मुलुकमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा बाघ आतङ्क

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १३,

मुलुकमा बाघले बाराको टाँगिया बस्तीमा बसोबास गर्दै आएका धनबहादुर थिङको गत साता एकैपटक १० वटा बाख्रा मारेको छ । २०६६ सालदेखि टाँगिया बस्तीमा बसोबास गर्दै आएका थिङको मुख्य पेसा नै बाख्रा पालन हो । बाख्रापालन गरेर जीविकोपार्जन गर्दै आएका थिङ र उनकी पत्नी जोगमाया एकैपटक ठुलो संख्यामा खसी तथा बाख्रालाई बाघले मारेपछि समस्यामा परेका छन् । बाघले बाख्रा मारेका कारण आफ्नो १ लाख ५० हजारभन्दा बढी मूल्य बराबरको क्षति भएको थिङ बताउँछन् । ‘२०-२५ वटा बाख्रामध्ये बाघले ५ वटा खसीसहित १० वटा खायो, धेरै दुःख गरेर पालेको थिएँ, खसीबाख्रा बेचेर के के गरौँला भन्ने थियो, बर्बाद भयो,’ उनले भने, ‘अब सानो–ठुलो गरेर १०-११ वटा बाँकी छ ।’ उनीहरुले पाल्दै आएको बाख्राको बथानलाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको थियो । सधैँजसो जंगलमा चराएर ल्याउने क्रममा घरदेखि पाँच सय मिटर टाढाको जंगलमा बाघले बाख्रा मारेको थिङले बताए । साउन २ गते आफ्नो खसीबाख्रा खाएपछि बाघले खोरभित्रै पसेर गाउँमा अरु थुप्रैको बाख्रा खाएको उनले सुनाए । टाँगिया बस्तीकै सुनमाया लामाको पनि केही दिनअघि खोरमै पसेर बाघले २ वटा बाख्रा मारेको थियो । ‘एकदिन ११ बजे खोरमै आएर बाख्रा मारेर गयो, त्यसको भोलिपल्ट राति ९ बजेतिर घरछेउमै आएको थियो, हामी सुतेका थिएनौँ । टर्च बालेर हेर्दा घरछेउमै बाघ देखेपछि हल्लाखल्ला गरेर भगायौैँ,’ लामाले भनिन् । अहिले गाउँमा बाघको धेरै त्रास रहेको उनले बताइन् । ‘कतिबेला बाख्रा तान्छ कि मान्छे भन्ने थाहा हुँदैन,’ उनी भन्छिन् । चारकोसे भित्रको बस्तीलाई सरकारले समयमै अन्यत्र व्यवस्थापन गर्न नसक्दा सो क्षेत्रमा वन्यजन्तु र स्थानीयबीच द्वन्द्व बढ्दै गएको छ । यसअघि ‘यमगज’ नामक जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने विगत १० वर्षको अवधिमा सो क्षेत्रमा हात्तीको आक्रमणबाट मात्रै ८ देखि १० जनाको मृत्यु भएको पूर्व वडाध्यक्ष केदार बझगाँईले जनाए । लामाको जस्तै टाँगिया बस्तीका बासिन्दा अहिले बाघको त्रासमा छन् । राष्ट्रिय वनको चारकोसे झाडीको बीचमा रहेको टाँगिया बस्तीमा अहिले दिनहुँ बाघको त्रास भएको स्थानीयहरुको भनाइ छ । उनले टाँगिया बस्तीमा वन्यजन्तुको जोखिम धेरै भएकाले पर्सा राष्ट्रिय निकुञ्जले तारवार गरेर जंगली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नुपर्ने टिप्पणी गरे । पछिल्लो समय बारामा बाघको संख्या बढेको छ । सन् २०२२ को गणनामा १८ बाट एकै पटक बाघको संख्या ४१ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा वयस्क पोथी बाघसँगै नयाँ डमरु (बच्चा) का पाइला समेत देखिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘निकुञ्जले काँडेतार लगाएर टाँगिया बस्तीमा हात्ती, बाघको प्रवेशलाई रोक्नुपर्छ,’ उनले भने, ‘यो काम स्थानीय सरकार एक्लैले मात्रै गर्न सक्दैन, केन्द्र सरकारले पनि यसमा ध्यान दिनुप¥यो भन्ने हाम्रो माग हो ।’ डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले टाँगिया बस्ती बाघको मुख्य बासस्थान क्षेत्र भएकाले बाघको बासस्थान क्षेत्रबाट जतिसक्दो छिटो बस्ती अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताए । टाँगिया बस्ती हात्तीको पुरानो बासस्थान पनि हो । प्रत्येक वर्ष कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्जसम्म आउने हात्ती टाँगिया बस्तीको बाटो हुँदै हिँड्ने गर्दछन् । टाँगिया बस्तीमा केराखेती हुने, घरेलु मदिरा उत्पादन र धान हुने भएकाले अन्य क्षेत्रबाट आएका हात्ती यो बस्तीमा आहारका लागि घुम्ने गरेको बताइन्छ । ‘बस्तीमा बाघ छिरेको होइन, उहाँहरु बाघको बासस्थान क्षेत्रमा बस्नुभएको हो, मानवअधिकारको कुरा गरेर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्न मिल्दैन,’ डिभिजन वन प्रमुख सिंहले भने, ‘राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुले आक्रमण गरेमा कुनै सुविधा उहाँहरुले पाउनुहुन्न, यदि क्षतिपूर्तिको माग गर्नुहुन्छ भने आफ्नो निर्वाचन क्षेत्रको संघीय सांसदलाई कानुन बनाउन भन्नुस् ।’ करिब ४ दशकअघि सरकारले खाली जग्गामा वृक्षारोपण गर्न र बिरुवा हुर्काउने उद्देश्यले राष्ट्रिय वनको जग्गामा केही परिवारलाई राखेको थियो । तत्कालीन सरकारले ३÷४ सय संख्यामा वन हेरालुहरुलाई वन, जंगल संरक्षण गर्न खटाएको थियो । जीतपुर सिमरा उपमहानगरका २४ वटा वडामध्ये वडा नं १६ सबैभन्दा धेरै मतदाता भएको वडा हो । यसै वडाभित्र टाँगिया बस्ती पनि पर्दछ । संघीय सरकारले सो क्षेत्रमा बसोबास गरेका बासिन्दालाई अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि स्थानीयदेखि केन्द्रसम्मका ठुला–साना दलका नेताहरुले टाँगिया बस्तीलाई राजनीति गर्ने थलोको रुपमा विकास गरेका छन् । अन्य समयमा बस्ती व्यवस्थापन कुरा उठाउने दलका नेताहरु निर्वाचनको मुखमा भने बिजुली, खानेपानी र बाटोघाटो निर्माणका योजना देखाएर मतदातालाई रिझाउने गर्दछन् । साना किसान कृषि सहकारी संस्था लि. सिमराले बाघले बाख्रा खाएका पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप आर्थिक सहयोग गरेको छ । संस्थाले शुक्रबार वन्यजन्तु पीडित धनबहादुर थिङ र उनकी पत्नी जोगमाया थिङसहित अन्य परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु सहितको टोली टाँगिया बस्ती पुगेर राहत रकम हस्तान्तरण गरेको हो । सिमरास्थित सो सहकारी संस्थाले यसअघि पनि साना कृषकहरुको हकहितमा काम गर्दै आएको छ । सो सहकारीमा करिब २ हजार सेयर सदस्य छन् । सो संस्थाकी अध्यक्ष कमलाकुमारी रिमालले साना किसान कृषि सहकारीले किसानको हकहितमा काम गर्ने उद्देश्यले वन्यवन्तु पीडित बाख्रा पालक कृषकलाई राहत वितरण गरेको बताइन् ।

Like