कारोबारसँगै राजस्वमा समेत धक्का, जग्गाको कित्ताकाट कहिले खुल्ने ?
रासंसा/काठमाण्डौ, श्रावण १०,
मुलुकमा गत आर्थिक वर्षमा घरजग्गा कारोबारमा आएको शिथिलताले सरकारको अपेक्षित राजस्व उठ्न नसकेपछि यसलाई पुनरावलोकन गर्ने नीति अगाडि बढाउन थालिएको छ । नेपाल राष्ट्र बैंकले पनि आइतबार जारी गरेको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा लचकता देखाउने संकेत देखाएको छ । केन्द्रीय बंैकले कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति लिएको छ । सरकारले यसका लागि कित्ताकाट खोल्न नीतिगत निर्णय गर्ने संकेत देखाउँदै भूमि व्यवस्था मन्त्रालय हुँदै कानुन मन्त्रालयसम्म पुगेको छ । मुलुकको राजस्व कम उठ्नु र बजारमा आर्थिक शिथिलता देखापर्नुमा घरजग्गा कारोबार नहुनुलाई कारक तत्वका रूपमा विज्ञले औंल्याउन थालेका छन् । राजस्व संकलनका दृष्टिले गत वर्ष घरजग्गा क्षेत्र कमजोेर देखिएको र यसले समग्र अर्थतन्त्रमा समस्या आएको बुझाइ सरकारको समेत हुन थालेको छ । आव २०७८÷७९ मा ७ लाख ४५ हजार १ सय १९ वटा घरजग्गा किनबेच हुँदा राजस्व ७५ अर्ब ५५ करोड उठेको थियो । सरकारले कित्ताकाट नखोल्दा र बैंकले घरजग्गा कर्जामा कडाइ गर्दा कारोबारमा कमी आएसँगै राजस्वमा पनि धक्का परेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आव २०७९÷८० मा देशभरिमा कुल ४ लाख ३३ हजार ७ सय ७४ वटा मात्र घरजग्गा किनबेच हुँदा राजस्व पनि ४१ अर्ब ७३ करोड मात्र उठेको छ । गत वर्षको सुरुवातका महिनामा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या उत्पन्न भएपछि बैंकले ब्याज पनि बढाएका थिए । जसले गर्दा घरजग्गा कारोबारमा शिथिलता उत्पन्न हुन गयो । जग्गा वर्गीकरणले कित्ताकाट रोकिएपछि घरजग्गा कारोबारमा पूरै धक्का लागेको थियो । अहिले कर्जामा पनि केही खुकुलो र अधिकांश ठाउँमा वर्गीकरण पनि भइसकेकाले कारोबारमा केही चमक फर्केको छ । गत वैशाखमा भने ४२ हजार ४ सय ६१ वटा लिखत पास भई कारोबार भएको थियो । चैत महिनामा ४९ हजार १ सय ५० वटा जग्गा कारोबार भएको थियो । गत फागुनमा ४० हजार ७ सय ३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८ सय ३१, मंसिरमा २९ हजार १ सय ८४, कात्तिकमा २७ हजार ९ सय ३९, असोजमा २५ हजार ७ सय ८९, भदौमा ३४ हजार ७ सय २० र साउनमा ३३ हजार ७ सय ३४ लिखत पारित भएको थियो । विभागका अनुसार गत जेठ महिनामा ५५ हजार घरजग्गा किनबेच भएको थियो भने असारमा ४८ हजार ७ सय ७१ वटा घरजग्गा किनबेच भएको छ । यसले घरजग्गा कारोबार लयमा फर्केको हो कि भन्ने अनुमान पनि लगाउन थालिएको छ । विभागका अनुसार गत जेठ महिनामा ५५ हजार घरजग्गा किनबेच भएको थियो भने असारमा ४८ हजार ७ सय ७१ वटा घरजग्गा किनबेच भएको छ । यसले घरजग्गा कारोबार लयमा फर्केको हो कि भन्ने अनुमान पनि लगाउन थालिएको छ । सरकारले भूउपयोग नियमावली–२०७९ जारी गरी जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गरी बेचबिखन गर्नपाउने व्यवस्था गरेपछि शिथिलता छाएको थियोे । नियमावलीले २३ मंसिर २०७९ सम्म पालिकाले कृषि र गैरकृषि मात्रै भए पनि छुट्याइसक्नुपर्ने टाइमलाइन दिएको थियो । गत ५ वैशाखमा मन्त्रिपरिषदले कित्ताकाट खोल्ने निर्णय गरेको थियो । सो निर्णयले वैधता नपाउँदै १२ वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पहिलो संशोधन २०७९ लाई आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय ग¥यो । मन्त्रिपरिषद्को आर्थिक तथा प्रशासनिक समितिले गत वैशाख १८ मा थप संशोधनका लागि पठाएको भूउपयोग नियमावली–२०७९ अझै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै अहिले कानुन मन्त्रालयमा अड्किएको छ । भूमी व्यवस्थापन तथा अभिलेखन विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० अर्थात गत आवमा २ लाख ८५ हजार कित्ता जग्गालाई ६ लाख ३९ हजार ६ सय ३६ वटा कित्ता बनाएको छ । योभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८÷७९ मा ६ लाख ९४ हजार २१३ जग्गाको कित्ताकाट गरेर १६ लाख १२ हजार पु¥याइएको थियो । गत आर्थिक वर्षमा जग्गाको किनबेच घट्दा सरकारले ठूलोमा मात्रामा राजस्व पनि गुमाएको छ । करिब २९ प्रतिशतले घरजग्गाको राजस्व घटेर ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ मात्रै मालपोत कर संकलन भएको छ । जबकि त्यसभन्दा अघिल्लो वर्ष यस्तो राजस्व संकलन ५७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ थियो । कित्ताकाट रोकिएपछि र राजस्व नउठ्ने संकेत पाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बक्तव्यमार्फत जग्गाको कित्ताकाट फुकुवा गरिने घोषणा गरेको थियो । भूउपयोग नियमावलीले स्थानीय तहले कृषियोग्य र गैरकृषियोग्य भूमि भनेर छुट्याउनुपर्ने यसलाई स्थानीय सरकारले बेवास्ता गरिदिँदा यसको १७० स्थानीय तहले मात्रै वर्गीकरण टुंग्याएका छन् भने अन्य अन्योलमा छन् । अहिले जग्गाको वर्गीकरणसँग सम्बन्धित विषयगत मन्त्रालयसँग नियमावली संशोधनका लागि राय माग भएको बताइएको छ । भूउपयोग नियमावली २०७९ अनुसार आवासीय क्षेत्रको जग्गा ४ आना १ दाम (१३० वर्गमिटर) र कृषियोग्य क्षेत्रको भए काठमाडौं उपत्यकामा १५ आना २ पैसा ३ दाम (५ सय वर्गमिटर) तथा तराई र भित्री मधेसमा १ रोपनी ५ आना (६७५ वर्गमिटर) नघट्ने गरी कित्ताकाट गर्न पाइन्छ । २०७८÷७९ मा काठमाडौंमा १२ हजार ७ सय ८७ संख्यामा जग्गा कित्ताकाट भएको थियो । यस्तो संख्या २०७९-८० मा ६ हजार ६ सय ९४ छ । २०७८÷७९ मा कुल ५२ हजार ४ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । २०७९÷८० मा भने २४ हजार ८ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।