शिशु बेचेको आरोप लागेका डाक्टरको सम्पत्ति करोडौं

Share to:

रासंसा/मोरङ, भाद्र ९,

मुलुकमा शिशु बेचेको आरोपमा पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको पाइएको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान क्रममा डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएको हो। बच्चा बेचेको आरोपमा पक्राउ परेका डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको देखिएको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘उनको श्रीमती र परिवारका सदस्यका नाममा विराटनगर, काठमाण्डौं र राजविराजमा घर, जग्गाजमिन फेला परे पनि बैंकमा कति रकम छ यकिन भइसकेको छैन।डाक्टर कर्णको परिवारका सदस्य तथा नजिकका नातागोताका नाममा रहेको चलअचल सम्पत्ति खोज्ने काम भइरहेको छ। उनले अवैध गर्भपतन र शिशु बेचेर नै सम्पत्ति आर्जन गरेको हुनुपर्छ।’ डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको पाइएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागमार्फत अनुसन्धानको प्रक्रिया थाल्न लागेको प्रहरीले जनाएको छ। बच्चा बेपत्ता बनाएको कसुरमा डाक्टरसहित ६ जना पक्राउ परेका छन्। डाक्टर कर्ण भदौ १ गते पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा डाक्टरको समूहले नवजात शिशु सन्तान नभएका दम्पतीलाई ५ लाख रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि यो रकम अझ बढी हुनसक्ने प्रहरीले बताएको छ। बच्चा बेचेको आरोपमा पक्राउ परेका डाक्टर कर्णले अकुत सम्पत्ति कमाएको देखिएको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘उनको श्रीमती र परिवारका सदस्यका नाममा विराटनगर, काठमाण्डौं र राजविराजमा घर, जग्गाजमिन फेला परे पनि बैंकमा कति रकम छ यकिन भइसकेको छैन।डाक्टर कर्णको परिवारका सदस्य तथा नजिकका नातागोताका नाममा रहेको चलअचल सम्पत्ति खोज्ने काम भइरहेको छ। उनले अवैध गर्भपतन र शिशु बेचेर नै सम्पत्ति आर्जन गरेको हुनुपर्छ।’ सम्पत्ति शुद्धीकरणमा मुद्दाको प्रक्रिया अघि बढेको र केही प्रमाण प्राप्त हुनसाथ मुद्दा दर्ता हुने स्रोत बतायो। आफ्नै घरमा क्लिनिक खोलेर त्यहाँ अवैध गर्भपतन गर्ने र अवैध सम्बन्धबाट रहेको गर्भको बच्चा जन्माउनु परे क्लिनिक नजिकै रहेको ग्रीनक्रस अस्पतालमा लग्ने गरेको खुलेको छ। अवैध गर्भपतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर अन्यत्र व्यवस्थापन गर्ने गरेको बुझिएको छ। डाक्टर कर्णले आफ्नो निजी क्लिनिकमा एक दशकदेखि अवैध गर्भपतन गराउँदै आएको र नवजात शिशु बेच्ने गरेको आरोप लागेको छ। उनले विराटनगरमा ४ वटा, काठमाडाैँमा एउटा घर र करोडौं रुपैयाँको अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। डाक्टर कर्णकी श्रीमती सरिता कर्णका नाममा विराटनगर–७ स्थित कोशी अस्पताल अगाडि १६ धुर जग्गामा साढे ४ तले घर छ। उनका परिवार विराटनगर–२ सोमबारे हाट (तीनपैनी चोक) मा रहेको घरमा बस्दै आएका छन्। उनको ३ तले घर रहेको छ। काठमाडौँस्थित बुढानीलकण्ठमा १० आना जग्गामा घर निर्माणाधीन अवस्थामा छ। मोरङको बुढीगंगा गाउँपालिस्थित हात्तिमुढामा अडाई बिघा सरिताको नाममा छ भने राजविराजमा समेत जग्गा रहेको बताइएको छ। डाक्टर कर्णका परिवार तथा नातागोताको सम्पत्ति खोज्ने काम गरिरहेको प्रहरीले जनाएको छ। विराटनगर– ७ वीरेन्द्रसभा गृह अगाडि एउटा घर छ भने ७ नम्बर वडा अस्पताल चोक नजिक डाक्टर कर्णको निजी क्लिनिक दीपेश मेडिकल हल रहेको घर जग्गा पनि उनैको हो। त्यहाँ १७ धुर जग्गामा रहेको एक तले घर छ। उनले मान्छे हेरेर अवैध गर्भपतन गराए बापत रकम लिने मात्र नभई शिशु सम्बन्धी कारोबार यहाँबाट गर्दै आएको खुल्न आएको छ। २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पद समालेका थिए। छोटो समयमै अस्वाभाविक गतिमा चलअचल सम्पत्ति आर्जन गरेको हुनसक्ने आशंकामा डाक्टर कर्णमाथि अनुसन्धान अघि बढाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनले डाक्टरसहित पक्राउ परेका ६ जनाको अनुसन्धान भई सरकारी वकिललाई अभियोग पत्र बुझाएपछि डाक्टरको सम्पत्तिको पनि छानबिन सुरु हुने बताए। साउन ३२ गते भोजपुरकी २६ वर्षीय एक युवतीले आफ्नो प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डाक्टर कर्णका विरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि घटना बाहिरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागमार्फत डाक्टर र उनका परिवार तथा नातागोताको सम्पत्ति छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइने छ। भूमि सुधार मन्त्रालय (मालपोत) र राष्ट्र बैंकमा पत्र पठाएको बताउँदै, डिएसपी दाहालले भने, ‘यो घटनाको मुद्दा सरकारी वकिललाई बुझाएपछि मात्रै सम्पत्तिबारे अनुसन्धान थाल्ने छौं। दुई वटा कार्यालयमा पत्र पठाएर डाक्टरसहित उनका परिवार तथा आफन्तको सम्पत्तिको विवरण खोज्ने कार्य भएको छ।’ अविवाहित जोडीबाट असार १४ गते डाक्टर कर्णमार्फत ग्रीनक्रस अस्पतालमा नर्मल डेलिभरीबाट बच्चा जन्मिएको थियो। जन्मिएको बच्चा (छोरी) लाई बच्चाका बुवा गोविन्द र डाक्टर मिलेर बेपत्ता बनाएको भनेर जाहेरी दिएकी थिइन्। घटनामा संलग्न भएको आरोपमा बच्चाका बुवा गोविन्द, डाक्टर कर्ण, ग्रीनक्रस अस्पतालकी सुधा राजवंशी, कटहरीकी ४६ वर्षीया दिलमाया राजजंशी उनका छोरा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया निर्मला यादवलाई पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धान थालेपछि बेपत्ता बनाएकी एक दिने शिशुलाई ५ लाख रुपैयाँमा खरिदबिक्री गरेको खुलेको हो। मोरङको कटहरी गाउँपालिका–२ की दीलमाया राजवंशीलाई कर्णसहितको टोलीले बेचेको प्रहरीले बताएको छ।

Like