमा इजरायली सेनाका ट्यांक र बुल्डोजर गाजा क्षेत्रको मध्यभाग पुगेका छन् । इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै उसको सेना गाजाको सालाह–अल–दिन सडकमा पुगेको हो । तीन सातादेखि आफ्नो दक्षिणी क्षेत्रबाट गाजा क्षेत्रमाथि भीषण हवाई आक्रमण गरिरहेको इजरायलले अब स्थलमार्गबाट ‘अपरेसन’ अघि बढाउने घोषणा गरेको थियो । गाजा सहर र उत्तरी गाजालाई जोड्ने सालाह–अल–दिन सडक अब इजरायली सेनाले अवरोध गरेको छ । इजरायली रक्षामन्त्री योभ ग्यालान्टका अनुसार दोस्रो चरणको युद्ध एक महिनासम्म चल्न सक्ने अनुमान छ । ‘यसको उद्देश्य हमास आतंककारीहरूका भौतिक संरचनाहरू नष्ट गर्ने र बन्धकलाई मुक्त गर्नु हो,’ रक्षामन्त्री ग्यालान्टले पत्रकार सम्मेलनमा भने । इजरायलले जारी गरेको पछिल्लो विवरणअनुसार हमासको कब्जामा २३९ जना छन् । यो सूचीमा बेपत्ता भएका नेपालका विपिन जोशी छन् कि छैनन् भन्ने स्पष्ट छैन । इजरायली प्रधानमन्त्री कार्यालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा कान्तिपुरले राखेको जिज्ञासामा प्रवक्ता इलोन लेवीले भने, ‘विवरणहरू प्राप्त हुनासाथ क्रमशः सार्वजनिक गर्दै रहेका छौं, हामीसँग अहिले थप विवरण छैन ।’ ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा करिब एक हजार चार सयको ज्यान गएको थियो, जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । त्यसयता इजरायलले गरेको हमलामा ८ हजार तीन सय ६ जना प्यालेस्टिनीको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा करिब तीन हजार बालबालिका छन् । युद्धविरामका लागि राष्ट्रसंघले विशेष प्रस्ताव पारित गरे पनि इजरायल भने अघि बढिरहेको छ । राष्ट्रसंघले सोमबार गाजा सहरको सिफा र अल–कुड्स अस्पताल तथा उत्तरी गाजाको इन्डोनेसियाली अस्पताल नजिकै हमला भएको जनाएको छ । ‘उत्तरी गाजाका थप १० अस्पताल पनि खाली गर्न इजरायलले निर्देशन दिएको छ, जहाँ हजारौं बिरामी र कर्मचारी छैनन्, करिब एक लाख १७ गाजावासीले आश्रय लिइरहेका छन्,’ राष्ट्रसंघले भनेको छ । इजरायलले स्थलगत कारबाही बढाएपछि प्यालेस्टाइनी क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ । इजरायली सेनाले स्थलगत कारबाहीमा हमासका लडाकुहरू मारिएको दाबी छ । ‘इजरायली सेना गाजा क्षेत्रभित्र गन्तव्यतर्फ अगाडि बढिरहेको छ । सेनालाई रोक्न खोज्दा दर्जनौं आतंककारीहरू मारिए,’ इजरायली सेना (आईडीएएफ) का प्रवक्ता डेनियल हगरीले आफ्नो ट्विटमा सोमबार लेखेका छन्, ‘हामी गाजा क्षेत्रमा विस्तारित भूमिगत अपरेसन गर्दै छौं । सैनिकहरू आतंककारीहरूतर्फ अघि बढिरहेका छन् । हामी उनीहरूलाई हवाई हस्तक्षेप पनि गर्दै छौं ।’ इजरायलले आक्रामक कारबाही अघि बढाउँदा गाजा क्षेत्रमा मानवीय क्षतिको चिन्ता थपिएको छ । संयुक्त राष्ट्रसंघ र प्यालेस्टिनी स्वास्थ्य अधिकारीकर्मीहरूले उत्तरी क्षेत्रमा रहेका अस्पतालनजिक आक्रमणहरू भइरहेकोप्रति चिन्ता जनाएका छन् । रेड क्रिसेन्ट उद्धार सेवाका अनुसार १४ हजार नागरिकले आश्रय लिइएको अल–कुड्स अस्पतालको ५० मिटरभित्रै इजरायलबाट आक्रमण भएको छ । इजरायलले एक साताअघि अल–कुड्स अस्पताल खाली गर्न आदेश दिएको थियो । अस्पतालहरूमा आश्रय लिएर हमासले रणनीति बनाइरहेको उसको दाबी छ । हमासले पनि निरन्तर रकेट प्रहार गरिरहेको छ । सोमबार पनि इजरायली सहर तेलअभिभ, हर्जलिया, रानाना, होलोन र होड हसारोनलगायत स्थानमा रकेट प्रहार गरिएको छ । ती रकेटलाई इजरायलको आइरन डोमले आकाशमा नै निस्तेज गरिदिएको थियो । त्यस्तै लेबनानी हिजबुल्लाह समूहले उत्तरी क्षेत्रमा रकेट प्रहार गरिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट दुई लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेको छ । तर, गाजाका २३ लाख सर्वसाधारणको ज्यान भने जोखिममा छ । यसैबीच, हमासले सोमबार आफ्नो बन्धकमा रहेका तीन जनाको भिडियो जारी गरेको छ । भिडियोमा देखिएका तीन महिलाले आफूहरूलाई बन्धकबाट छुटाउन आग्रह गरेका छन् भने इजरायली प्रधानमन्त्री नेतान्याहुको आलोचना गरेका छन् । यद्यपि, उनीहरूमा कुनै चोटपटकको निसाना भने देखिएको छैन । इजरायली प्रधानमन्त्री नेतान्याहुले भिडियोलाई ‘क्रूर मनोवैज्ञानिक प्रोपोगान्डा’ भन्दै आलोचना गरेका छन् । उनले भिडियोमा देखिएका महिलाको नाम लिँदै उनीहरूप्रति सहानुभूति प्रकट गरेका छन् । इजरायलमा हमासद्वारा मारिएका नेपालीमध्ये बाँकी ५ जनाको शवको पनि पहिचान भएको छ । पहिचान हुनेमा पदम थापा, प्रवेश भण्डारी, राजन फुलारा, राजेश कुमार स्वर्णकार र आनन्द साह छन् । यसअघि पहिचान भएका ५ जनाको शव नेपाल ल्याइसकिएको छ । बेपत्ता भएका विपिन जोशीको खोजीका लागि उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग भइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Like