किन बढ्दै छ सामान्य विषयमा हत्या शृंखला ?
रासंसा/काठमाण्डौ, भाद्र ३०,
मुलुकमा काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। राय मृतक नविनका साथी रहेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैं प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन्। टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ। वीभत्स रूपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ। हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन्। गएको वैशाख ७ गते पनि एउटा यस्तै घटना काठमाडौंमै घट्यो। काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते सामान्य भाडा व्यवसाय गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो। उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन। सामान्य लुटपाटका लागि उनको हत्या भएको थियो। घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ। यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिंदै आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको उक्त घटनाको एघारौं दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले हत्या गरेको पत्ता लगायो। अघिल्लो वर्षको पुसमा अर्काे एउटा विभत्स हत्याले मानिसको मन नै अमिले बनाएको थियो। मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्न सक्छ भन्ने प्रमाण हो काठमाडौंको तारकेश्वर नगरपालिकाका ९० वर्षका व्यक्तिको हत्या। सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि भाडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेका बताउँछन्। सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेका थिए। पछि काठमाडौंमा बाउन्सरको रूपमा जागिर खाए। जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेर हत्या गरेका थिए। त्यसको अघिल्लो महिना मङ्सिर २० गते नगरपालिकाको वडा नम्बर ६ पुसलबाट ९० वर्षका डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो। उनको हत्यामा सोही नगरपालिका-६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न भएको खुल्यो। उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो। उनले चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जंगलमा लगी हत्या गरेको खुल्नेको प्रहरीले सार्वजनिक गरेको थियो। उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नम्बर ३ पारि वनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्यो। टाउको र मुखमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो। गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको सफल अनुसन्धान गर्यो। उक्त सामुदायिक वनको खोंचमा पुगेपछि नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा उनको ढुङ्गाले टाउको र गर्धनमा हानेर हत्या गरेका प्रहरी बताउँछन्। उनीसँग भएको ४५ हजार रुपैयाँ लिएर नरेन्द्र फरार भएका थिए। त्यसका अलावा आर्थिक समस्याले पनि घटना घटिएका कतिपय घटनाले देखाएका प्रहरीको दाबी छ। यी तीन घटना प्रतिनिधिमूलक हुन्। यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन्। धेरैजसो घटना रिसइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए। आजको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसइबीले भएको हुन सक्ने उनले बताए। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, ‘अहिले मानिसहरू सानोसानो कुरा सहन नसक्ने अवस्थामा देखिएका छन्। मान्छेलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, एकात्मक परिवार बढिरहेको छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ। सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्रहण गर्ने अवस्थाले पनि घटना बढ्दो छ।’ प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा पाँच सय एक जनाको हत्या भएको छ। जसमा ३८ वटा घटना काठमाडौं उपत्यका भएका थिए। कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ। त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौंमा भएका पाइएको छ। उनी आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएको बताउँछन्। नैतिक शिक्षा बढाउन जरुरी रहेको पनि उनले बताए। त्यसको अघिल्लो वर्ष आव २०७८/७९ मा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएको छ। त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ। काठमाडौंमा मात्रै ५० घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटनामध्ये उपत्यकामा मात्रै एक सय ३६ घटना भएको पाइएको छ।