मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलटलाई उपचारका लागि काठमाडौं पठाइयो

Share to:

रासंसा/सोलुखुम्बु, आश्विन २७,

मुलुकमा सोलुखुम्बुको लबुचेमा हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं पठाइएको छ। शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो। हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाइलट सेढाई घाइते भएका छन्। हेलिकोप्टरमा पाइलट प्रकाश सेढाईलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए। प्रत्यक्षदर्शी मिङमार नुरु शेर्पाका अनुसार शनिबार बिहान अन्दाजी ७:२५ बजे लबुचेको हेलिप्याडमै दुर्घटना भएको हो। ४ हजार ९ सय मिटरको उचाईमा रहेको उक्त हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको छ।

Like