धरान उपमहानगरपालिकामा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम गर्न अपिल

Share to:

रासंसा/सुनसरी, भाद्र ९,

मुलुकमा धरानमा आज निषेधाज्ञा रहेको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकपश्चात गएराति १२ बजेबाट निषेधाज्ञा जारी भइको हो। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै‌ हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने कार्यक्रम राखेपछि सामाजिक सद‍्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको हो। गए राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए। उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान गरेका थिए। धरानमा सामाजिक सद्भाव भडकन नदिन शनिबार गर्ने भनिएको प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सद्‌भाव भड्काउने जो कोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन्। सो अवधिमा अत्यावस्यक कामबाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍याली/भेला जम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेशमा भनिएको छ। धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताए । धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामुहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, न्याली/भेलाजम्मा/ प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागु हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ,’आदेशमा भनिएको छ। सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न धरानका सबै राजनीतिक दलले पिल गरेका छन्। धरानका १३ राजनीतिक दलले जारी गरेको संयुक्त अपिलमा केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसाथ गर्दै सबै जाती, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिनु हुन अनुरोध गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ,‘भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरणसहज बनाउनका लागि भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं।’

Like