अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गोलभेंडाको मूल्य किन बढ्यो ?

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २५,

मुलुकमा कालीमाटी तरकारी बजारमा गोलभेंडाको आपूर्ति एक्कासि घट्दा मूल्य भने चर्किएको छ। डेढ महिना अघिसम्म दैनिक ८० देखि ९५ टन गोलभेंडा भित्रिन्थ्यो। अहिले दैनिक २९ देखि ३५ टन हाराहारीमा मात्रै भित्रिने गरेको छ। बजारमा माग भइरहँदा आपूर्तिमा भने निकै कमी आएको छ। गोलभेंडाको थोक मूल्य प्रतिकिलोग्राम एक सय रुपैयाँ माथि पुगेको छ। बजारमा खुद्रा मूल्य भने ठाउँअनुसार प्रतिकिलोग्राम १ सय ८० देखि दुई सय रुपैयाँसम्म पुगेको छ। तर अहिले परिस्थिति उल्टिएको छ। यसो हुनुमा भारतमा गोलभेंडाको अभावले नेपालबाट केही मात्रामा निर्यात भएकाले पनि हो। टनेलमा व्यावसायिक गोलभेंडा खेती गर्दै आएका बद्रीलाल श्रेष्ठ पछिल्लो समय वीरगन्ज भन्सार र भैरहवा भन्सार हुँदै गोलभेंडा भारतमा बिक्री भएकाले पनि नेपालमा अभाव र मूल्य पनि बढेको बताउँछन्। ‘तर भन्सारको बाटोबाट नभई लुकिछिपी भारत निर्यात भएको छ। तर केही दिनदेखि यसरी भारत गएको छैन। यति दिन नजाँदा अब कालीमाटीमा आउने तरकारी बढ्ने र मूल्य पनि केही कम हुन सक्छ,’ व्यावसायिक श्रेष्ठले बताए। यससँगै गत असार पहिलो साता मूल्य नपाएको भन्दै गोलभेंडा फ्यालेपछि किसानहरू निराश भए र स्याहार नगरेकाले पनि उत्पादन घटेको उनले सुनाए। कालीमाटी तरकारी तथा फलफूल बजार समितिको तथ्यांकअनुसार गत असार २ गते गोलभेंडा साढे ९५ टन (९५ हजार ५ सय ५० केजी) भित्रिने गरेको थियो। साउनकै २३ गते ३७ टनमा झर्‍यो। यसबीच ६१ प्रतिशतले गोलभेंडाको भित्रिनेमा घटेको छ। जबकि गत जेठ र असार पहिलो सातासम्म कालीमाटीमा अत्यधिक गोलभेंडा भित्रिँदा किसानले प्रतिकिलो दुई रुपैयाँ पनि मूल्य पाएनन्। व्यवसायीले पनि प्रतिकेजी औसत ५–६ रुपैयाँ मात्रै मूल्य भएकाले धेरै मार्जिन लिन नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोधसमेत गरियो। विशेष गरेर सीमावर्ती क्षेत्रबाट गोलभेंडा बाहिरिएको बताइन्छ। यसैक्रममा वीरगन्ज भन्सार कार्यालय प्रतिनिधि नेपालबाट उल्लेखनीय परिमाणमा नगए पनि केही मात्रामा निर्यात भएको स्विकार गर्छन्। कार्यालयका अनुसार चार दिन अघिसम्म थोरै परिमाणमा गएको तर यसपछि निरन्तर पानी परेकाले गएको छैन। ‘खुल्ला क्यारेटमा जाने गरेको थियो, त्यो पानीले रोक्यो। हामीसँग गोलभेंडा जाँच गरेर पठाउने विधि छैन। पानीले गर्दा जोगाएर लैजान नसकिने भएकाले पनि अहिले नगएको हो,’ कार्यालय प्रतिनिधिले भने, ‘सामान्यतयाः नेपालको यो उत्पादन भारत निर्यात हुने थिएन। अहिले भारतमा अभाव भएका कारण सीमावर्ती बजारमा अलिअलि मात्रै गएको हो। यो भन्सारको रेकर्डमा देखिन्छ। हामीले निर्यात गर्न रोकेका छैनौं। हामी निर्यातलाई प्रमोसन नै गर्छौं।’ महिना दिनअघि कहिल्यै कालीमाटीमा तरकारी नल्याउनेले समेत गोलभेंडा ल्याएर खन्याए तर अहिले अभाव हुँदा ल्याएका छैनन्। त्यतिबेला कालीमाटीले किसानको लागत पनि उठ्ने भाउ दिएन भने तर अहिले राम्रो मूल्य पाउँदा पनि गोलभेंडा कम भएर हाहाकार छ। अहिले उपभोक्ताहरू कालीमाटीले महँगो बनायो भनेर गुनासो गर्दैछन्। यसरी निर्यात भइरहेको गोलभेंडा राजस्वमा आधारित नभएको बरु निर्यात गर्नेले १ सय १३ रुपैयाँबराबरको फारम भरेर भारत लैजाने गरेको कार्यालयले जानकारी दिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले गोलभेंडाको आगमन कम भएकाले महँगो भएको बताउँछन्। ‘खाने बानी उही नै हो। सामान्य बेलामा गोलभेंडा भित्रिने ६० देखि ६५ टन हो। तर अहिले दैनिक ३५ टनमात्रै आएको छ। अझ सबैभन्दा कम साउन ४ गते जम्मा २८ टन गोलभेंडा भित्रिएको थियो, सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘यहाँको बजारबाट प्रत्यक्ष भारतमा जाँदैन। तर कालीमाटीमा आउने गोलभेंडा केही व्यापारीले भारतमा मूल्य बढी पाउने भनेपछि यहाँ आउने तराईको गोलभेंडा भारततिर पठाइएको भन्ने छ।’ भारतमा यसपटक वर्षाले गर्दा उत्पादन कम छ। यद्यपि यतिबेला गोलभेंडा अफसिजन पनि हो। वास्तवमा नेपालमा भने गोलभेंडाको सिजन मंसिर, पुसतिर हुन्छ। तर पछिल्लो समय अफसिजनमा पनि टनेल खेती फस्टाउन थालेकाले काठमाडौं र उपत्यका आसपासका क्षेत्रमा उत्पादन हुन थालेको हो। यो पनि एकै पटक जेठ र असारमा उत्पादन हुँदा बजारमा मूल्यमा कमी भएको थियो।

Like