पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सेनाभित्र रोलक्रम मिचेर र बढुवा वृत्तिविकासको संरचना खल्बल्याएर अघोषित रूपमा सैनिक ‘कु’ गराउन खोजिएको छ। प्रधानसेनापति शर्माले बेलायतको औपचारिक भ्रमणमा जानुअघि हालै म्याद थप गरिएका सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्। ‘संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई ‘कु’ गर्न खेजे पनि सफलता मिलेन। यसपटक उनी जसरी पनि प्रधानसेनापति शर्मालाई प्रयोग गरेर नीतिगत रूपमै बढुवा संरचना खल्बल्याउने, माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा लागेका छन्। यसमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहमति छ’, सैनिक उच्च स्रोतले भन्यो। स्रोतका अनुसार प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा समायोजन भएकालाई तालिम र वृत्तिविकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको र अब रिक्त हुने उपरथी पदमा बढुवा गर्ने योजना बनाइएको छ। प्रधानसेनापति शर्मा भारत र अमेरिका भ्रमणपछि अहिले बेलायत पुगेका छन्। नेपाल फर्केपछि चीन जाने तयारी हुनेछ। भ्रमणको तयारीलाई देखाएर अब बन्ने प्रधानसेनापतिको रोलक्रम केही समय नतोक्ने, उपरथी पद रिक्त गराउने र त्यो पदामा सहायक रथी अधिकारीलाई बढुवा गर्ने चलखेल सेनामा सुरु भएको स्रोतको दाबी छ। तर नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले भने अधिकारीलाई अतिरिक्त समूहमा राखेको दाबी गरेका छन्। अब रिक्त हुने उपरथीमा बढुवा भए अधिकारी प्रधानसेनापति बन्ने प्रबल सम्भावना रहन्छ। ‘अब उपरथीमा बढुवा भएमा अधिकारीलाई प्रधानसेनापति हुनबाट रोक्न सक्ने अवस्था छैन। त्यसका लागि प्रधानमन्त्री दाहालले आवश्यक प्रबन्ध मिलाउन प्रधानसेनापति शर्मालाई जिम्मा दिएका छन्’, स्रोतको दाबी छ। सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मा २०८१ भदौमा अवकाश हुँदैछन्। रोलक्रममा उनीपछि रहेका सरोजप्रताप राणा एक वर्ष म्याद थप्न नपाई यही सातादेखि बिदामा बस्दैछन्। ‘सहायक रथी अधिकारीलाई तालिम विभागजस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिनुले सेनाभित्रै असझदारी उत्पन्न भएको छ। उनलाई माओवादीबाट समायोजनमा आएका लडाकुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले मात्र तालिम विभागमा पठाइएको होइन, बढुवामा सहज गराउन त्यो जिम्मेवारी दिइएको हो। उपरथीमा बढुवाका लागि तीन देखि ६ वर्ष सहायक रथीमा काम गरेको हुनुपर्छ। अधिकारीको चार वर्ष पुग्यो, उनी बढुवाका लागि ‘टप फाइभ’ भित्र पर्छन्,’ सेनाका एक उच्च अधिकारीले भने, ‘उनलाई तालिम विभागको जिम्मेवारी दिनुमा राजनीतिक नेतृत्वको मुख्य हात छ।’ राणापछिका सीताराम खड्का पनि शर्माअगावै अवकाशमा जाने भएकाले प्रधानसेनापतिका लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच प्रतिस्पर्धा हुनेछ। राणा बिदामा बसेको या अवकाशमा गएको १३ दिनभित्र रोलक्रमबारे निर्णय भएन भने मेजर जर्नेलमै ताराध्वज पाण्डे पनि अवकाशमा जानेछन्। त्यस्तो अवस्थामा सहायक रथी अधिकारी उपरथीमा बढुवा हुनेछन्। उपरथीमा बढुवा भए उनलाई भावी प्रधानसेनापति हुनबाट कसैले रोक्न सक्ने छैन। सेनाका प्रवक्ताले भण्डारीले मापदण्डभित्र पर्ने उपरथीमा बढुवा हुने बताए। ‘नेपाली सेनाको विधि, नीति, नियम, नियमावली र मापदण्डअनुसार बढुवा हुने अहिलेसम्मको परम्परा छ’, प्रवक्ता भण्डारीले भने। माओवादीका पूर्वलडाकु अधिकारी नेपाली सेनामा समायोजन भएका हुन्। उनलाई प्रधानसेनापति बनाउने योजनाअनुसार नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले फेरि तीन वर्ष म्याद थप्न लगाएका हुन्। अधिकारीको दोस्रोपटक म्याद थपको विषयलाई लिएर सेनाभित्र र बाहिरबाट विरोध भएको छ। सेनाका पूर्वजर्नेलहरूले त विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्। नेपाली सेनाको विशेष पदमा सहायक रथीमा कार्यरत अधिकारीको भदौ ३१ मा सुटुक्क तीन वर्ष पदावधि थप गरिएको थियो। उनको पदावधि सोही मितिमा सकिँदै थियो। तर मन्त्रिपरिषद् बैठकले तीन वर्ष पदावधि थप गर्दै उनलाई सेवामा निरन्तरता दिएको हो। ‘प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानसेनापति शर्मा आफूपछि सेनाको नेतृत्व कसले गर्ने भन्ने निक्र्योल तत्काल नगरी उपरथी पद रिक्त गराएर अधिकारीको बढुवाका लागि सहजीकरण गर्दैछन्। उपरथीमा बढुवा भए उनलाई सेनापति बन्ने बाटो खुल्नेछ।’ नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातले त अधिकारीको फेरि म्याद थपका विषयमा सामाजिक सञ्जालबाट पनि असन्तुष्टि पोखेका छन्। उनले ‘सेना कब्जा हुनसक्छ’ भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्। विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानसेनापति शर्मा आफूपछि सेनाको नेतृत्व कसले गर्ने भन्ने निक्र्योल तत्काल नगरी उपरथी पद रिक्त गराएर अधिकारीको बढुवाका लागि सहजीकरण गर्दैछन्। माओवादीका १९ हजार लडाकुमध्ये तीन हजार एक सय ३१ जनाले सेनामा समायोजन रोजेका थिए। त्यसमध्ये एक हजार तीन सय १३ जनालाई मात्र समायोजनको बाटो खुलेको थियो। अधिकारीको नेतृत्वमा माओवादीले आफ्ना लडाकुलाई समायोजनमा पठाएको थियो। लडाकुबाट छिरेका १३ जना सेनानी, ३० जना सहसेनानी र २४ जना उपसेनानी भइसकेका छन्। सेनामा लडाकुबाट गएकामध्ये अधिकृत ७०, पदीक ५९ र जवान एक हजार एक सय ८४ जना छन्। उनीहरू सेनाको विभिन्न युनिट तथा सबयुनिटमा कार्यरत छन्।

Like