बल्ल जसपाको टुंगो लाग्यो विधान

Share to:

रासंसा/श्रावण ६,

मुलुकमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको विधान टुंगो लगाएको छ । अन्तिम टुंगो लागेको विधानमा पार्टीको झन्डा, लोगो फेरिनुका साथै विभिन्न कमिटीमा रहने सदस्य संख्यासमेत टुंगिएको छ । नयाँ विधानअनुसार कार्यकारिणी समिति ५१ सदस्यीय, केन्द्रीय समिति १ सय ५१ सदस्यीय रहनेछ । केन्द्रीय समितिभन्दा माथिलो समितिका रूपमा रहेको संघीय परिषद्मा रहने सदस्यको समेत टुंगो लागेको छ । संघिय परिषद्मा केन्द्रीय समितिमा रहेका सबै, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्षसहित केन्द्रीय निकायका सबै सदस्य रहने व्यवस्था गरिएको अधिकारीले बताए । जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टीको विधानअनुसार संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समितिमा रहने सदस्य संख्याको टुंगो लागेको छ । यसअघि विधानमा भएको व्यवस्थाअनुसार रहेको राजनीति समिति परिवर्तित विधानमा हटाइएको छ । अब जसपामा राजनीति समितिको व्यवस्था खारेज भएको छ । जसपामा सबैभन्दा शक्तिशाली निकाय महाधिवेशन छ । त्यसपछि संघीय परिषद् केन्द्रीय समिति र कार्यकारिणी समिति हो । कार्यकारिणी समितिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ भने केन्द्रीय समितिले गरेको निर्णय संघीय परिषद्को बैठकबाट अनुमोदन गर्नुपर्छ । महाधिवेशनबाट नेतृत्वका साथै विधान परिवर्तन गर्न सकिनेछ । हालै जसपामा विधान महाधिवेशन सम्पन्न भएको छ । सम्पन्न सो महाधिवेशनमा पार्टीको विधान मस्यौदा पेस गरिएको थियो । विभिन्न समूहमा भएको छलफल र आएको सुझावका आधारमा विधान परिमार्जन गरिएको हो । सोही विधान महाधिवेशनबाट आएको सुझाव समेटर विधानलाई प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा कमिटी गठन भएको थियो । जसपा नेता मनीष सुमनका अनुसार विधान अधिवेशनका सहभागी प्रतिनिधिका सुझावका आधारमा झन्डा एवं लोगो फेरिएको हो । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । ३० असारमा बसेको कार्यकारिणी समितिको बैठकले सुझाव समेटेर तयार भएको विधान अनुमोदन गरेको छ । प्रमाणीकरण समितिले अन्तिम टुंगो लगाएपछि विधानको सांगठनिक संरचनाका साथै झन्डा एवं लोगोसमेत फेरिएको छ । त्यस्तै, यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनुसार पहिलेको लोगोमा मुठीसहितको हात राखेर लोगो बनाइएको छ । विधान अधिवेशनमा १० वटा समूह बनाइ विधानमा दफावार छलफल गरिएको थियो । जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए । यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ ।

Like