चाडपर्व लक्षित आजदेखि सार्वजनिक सवारी साधनको टिकट बुकिङ गर्न पाइने

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२,

मुलुकमा चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको टिकट बुकिङ आजदेखि खुला भएको छ। नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी यातायात व्यवसायीको पनि भएकाले आजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। उनले काठमाडौं उपत्यकामा झन्डै एक दर्जन स्थानबाट दसैँंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै अनलाइन र म्यानुअल दुवै तवरबाट दसैँको टिकट बुकिङ गर्न सकिने बताए। ट्राफिक प्रहरीकाअनुसार दसैँमा करिब १० लाखभन्दा धेरै यात्रु घर फर्किने गर्छन्। बस सेवा डट कमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने यातायात व्यवसायीले बताएका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि दशैंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै व्यवस्थित ढङ्गले यात्रुलाई आफ्नो गन्तव्यमा पठाइने दाबी गरे।

Like