सर्लाही सदरमुकाम मलङ्गवामा दुई पक्षबीच झडप भएपछि अनिश्चितकालीन कर्फ्यु

Share to:

रासंसा/सर्लाही, आशिवं ५,

मुलुकमा सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । झडपमा प्रहरीसहित केही घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय प्रशासनले थप शान्ति सुरक्षा बिग्रन नदिन कर्फ्यु जारी गरेको जनाएको छ । मूर्ति विसर्जन गर्न गएकासँग अर्को समूहले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले मलङ्गवामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल-भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मुर्ति सेलाउने क्रममा हिन्दू समुदायमाथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथि बाट तातो पानी र ढुंगा फालेको स्थानिय हिन्दू पक्षधरहरुको भनाइ रहेको छ। केही दिन अगाडि भएको झडप पस्चात दुई समुदायका बिच सदभाव कायम गर्न रैलिसमेत निकालिएको थियो तर आज पुनः झडप भएको छ। यसअघि गएको भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।

Like