एमालेको देवत्वकरण अभियान
रासंसा/काठमाण्डौ, भाद्र १,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ । गत सोमबार (२९ साउन)मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो । एमालेका एक नेताले विगतको प्ररम्परा तोड्दै अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने अभियानमा केही नेता लागेको दुःखेसो पोखेका छन् । ‘तीन अग्रज नेताबाहेक विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताका साथै कार्यक्रमसँग सम्बन्धित अन्य फोटो राखेर कार्यक्रम हँुदै आएको थियो,’ ती नेताले भने, ‘अब त ओलीबाहेक अन्यको फोटो राख्न नपाउने निर्णय गरेर एमालेले अध्यक्षलाई संस्थागत रूपमै देवत्वकरण गर्ने अभियान नै चलायो ।’ एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो । ओलीबाहेक अन्यको फोटो नराख्ने निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नवीनजंग कार्कीले लेखेका छन्, ‘पार्टी अध्यक्षबाहेक भनेको के हो ? अध्यक्ष कमरेड ओलीको मात्रै फोटो राख्ने तर जननेता कमरेड मदन भण्डारी, कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड मनमोहन अधिकारी, कमरेड माक्र्स, कमरेड लेनिन, कमरेड माओत्सेतुङ आदिको नराख्ने भन्ने हो ? कम्युनिस्ट नेताहरू र झन्डा राख्नुपर्छ । पार्टी अध्यक्षको राख्न जरुरी छैन ।’ एमाले उपमहासचिव विष्णु रिमालका अनुसार पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा तीन अग्रह नेताका अतिरिक्त अध्यक्ष ओलीबाहेक अन्य कुनै नेताको फोटो राख्न नपाउने निर्णय बैठकले गरेको छ । सो निर्णय तल्लो तहका कमिटीद्वारा पालना गर्ने गराउने सम्बन्धमा पार्टीले छिट्टै नै परिपत्र गर्ने उनले जनाएका छन् । सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी भएका निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उपमहासचिव रिजालले अब सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीको फोटोबाहेक अन्यको फोटो राख्न नपाउने जनाएका हुन् । रिजालले बुधबार एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्दा हलभरि उपस्थित सयौंको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिले ताली बजाएर स्वागत गरेको दाबीसमेत गरेका छन् । ‘कार्यक्रमको गरिमा र मर्यादा बढाउन पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रजका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने’ रिजालले लेखेका छन् । ‘मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्तालाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने,’ रिजालले निर्णय सार्वजनिक गर्दै लेखेका छन् । बुधबार नै एमाले अध्यक्ष ओलीले यो विषयमा सामाजिक सञ्जालमा लेख्दै पार्टीमा सुधारका लागि थप सुझाव माग गरेका छन् । अनुहारै छोपिनेगरी खादा माला र कोटभन्दा ठुला ब्याच लगाउने प्रचलन पनि अब एमालेमा बन्द गरिने ओलीले जनाएका छन् । ‘ओलीबाहेक अतिरिक्त फोटो नराख्ने निर्णयबाहेकका अन्य निर्णय समयसान्दर्भिक र आवश्यक थियो । अरू निर्णय त स्वागतयोग्य छ, आवश्यक थियो । निर्णय हुँदा राम्रै भयो । तर, अध्यक्ष ओलीबाहेकका फोटो राख्न नहुने भन्ने उर्दी जारी गर्नु हुकुमी पारा नै हो,’ ती नेताले भने । ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजमा धेरै जना साथीहरूले कार्यक्रममा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नुभएको थियो, हो पनि । तिनै सुझाव मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ । यसैगरी, अब अनुहारै छोपिनेगरी खादा–माला र कोटभन्दा ठुला ब्याच लगाउने प्रचलन पनि बन्द गर्नुपर्छ । कार्यक्रममा औपचारिकताका लागि धेरैलाई आसनग्रहण गराउने र खादामालाले पुर्ने भद्दा चलन हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरूका अरू के सुझाव छन्,’ ओलीले लेखेका छन् ।