मुलुकमा फरक धर्म तर मजबुत सम्बन्ध
रासंसा/काठमाण्डौ, आश्विन २०,
मुलुकमा नेपाली समाजका यस्ता कैयौं पात्र छन्, जो धर्मको साँघुरो घेराभन्दा माथि छन् । हिन्दु हुन् वा मुस्लिम, किरात हुन् वा बौद्ध । आपसी प्रगाढ सम्बन्धले सामाजिक एकतालाई एकढिक्का बनाइराखेको छ । नेपालगन्ज, लुम्बिनी, पाँचथर, धनगढी, गोरखा, सर्लाही — केही महिनायता धरान, सर्लाही र नेपालगन्जका टकरावपूर्ण घटनाले धेरैलाई चिन्तित बनाइदियो, कतै सदियौंदेखि नेपाली समाजमा विद्यमान सद्भावको कसिलो डोरी खुकुलो हुन लागेको त होइन ? नेपाली समाजका यस्ता कैयौं पात्र छन, जो धर्मको साँघुरो घेराभन्दा माथि छन् । हिन्दु हुन् वा मुस्लिम, किरात हुन् वा बौद्ध । मित्रताको कसिलो सम्बन्धले सामाजिक सद्भावको सुवास छरिराखेको छ । १८ वर्षीया गीता नेपालगन्जस्थित सरस्वती माविमा कक्षा १० मा पढ्छिन् । फरिनले भने मदरसामा ५ कक्षा पढेर छाडिन् । उनी हिजोआज दाइको पसलमा सघाउँछिन् । घरबारी टोलको एउटा गल्लीमा उनीहरूको घर जोडिएको छ । ‘हामी एकअर्काको कुरा सुनेर घण्टौं बात मार्छौं,’ फरिनले भनिन् । गीता र फरिन दुवै परिवारका एक्ला छोरी हुन् । दुवै एकअर्काको घरको भान्छामा कुनै दकस नराखी छिर्छन् । भान्सामा पाकेको पकवान चाख्छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलका गीता वारी र फरिन सल्मानी एउटै टोलमा हुर्किए । चुंगी, रबर ब्यान र खोपी खेल्दै सँगै बालापन बिताए । उनीहरूको प्रार्थनास्थल फरक–फरक छ । गीता मन्दिर पुगेर प्रार्थना गर्छिन् भने फरिन मस्जिद जान्छिन् । धर्म र रीति फरक भए पनि वर्षौंदेखि उनीहरूको मित्रताको डोरी उस्तै कसिलो छ । त्यो मित्रता परिवारसम्म कसिएको छ । सुखदुःखमा दुईको परिवार एकै ठाउँमा हुन्छन् । खुसी बाँड्छ्न्, दुःख साट्छन् । फरिनको घरमा पाकेको सेबई गीताको घरमा पुग्छ । गीताको घरमा पाकेको पकौडा फरिनको घरमा पुग्छ । एकअर्काको चाडबाड पनि उत्तिकै खुसी भएर रमाउँछन् । इदमा गीताको मन खुसी हुन्छ, तिहारमा फरिन भैलो खेल्न गीतासँगै जान्छिन् । ‘१५ वर्षको उमेरसम्म सँगै भैलो खेल्थ्यौं । रमाइलो हुन्थ्यो, हामी पिकनिक पनि सँगै जान्थ्यौं,’ फरिनले भनिन्, ‘चुंगी, गोटी त हामी दिनभर खेल्थ्यौं ।’ गीता र फरिन मात्रै होइन, उनीहरूका दाइहरू पनि औधी मिल्ने साथी हुन् । उनीहरू दुवैलाई धार्मिक सद्भावको शाब्दिक अर्थ थाहा छैन । तर फरक धर्म मान्नेहरू पनि मिलेर कसरी बस्छन् भन्ने राम्रोसँग थाहा छ । फरिनले भनिन्, ‘मान्छेहरू धर्मको नाममा झगडा गर्छन् । विवाद गर्छन्, यसो गर्दा खोइ के पाउँछन् ? हामी त एकअर्कामा केही फरक देख्दैनौं ।’ गीताले आफूहरू मात्रै नभएर बाबुबाजेका पालादेखि टोलमा मिलेर बसेको इतिहास सुनाइन् । भिक्षु सागर धम्म पनि हिन्दु धर्मावलम्बीका चाडबाडमा सहभागी हुन्छन् । प्रत्येक वर्ष लुम्बिनीमा चैते नवमीमा हुने हिन्दुहरूको हवन कुण्डमा अतिथि भएर पुग्छन् । प्रसाद ग्रहण गर्छन्, आशीर्वाद दिएर फर्कन्छन् । लुम्बिनीमा मुण्डन गर्न आउने हिन्दु धर्मावलम्बीका अभिभावक बालकको कपाल खौरिएपछि आशीर्वाद लिन यिनै भिक्षुकहाँ पुग्छन् । दुई फरक धर्मका अगुवा भए पनि तिवारी र भिक्षु धम्मको मित्रता करुण र मैत्रीभावको डोरी कस्सिएर बलियो बनेको हो । पण्डित तिवारी राजकीय विहारसँगै रहेको मुण्डन स्थलमा मुण्डन गर्न र कथा सुनाउन दैनिकजसो पुग्छन् । तिवारी आफूले गर्ने सांस्कृतिक र धार्मिक कार्यक्रममा भिक्षु सागरलाई पनि बोलाउँछन् । भिक्षु धम्मले पनि विहारमा आयोजित कार्यक्रममा पण्डित तिवारीलाई उसैगरी बोलाउँछन् । अहिले बौद्ध धर्मावलम्बीको वर्षावास चलिरहेको छ । हरेक दिन विहारमा बिहान दुई घण्टा सागर धम्म प्रवचन दिन्छन् । प्रवचन सुन्न तिवारी पनि दैनिकजसो विहार पुग्छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४, खम्हे गाउँका पण्डित सूर्यनाथ तिवारी २५ वर्षदेखि कर्मकाण्डमा छन् । हिन्दु परम्परा अनुसरण गरेर पूजाआजा गर्दै आए पनि ५५ वर्षीय सूर्यनाथलाई बुद्ध धर्म र संघको त्रिरत्न वचन कण्ठस्थ छ । उनी बुद्ध धर्मावलम्बीका चाडबाडमा पनि सरिक हुन्छन् । लुम्बिनीको सबैभन्दा पुरानो राजकीय बुद्ध विहार प्रमुख ५२ वर्षे भिक्षु सागर धम्मसँग उनको पुरानो आत्मीय सम्बन्ध छ । सागर धम्मलाई तराईको स्वाद मन पर्छ, तिवारीलाई पहाडको । मधेशमा नागपञ्चमीमा बनाइने गोझिया गुलगुलालगायतको पकवान भिक्षुलाई मन पर्छ । तिवारी त्यही लिएर पुग्छन् । उता तिवारीलाई शाकाहारी भोजन मन पर्छ । भिक्षुले उनलाई शाकाहारी भोजन बेलाबेला खुवाउँछन् । पण्डित तिवारीले खानपानले पनि आपसी सद्भाव र मित्रता कसिलो बनाउन सक्ने बताए । उनले आफूहरूबीच धार्मिक कुरामा पनि छलफल हुने र कतिपय फरक धारणामा छलफल गर्दै एकमत हुने गरेको सुनाए । भिक्षु धम्मले सुनाए, ‘हामीबीच राम्रो समझदारी छ । त्यही भएर दशकदेखिको हाम्रो मित्रता प्रगाढ हँॅदै गएको छ ।’ लुम्बिनीको मायादेवी मन्दिरनजिकै हिन्दु धर्मावलम्बीहरू कराही चढाउने र केश मुण्डन गर्न आउने गरेका छन् । यसले धार्मिक वातावरण बिग्रनुभन्दा सुनमा सुगन्ध थपिएको भिक्षु सागर धम्मले बताए । भने, ‘यस्तो अभ्यासले लुम्बिनीप्रति हिन्दु धर्मावलम्बीको पनि अपनत्व बढेको छ ।’ ४८ वर्षीय आङदेम्बे दसैंमा टीका र जमरा मात्रै लगाउँदैनन्, भ्याएसम्म ब्राह्मण समुदायका अगुवाको घर–घरमा पुगेर शुभकामना साटासाट पनि गर्छन् । ‘कुनै पनि चाडपर्व र संस्कृतिलाई एउटा जाति र धर्मविशेषमा सीमित राख्दा फैलिनुको साटो हराउँदै जाने भएकाले सबैले सबैको अस्तित्व स्वीकार गर्नॅ जरुरी छ,’ उनले भने । सामाजिक सद्भावका लागि सबैले एकअर्काको धर्म, परम्परा र चाडबाडको सम्मान जरुरी ठान्ने आङदेम्बे किरात लिम्बूको चासोक तङ्नामा क्षत्री, बाहुनहरू ढोल नाचुन्, तीजमा लिम्बुनीहरू बाहुनीसँगै नाचगान गरेर मनोरञ्जन लिऊन्, बौद्ध जयन्तीमा राई, लिम्बू, बाहुन र नेवार एकै ठाउँ भेला भएर शान्तिका लागि प्रार्थना गरून् भन्ने चाहन्छन् । ‘म त्यही भएर सबै पर्व र उत्सवमा सम्बन्धित समुदायमा पुगेर रमाउँछु,’ उनले भने । लिम्बू जातिको सर्वोच्च सामाजिक संस्था किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बेले गत वर्ष दसैंमा रातो टीका र जमरा लगाएर फेसबुकमा फोटो पोस्ट गरे । यो विषयमा बहस उठेपछि उनले चुम्लुङको केन्द्रीय समिति बैठकमा दसैं र तिहार मात्रै नभएर कुनै पनि चाडपर्व जातिविशेषले मात्रै मनाउनुपर्छ भन्ने होइन, समाजका सबै वर्ग, समुदायमाझ सहअस्तित्व रहेको सन्देश दिनुका साथै सद्भाव कायम राख्न आफूले दसैंको टीका लगाएको बताए । पाँचथरकै पुराना पत्रकार ५४ वर्षीय कृष्ण ओझा आदिवासी जनजाति समुदायले आयोजना गरेका जुनसुकै कार्यक्रममा पुग्दा त्यहाँ भेटिएका बाजा बजाउने ध्याउन्नमा हुन्छन् । उनी च्याब्रुङ, साकेला, तामाङ र सेलोमा रमाउँछन् । भन्छन्, ‘जातमा बाहुन हुँ तर पारि गाउँमा च्याब्रुङ बज्दा उफ्रिएर पुगौं, धान नाचेको देख्दा साथ दिऔं अनि तामाङ सेलोमा डम्फु बोकेर नाच्न थालौंजस्तो लाग्छ ।’ आङदेम्बे र ओझा सद्भाव, भाइचारा र सहअस्तित्वको अभ्यास गर्ने दुई जना प्रतिनिधि उदाहरण मात्रै हुन् । ‘आस्था, समुदाय, जात र संस्कार नमिलेर के हुन्छ ? भावना मिलेपछि समाज बिथोलिँदैन,’ ओझाले सुनाए, ‘शान्ति र सद्भाव कायम रहन्छ भन्नेमा हामी दुवै एकमत छौं, हाम्रो सहकार्य, एकता र सद्भाव पचासको दशकदेखि स्थिर छ ।’ आङदेम्बे र ओझा राजनीतिक विचारले एकै ठाउँमा छैनन् । चुनावमा उनीहरूको मत बाँडिए पनि समाजका मुद्दाहरूमा उनीहरू एकै ठाउँमा उभिन्छन् । शाहीकालको अँध्यारो होस् कि जनआन्दोलनको उभार, संविधानसभा निर्वाचन होस् कि संघीयता निर्धारणका क्रममा भएका विभिन्न आन्दोलन, उनीहरू सँगै भेटिन्छन् । आङदेम्बेले थपे, ‘मिलेर बसेको समाज भाँड्न केही मान्छे लागेका छन् । विदेशमा बसेर सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरू पनि सक्रिय छन् । यिनको निगरानी जरुरी छ ।’ उनीहरू जब समाजमा विभाजनको कुरा सुन्छन्, मेरो धर्म राम्रो भन्दै अर्को धर्मको उछितो काढेको सुन्छन्, तब एकआपसमा भेटेर चिन्ता साटासाट गर्छन् । आङदेम्बेले भने, ‘यस्तो बेला हामी समाज भाँडिन लाग्यो भनेर सुर्ताउँछौं, छलफल गरेर सम्हाल्ने विकल्प खोज्छौं ।’ २०५४ सालदेखि आङदेम्बे र ओझा मित्रताको कसिलो सम्बन्धमा छन् । मर्दापर्दा एकै ठाउँ भेला हुने, दुःखसुख बाँड्ने, अप्ठ्यारोमा परेकालाई मद्दत गर्ने, मलामी, बिहे भोज, सुद्धाइँ र फजेजस्ता कार्यमा सँगसँगै पुग्छन् उनीहरू । एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो । कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो । कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ । उनीहरूको धर्मकर्म, पूजापाठ, रहनसहन र खानपानको तौरतरिका आ–आफ्नै छ । तर, समुदायका बीच गज्जबको भाइचारा छ । ‘कसैले कसैलाई धार्मिक आस्थालाई लिएर होच्याउँदैनन् । टीकाटिप्पणी हुँदैन, सम्मान गर्छन्,’ वडाध्यक्ष शाहीले भने, ‘मस्जिद निर्माण गर्दा हामी जान्छौं, हाम्रो मस्टाको मन्दिर बनाउँदा उहाँहरू आउनुहुन्छ ।’ दुवै समुदायका घरभित्र आ–आफ्नै धार्मिक आस्था र परम्परामा दृढ छन् । ‘यतिसम्म कि गाउँमा हिन्दु चेलीको बिहे हुँदा मुस्लिम समुदायकाले गाउँले अभिभावकको भूमिका निर्वाह गर्दै कन्याको गोडा धुन्छन् भने मुस्लिमतर्फ चेलीबेटीको बिहेवारी हुँदा अर्को समुदायकाले त्यसै सद्भाव साट्छन्,’ स्थानीय शिक्षक रवीन्द्र शाहीले भने । तीनै जनाको घाँटीमा हजारी फूलका माला थिए । को हिन्दु, को मुस्लिम ? न केही भेदभाव थियो, न केही फरक । सबैप्रति समान सम्मान झल्किन्थ्यो । दुवै समुदायका स्थानीय बासिन्दाले हिन्दुहरूको उक्त धार्मिक अनुष्ठानमा सामेल भएर भक्तिभाव प्रकट गरे । सबैले हंसखुस भएर पूजाआजा गरे । बुढीनन्दा नगरपालिकामा पर्ने कोटिला गाउँमा हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको मिश्रित बसोबास छ । झन्डै दुई सय परिवारको बसोबास रहेको कोटिलामा २२ परिवार मुस्लिम धर्मावलम्बी छन् । तर, उनीहरूबीच कुनै सामाजिक विभेद छैन । मुस्लिमको पूजामा हिन्दु सहभागी हुन्छन्, हिन्दुको पूजामा मुस्लिम । ‘हामी त जिउँदाका जन्ती, मर्दाका मलामी,’ मियाँले भने, ‘आपसी भाइचारा र सामाजिक व्यवहारले हामीलाई बाँधिराखेको हो ।’ थोरै संख्यामा भए पनि आफ्नो समुदायले धार्मिक आस्थालाई लिएर कहिल्यै अपहेलित हुनु नपरेको मियाँले बताए । तीन वर्षअघि मुस्लिमहरूले गाउँमा व्यवस्थित मदरसा निर्माण गरे । पोहोर साल मस्जिद र कबरस्थान पुनर्निर्माण गरे । हिन्दु धर्मावलम्बीहरूले पनि कैलाशमाडौंको मन्दिर सुधारे । ‘हाम्रो मन्दिर बनाउन उहाँहरू श्रमदानमा जुट्नुभयो, उहाँहरूको काममा हामीले डटेर श्रमदान गर्यौं,’ वडाध्यक्ष शाहीले भने । सर्लाहीको मलंगवा नगरपालिका–१० का सद्दाम हुसेन धोबीले ७ वर्षअघि विष्णु गाउँपालिका–२ सिमराकी रिंकुकुमारी झासँग बिहे गरे । मन मिलेपछि माया बस्यो अनि उनीहरू प्रणयसूत्रमा बाँधिए । हिन्दु र मुस्लिमबीच बिहे भएर के भो र ? उनीहरू दुवैले एकअर्काको धर्मको सम्मान गर्छन् । शुक्रबार सद्दाम नमाज पढ्न मस्जिदमा जान्छन् । श्रीमती रिंकु सन्तोषी माताको व्रत बस्छिन् । सद्दामले सुनाए, ‘हामी मन मिलेर विवाह गरेका हौं, समुदायले हाम्रो सम्बन्धमा कुनै प्रभाव पार्न सक्दैन ।’ असारे रोपाइँको चटारोमा गोरखा नगरपालिका–४ फिनामका मोहम्मद अब्फजल मियाँ ट्र्याक्टर दुर्घटनामा घाइते भए । घरमूली नै बिरामी परेपछि मियाँका परिवार खेत रोपाइँका लागि अर्मपर्म गर्नै नसक्ने अवस्थामा पुगे । तर उनको रोपाइँ रोकिएन । छरछिमेकी सबै स्वतःस्फूर्त जम्मा भए र रोपाइँ सके । गोरखा नगरपालिका–२ की सरिफा मियाँ २०५० सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा छिन् । मुस्लिम, हिन्दु दुवै समुदायमा सरिफाको अभाव खड्किन्छ । नियमित खोप, भिटामिन, जुकाको औषधि खुवाउन बालबच्चा छुट्छन् कि भनेर चनाखो बन्छिन् । बालबच्चामा कुनै स्वास्थ्य समस्या देखिए स्वास्थ्यचौकी र अस्पताल जान घचघच्याउँछिन् । गोरखा–२ को ताप्ले, ४ को फिनाम, भीमसेन थापा गाउँपालिका–६ अश्राङको झिंगटेमा मुस्लिम समुदायको बाहुल्य छ । फिनामस्थित आरुस्वाँरा र मेलबिसौनीका ९४ घरमध्ये ५५ घर मुस्लिम समुदायको बसोबास छ । तर सुखदुःखमा उनीहरू एकै ठाउँमा उभिन्छन् । आ–आफ्नो रीति र परम्परा मनाउँछन् तर एकअर्काको धर्म र परम्पराप्रति सम्मान गर्छन् । ‘के मुस्लिम के हिन्दु, दुःख परेपछि सबै गाउँले आएर रोपाइँमा सघाउनुभयो,’ मोहम्मदका भाइ जमिल मियाँले सुनाए, ‘रोपाइँमा ४२ जना थियौं, आधाजसो गैरमुस्लिम हुनुहुन्थ्यो । उहाँहरूले पर्म पनि लिनुभएन, रोपाहार र बाउसे सबै काम गरिदिनुभयो ।’ जमिलले वर्षौंदेखि गाउँमा हिन्दु, मुस्लिम समुदाय मिलेर बसेको सुनाए । ९४ घरधुरीको एउटै टोल विकास संस्था छ । पदाधिकारी र सदस्यहरूमा पनि सबैले मिलिजुली नेतृत्व गर्ने गरेका छन् । वर्षौंदेखि यस क्षेत्रमा हिन्दु मुस्लिम समुदायले एकअर्काको संस्कृतिलाई पनि सम्मान गर्ने गर्छन् । हिन्दु समुदायमा कसैको बिहे भयो भने आफूहरूलाई पनि बोलाउने चलन रहेको स्थानीय तेज बकस मियाँले बताए । ‘व्रतबन्ध, शुभ कार्य केहीमा पनि छुटाउनु हुन्न, हाम्रा छोराछोरीको बिहेमा पनि हामी उहाँहरूलाई छुटाउँदैनौं,’ उनले भने, ‘अहिलेसम्म धर्मका नाममा विभेद भएको थाहा छैन ।’ धर्मले स्थानीयको सहकार्यमा कहिल्यै अवरोध नगरेको र मेलापातमा मुस्लिम गैरमुस्लिम समुदाय सँगसँगै हुने गरेको उनले सुनाए । ‘हाम्रोमा मगर, क्षत्री, नेवार सबैजसो छन्, केही पर्व भयो भने पनि बोलाउनु हुन्छ, हाम्रो सबै कुरा दोहोरो छ,’ उनले भने, ‘दुःखबिराम पर्दा गाउँकै छिमेकीले नहेरे कसले हेर्ने ?’ गोरखाका विभिन्न गाउँमा ३ हजारभन्दा बढी मुस्लिम समुदाय छन् । राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा १७९९ मा नुवाकोट आक्रमण गर्दा युद्धमा हार भएपछि हातहतियारको प्रबन्ध गर्न बनारस पुगेको इतिहास छ । तत्कालीन समयमा बनारसबाट हातहतियारसँगै सेस जवार, भेसासिं र ममताकीलाई सँगै ल्याएर शाहले सैनिक सुदृढीकरण अभियान चलाएको सुन्दै आएको गोरखा नगरपालिका–२ का अध्यक्ष रहमतुल्ला मियाँले बताए । पालुङटारको डुम्रेडाँडा, सिरानचोकको हर्मीलगायतका गाउँमा पनि मुस्लिम समुदाय बस्दै आएका छन् । मियाँले भने, ‘हाम्रो धार्मिक सहिष्णुता भएको जिल्ला हो, मुस्लिमको बकर इद, मोहम्मद जयन्तीलगायतका चाडपर्वमा हिन्दुहरूलाई पनि आमन्त्रण गर्छौं, दसैं–तिहार पर्वमा हामीले पूजाआजा नगरेपछि खुसीयाली साटासाट गरेर मनाउँछौं ।’ गोरखा–२ का जीवन बानियाँ मुस्लिम र हिन्दुबीच राम्रो भाइचारा रहेको बताउँछन् । ‘अर्मपर्म, भोजभतेर सबैमा दुवै समुदायका व्यक्ति समावेश हुन्छौं,’ उनले भने, ‘हाम्रो वडाध्यक्ष नै मुस्लिम समुदायबाट हुनुहुन्छ, दुःखबिराम पर्दा एकले अर्कोलाई हेर्ने, सरसापट लिने सबै छिमेकीबाट नै हो ।’ सर्लाहीको हरिपुर नगरपालिका–३ फरहदवाका लालमहम्मद शेख र विपेन्द्र महतो धेरैजसो सँगै भेटिन्छन् । निर्वाचित वडाध्यक्ष शेख र मेडिकल सञ्चालक विपेन्द्रको दोस्तीयारी २५ वर्षभन्दा पुरानो छ । मन मिल्ने साथी भएकाले उनीहरू सुख र दुःख मात्रै बाँड्दैनन्, हार्दिकता र स्नेह पनि साटासाट गर्छन् । पछिल्ला महिनामा धार्मिक समुदायबीच विभाजन ल्याउने प्रयास भइरहेकामा उनीहरूको साझा चिन्ता छ । वडाध्यक्ष शेखले केही तत्त्व मिलेर बसेको समाज भाँड्न लागिरहेको बताए । ‘दुवै समुदाय भड्काएर समाज खलबल्याउने प्रयास भइरहेका बेलामा हाम्रो दोस्तीमा कुनै असर पर्दैन,’ उनले भने, ‘हामी आज पनि मिलेर बसेका छौं, भोलि पनि मिलेर नै बस्छौं ।’ महतोको घरमा हुने छठको प्रसाद खान शेख आइपुग्छन् । शेखको घरमा हुने दाहालगायतका पर्वमा महतो आइपुग्छन् । उत्सवमा मात्रै होइन, दुःखबिराममा पनि एकअर्कालाई भरथेग गर्छन् । विपेन्द्रले फरक धर्म मान्ने भए पनि आफूहरूको आत्मीयतामा कहिल्यै कमी नआएको बताए । ‘हामी दुई जनाको मन मिलेर दोस्ती भएको हो,’ उनले भने, ‘अढाई दशकभन्दा बढी समयदेखि नै एकअर्काका दुःखसुखमा सामेल छौं ।’ शेख र विपेन्द्र एकअर्कालाई भेट्दा सुरुमा नमस्कार गर्छन् अनि एकअर्कासँग गला मिलाउँछन् ।