नेताको बुझाइमा कस्तो छ नागरिकको अपेक्षा ? माओवादी अभियानमा
रासंसा/मकवानपुर, आश्विन ४,
मुलुकमा
नेकपा माओवादी केन्द्र अहिले संगठन सुधारका लागि ३ महिने अभियानमा छ । ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ अन्तर्गत माओवादी केन्द्रले आफ्ना केन्द्रीय नेतृत्वलाई विभिन्न पालिकामा खटाएको छ । जनश्रमदानसहित सडक मर्मत, सरसफाई, स्वास्थ्य शिविर तथा सामाजिक अभियानमा माओवादीका नेता तथा कार्यकर्ता जोडिएका छन् । बागमती प्रदेशको ११९ वटा पालिकामा अभियान अन्तर्गत पार्टीका गतिविधि सञ्चालनका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु खटिएका छन् । उनीहरु पार्टी संगठनका बैठक, सदस्यता नवीकरण, संगठन विस्तार लगायतका काममा सक्रिय छन् भने नागरिकहरुसँग आर्थिक, सामाजिक र राजनीतिक बहस तथा अन्तर्क्रिया पनि गरिरहेका छन् । अभियान अन्तर्गत ललिपुरको बागमती गाउँपालिकामा खटिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछानेका अनुुसार नागरिकले तत्काल नतिजा खोज्ने गरेका छन् । माओवादी युद्धकालमा अधिकांश समय दक्षिण ललितपुर कार्यक्षेत्र बनाएका लामिछाने असल र वैचारिक नेताका रुपमा परिचित छन् । अभियान अन्तर्गत गाउँगाउँमा पुगेर नागरिकको घरमै सिस्नु र ढिँडो खाएको अनुभव सुनाउँदै उनले बागमतीमा प्रभावकारी ढङ्गबाट अभियान अघि बढिरहेको बताए । अहिलेको स्वतन्त्रता तथा भोलिको व्यवस्था र प्रणालीले युवा पुस्तालाई छुन नसकेको लामिछानेको भनाइ छ । गाउँगाउँ पुग्दा युवा तथा आम नागरिकले क्षमता अनुसारको काम नपाएको गुनासो गरेको उनले बताए । पार्टीमा नयाँ पुस्तालाई माओवादीको विचार, सिद्धान्तमा आकर्षित गर्न अझै कसरत गर्नुपर्ने लामिछाने बताउँछन् । ‘पुराना तथा पहिला माओवादी बनिसकेका तर कुनै कारणले पार्टीबाट बाहिरिएकाहरुलाई सक्रिय गराउन केही सहज देखिएको छ, त्यसतर्फ हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘नयाँ पुस्तालाई माओवादीको विचार, युद्ध र राजतन्त्र विरोधको विषयहरुले छुन सकेको देखिँदैन । अहिलेका युवा श्रम, रोजगारी र विकास खोज्ने प्रकृतिका भएका छन् ।’ वर्तमान अवस्थामा युवा पुस्ताका नागरिकले तत्काल प्रतिफलको अपेक्षा गरेको उनको भनाइ छ । सो अवस्थाका कारण माओवादी अभियानले सहज नतिजा निकाल्न सक्ने अवस्था नरहेको उनले प्रस्ट पारे । पछिल्लो समय माओवादी केही हदसम्म बिग्रिए पनि अन्य दलको भन्दा केही सहज अवस्थामा रहेको उनले बताए । अभियान अन्तर्गत नागरिकमाझ पुग्दा पार्टीको गतिविधि र सरकारले गरेका कामको प्रचारप्रसार भएको देखिए पनि अझै पर्याप्त नभएको उनले बताए । सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा पार्टीको अवस्था बलियो भएको उनको भनाइ छ । ‘नेपालमा काम छैन भन्ने वितृष्णा छ । युवा पुस्तालाई आकर्षण गर्न संगठन र पार्टीले योजना नै ल्याउनुपर्छ । सरकारको नेतृत्व गरिरहेको पार्टी भएकाले आश्वासन दिनेमात्र अवस्था छैन,’ लामिछानेले भने, ‘समस्याहरुका बिचमा माओवादी केन्द्र नागरिकमाझ गएको छ । नतिजा त्यति सहज छैन ।’ ‘नयाँ पार्टीहरुको परीक्षण हुनै बाँकी छ । उनीहरुले आश्वासन दिन सक्ने अवस्था छ । त्यसले केही चुनौती थपेको देखिन्छ । गाउँमा भन्दा सहरी क्षेत्रमा पार्टीप्रतिको आकर्षण कम देखिएको सत्य हो,’ लामिछाने भन्छन्, ‘ललितपुरको बागमती गाउँपालिकाको ग्रामीण भेगमा पार्टीको चहलपहल केही बढी महसुस भएको छ भने क्रमशः सहरी क्षेत्रतर्फ अघि बढ्दा झुकाव कम हुँदै गएको पाइन्छ ।’ ‘अभियानले २०६४ को नै अवस्था आउँछ भन्ने त मलाई लाग्दैन । तर, केही सुधार हुन्छ । अभियानले पार्टीलाई सक्रिय बनाएको छ,’ उनले भने, ‘माओवादीलाई भोट दिएका तर विरक्त बनेका नागरिकहरु प्रशस्त छन् । फेरि गठबन्धनले पनि अन्योल बनाएको अवस्था रह्यो । हामी समेट्ने प्रयत्नमा छौँ ।’ सहरी क्षेत्रको अवस्था सुधार गर्न केही चुनौतीपूर्ण रहेको उनको भनाइ छ । सहरका नागरिकलाई पहिलेदेखि नै पार्टीले समेट्न नसकेको र सहरी क्षेत्रमा राजनीतिप्रतिको वितृष्णा पनि अलि बढी देखिएको उनले बताए । पार्टीबाट रुष्ट भएका मतदाता तथा कार्यकर्ताहरुलाई जोड्न यो अभियानले सहयोग गर्ने उनको विश्वास छ । सरकारमा रहेकाहरुले पनि नागरिकका माग समेट्न सकेको खण्डमा २०८४ मा माओवादीको अवस्थामा सुधार आउँने उनले बताए । माओवादी अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिकामा खटिएका अर्का केन्द्रीय सदस्य डीपी ढकालका अनुसार नागरिकहरुले विगतमा माओवादी यसरी गाउँगाउँ किन आएन भनेर प्रश्न गरेका छन् । ‘तल्लो तहका आवाजलाई पार्टी केन्द्रमा पु¥याउन सकेको खण्डमा अवस्था सुधारमा सहयोग पुग्ने देखिन्छ,’ उनले भने । ‘आम नागरिकहरुले विषेश गरी रोजगारी, विकास निर्माण लगायतका समस्या छिटो समाधान भए हुन्थ्यो, नयाँ कार्यक्रम ल्याएर रोजगारी सिर्जना गरे हुन्थ्यो भन्ने अपेक्षा गरेका छन्,’ ढकालले भने, ‘सरकारले गरेका कामहरु नागरिकमाझ पु¥याउन नसकेको, सरकार र नागरिकको सम्बन्ध टाढिएको भन्ने गुनासो छ । हामीले सरकारलाई समस्या सुनाउन पाएनौँ भन्ने गुनासो नै जनस्तरमा बढी देखिन्छ ।’ ‘युवाहरुको ठुलो जमात राजनीतिमा त्यति आकर्षित हुन नचाहेको पाइयो । १२ कक्षा पूरा गर्नासाथ विदेश जाने ध्यानमा उनीहरु लागेको देखियो,’ ढकालले भने, ‘राजनीतितर्फ झुकाव र चासो राख्ने युवाहरुको भने देशमै टिक्ने र काम गर्ने वातावरण बन्न सक्छ कि सक्दैन भन्ने चिन्ता देखियो । यसमा माओवादी र सरकारले कस्तो भूमिका निर्वाह गर्ला भन्ने उनीहरुको चासो देखियो ।’ ढकालका पनि राजनीतिमा युवा पुस्ताको आकर्षण कम रहेको बताउँछन् । अध्ययनका लागि विदेश जाने जमात ठुलो रहेको र देशमै रहेका युवाहरुमा रोजगारीको वातावरण बन्छ कि बन्दैन भन्ने चिन्ता रहेको उनको भनाइ छ । सरकारले अहिले सुशासनका क्षेत्रमा गरेका कामलाई प्रभावकारी बनाएर अघि बढाउनुप¥यो भन्ने सुझाव पनि युवा पङ्क्तिबाट आएको उनले सुनाए । उनका अनुसार अभियानले २०६४ कैजस्तो नतिजा ल्याउन नसके पनि माओवादीको वर्तमान अवस्था सुधारमा भने निकै सहयोग गर्छ । माओवादी न्युनतम पनि वर्षमा ३÷४ महिना अभियानकै रुपमा नागरिकमाझ पुग्नुपर्ने उनको धारणा छ । अभियानसँगै निरन्तर संगठनात्मक काम गर्ने हो भने माओवादीप्रति नागरिकको विश्वास बढ्ने उनी बताउँछन् । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकामा माओवादी अभियानमा खटिएकी केन्द्रीय सदस्य गंगा पराजुलीका अनुसार अभियान अन्तर्गत गाउँमा पुग्दा नागरिकबाट विभिन्न सुझावसहित कमी कमजोरी औंल्याउने काम भएको छ । माओवादी नेताहरु सहर केन्द्रित भएको गुनासो नागरिकले गरेको उनले बताइन् । ‘आगामी निर्वाचनको अवधिसम्म अभियान मार्फत् माओवादी निरन्तर रुपमा नागरिकहरुसँग जोडिन सकेको खण्डमा शक्तिशाली रुपमा अगाडि आउन सक्छ,’ ढकालले भने, ‘माओवादीप्रति नागरिकहरुको अविश्वास होइन, आशंका छ । त्यसलाई मेट्न पनि माओवादी नागरिकमाझ पुग्नुपर्ने हुन्छ ।’ ‘माओवादीप्रति नागरिकले गरेका अपेक्षा पूरा नभएको भन्ने उहाँहरुको प्रश्न छ । नागरिकको अपेक्षा पूर्ण रुपमा पूरा गर्नुपर्छ, त्यसमा गल्ती गर्ने छुट छैन भन्ने उहाँहरुको सुझाव आएको छ,’ उनले भनिन् । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकामा माओवादी अभियानमा खटिएकी केन्द्रीय सदस्य गंगा पराजुलीका अनुसार अभियान अन्तर्गत गाउँमा पुग्दा नागरिकबाट विभिन्न सुझावसहित कमी कमजोरी औंल्याउने काम भएको छ । माओवादी नेताहरु सहर केन्द्रित भएको गुनासो नागरिकले गरेको उनले बताइन् । नागरिकको घरघरमा पुग्दा विशेष गरी युवाहरु बेरोगार रहेको र विदेश पलायन हुने समस्या सम्बन्धी गुनासो बढी आएको उनको भनाइ छ । शिक्षाको गुणस्तर, प्रणाली परिवर्तनका विषयमा पनि नागरिकले माओवादीप्रति ठुलो अपेक्षा राखेको उनले बताइन् । माओवादीको निर्वाचनको नतिजा सुधार गर्न पार्टी संगठन र सरकार एकजुट भएर अघि बढ्न जरुरी रहेको उनले बताइन् । सरकारले गरेको काम नागरिक माझमा पु¥याउन सकेको खण्डमा निर्वाचनको नतिजामा धेरै सुधार आउने उनको दाबी छ । ‘पार्टीमा युवाहरुको आकर्षण बढाउन जरुरी छ । हामीसँग युवा समूह पनि छ । त्यसलाई सक्रिय बनाउनु पर्छ,’ पराजुलीले भनिन्, ‘युवा पुस्तालाई पार्टीमा संलग्न गराउने विषयमा केन्द्रबाटै गम्भीरतापूर्वक काम भइरहेको छ । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने विषयमा पार्टी संगठनले काम गरिरहेको छ ।’