जसलाई पनि चामलकै चिन्ता
रासंसा/काठमाण्डौ, श्रावान ७,
मुलुकमा प्रविधिलाई आत्मसात नगरिँदा र धानका बिउहरूमा उन्नत प्रयोग नगरिँदा र खेतीमा यान्त्रिकीकरणको अभावले उत्पादन वृद्धिदर धिमा भएको हो। विश्वकै साढे ३ अर्ब मानिसको खाद्यान्नको मूल स्रोत धान नै मानिन्छ। नेपालको मुख्य पेसा कृषि र त्यसमा पनि धानखेती हो। धानको चामलबिनाको भान्छा नेपालमा असम्भवजस्तै छ। तर धान रोपाइँमा सधैं कष्टमात्रै व्यहोर्न किसान बाध्य छन्। सिँचाइ, मल र बिउको सास्ती सधैं हुन्छ। सिँचाइ सुविधा नभएको हुँदा अकासे पानीको भर पर्नुपर्छ। मल पाउन सधैं महाभारत हुन्छ। धान फल्ने, फलाउने मात्रा बढेको छैन, खानेमुख बढेको बढ्यै छन्। बितेका ५५ वर्षमा नेपालको जनसंख्या वृद्धिदर २.३ प्रतिशत हुँदा धान उत्पादनको वृद्धिदर भने केवल १.५ प्रतिशतमात्रै भयो। नेपालीको मुख्य खाद्यबाली धान हो। अरू खाद्यपदार्थले पेट भरिए पनि भात नखाँदा नेपालीलाई धित मर्दैन। त्यसो त संसारभरि नै सबैलाई आफ्नै खाना मन पर्छ, नभए स्वाद पर्दैन। यो खाद्य संस्कृतिको विशेषता नै हो। त्यसमाथि पहाडतिरबाट बसाइँसराइँ अत्यधिक हुँदा खेत बाँझै हुन थालेका छन् र सहरतिरका खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदै मासिएका छन्। धानको मुख्य उत्पादन क्षेत्र तराई मधेस हो, जहाँ जनसंख्या थुप्रिँदो छ र कृषिभूमि मासिँदो। असार त सकियो नै, साउनको पहिलो साता पनि विदा भइसकेको छ। तर नेपालका सबै धानखेतमा रोपाइँ सकिएको छैन। सन् १९८० को दसकपछि भने नेपाल धान आयातकर्ता हुन थाल्यो। धान उत्पादन पनि बढेको तर आयात पनि गर्नुपरेको विरोधाभासपूर्ण अवस्था भनेको जनसंख्या वृद्धिदर अनुसार उत्पादन वृद्धिदर नहुनु हो। खेतीयोग्य जमिन मासिँदै जानु तर थोरै क्षेत्रफलमा धेरै फलाउन सक्ने उन्नत तरिका नअपाउनु हो। जस्तो कि चीनले एक हेक्टरमा ६.७ टन धान फलाउँछ, नेपालमा उति नै क्षेत्रफलमा साढे ३ टन उत्पादन हुन्छ। प्रविधिलाई आत्मसात नगरिँदा र धानका बिउहरूमा उन्नत प्रयोग नगरिँदा र खेतीमा यान्त्रिकीकरणको अभावले उत्पादन वृद्धिदर धिमा भएको हो। यी आयामहरूमा सुधार गर्न सके नेपाललाई धानचामलको चिन्ता कहिल्यै हुँदैन। पहिलो समस्या सिँचाइ हो, त्यसपछि अरू। यही बेला भारतले चामल निर्यातमा रोक लगाएको छ। त्यसमा धेरैले चिन्ता जताएका छन्। जब कि नेपालमा वार्षिक ६६ लाख टन धानको माग छ र उत्पादनचाहिँ ५६ लाख टन। यो कृषि मन्त्रालयकै तथ्यांक हो। हाम्रो कुल कृषि भूमिका अधिकांशमा हुने धानखेती नै हो। तै माग धान्न मुश्किल हुनु बिडम्वना मान्नुपर्छ। १९६५ मा साढे ३ लाख टन धान निर्यात गरेर नेपाल संसारकै पाँचौं ठूलो धान निर्यातक भएको थियो।