संसद् सम्बोधनको विशेष तयारी

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १३,

मुलुकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनका लागि संसद्मा आवश्यक तयारी गरिएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै औपचारिक पोसाकमा आउन सांसदलाई आग्रह गरे । राष्ट्रप्रमुखले संसद्मा सम्बोधन गर्नेजसरी नै संसद्मा तयारी गरिएको छ । संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थितिका लागि विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको जनाएको छ । संसद्को नियमावलीमा कुनै विदेशी राष्ट्रको प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि नेपाल सरकारले अनुरोध गरे सभामुखले अनुमति दिन सक्ने व्यवस्था छ । सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आसनको दायाँतर्फ राख्न सक्ने व्यवस्था नियमावलीमा छ । मुलुकमा गणतन्त्र स्थापनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि संसद्लाई सम्बोधन गर्ने नेपालबाहिरका विशिष्ट व्यक्ति गुटेरेस हुने भएका छन् । मोदीले २०७१ साउन १८ गते संसद्लाई सम्बोधन गरेका थिए । २०७६ असोज २५ र २६ गते चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गरेका थिए । राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुन २०६५ कात्तिक १५ गते नेपाल आएका थिए । तर उनीहरूले संसद्लाई सम्बोधन गरेनन् । मुनले शान्ति र परिवर्तन सुदृढीकरणमा राष्ट्रसंघको सहायतालाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याउन नेपाल भ्रमणमा आएको बताएका थिए । उनी लगभग २० घन्टा नेपाल बसेका थिए । हिमालको दृश्यावलोकनदेखि बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनसम्म गरेर उनी फर्केका थिए । संसद् सचिवालयले गुटेरेसको सम्बोधन सुन्न संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार, न्यायपरिषद् सचिवालयका सचिव, महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ता, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, उपराष्ट्रपति कार्यालयका सचिव, महालेखा परीक्षकको कार्यालयका सचिव, महालेखा नियन्त्रक कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, भाषा आयोगका पदाधिकारी, नेपाल कानुन आयोगका पदाधिकारी, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आन्मन्त्रण गरेको छ ।

Like