माओवादी र भाजपाको सम्बन्ध
रासंसा/काठमाण्डौ, श्रावण ६,
सन् २०१४ अगस्त ३ तारिखमा नेपालको तत्कालीन संविधान सभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका अभिव्यक्ति हो यो । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको संविधान सभा चुनावबाट संसद्मा पुगेको थियो । सदनलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले माओवादीको उच्च प्रशंसा गरेका थिए । ‘म ती सबैलाई बधाई दिन चाहन्छु जसले बुलेटको बाटो छाडेर ब्यालेटको बाटोमा हिँड्ने सङ्कल्प गरे । म ती सबैलाई अभिनन्दन गर्न चाहन्छु जो युद्धबाट बुद्धको तर्फ बढेका छन् र यो सदनमा तपाईंको उपस्थिति युद्धदेखि लिएर बुद्धतिरको यात्रालाई अनुमोदन गर्दछ । त्यस कारण म तपाईंलाई बधाई दिन आएको हुँ ।’ नेपालको संसद्मा मात्र होइन, नेपाल भ्रमणबाट फर्केपछि उनले संयुक्त राष्ट्रमा गरेको सम्बोधनमा पनि माओवादीको खुलेर प्रशंसा गरेका थिए । धेरै ठाउँमा सशस्त्र आन्दोलन चलिरहँदा नेपाल युद्धको यात्राबाट बुद्धतर्फ बढेको बताउँदै उनले यसले विश्वलाई एउटा सन्देश दिएको धारणा राखेका थिए । माओवादी र भारतसँगको सम्बन्धमा भने उतारचढाव नआएको होइन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै समय भारतविरुद्ध सुरुङ युद्ध लड्नेसम्मको चेतावनी दिएका थिए । यी दुई वटा अभिव्यक्तिले भारतीय जनता पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई सङ्केत गर्दछ । त्यही सम्बन्धको निरन्तरता दिँदै भोलि साउन ७ गतेदेखि माओवादीकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नेताहरू भारत भ्रमणमा जाँदै छन् । रुकमाङ्गत कटवाल प्रकरणका कारण २०६६ वैशाख २१ गते पदबाट राजीनामा दिएपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बनेको थियो । आफूलाई प्रधानमन्त्री पदबाट हटाउने काम भारतले गरेको भन्दै माओवादीले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतली सरकार भन्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको थियो । पार्टीगत हिसाबले भाजपा र माओवादी केन्द्रको सम्बन्ध कहिले खराब रहेको देखिँदैन । तर माओवादी केन्द्रका विदेश विभागका उपप्रमुख राम कार्की भन्छन्, ‘जनयुद्धकालमा भाजपासँग हाम्रो कुनै सम्बन्ध थिएन । हाम्रो सम्बन्ध भारतीय कम्युनिस्ट पार्टीसँग थियो । भाजपा सत्तामा आएपछि मात्र अलिअलि सम्बन्ध विस्तार भएको हो ।’ आन्दोलनका क्रममा माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘हामीले नोकरसँग होइन मालिकसँग मात्र वार्ता गर्ने ।’ त्यति बेला भारतमा काँग्रेस (आई) का नेता मनमोहन सिंहको नेतृत्वको सरकार थियो । शन्ति प्रक्रियामा आएपछि माओवादी पनि पटक–पटक सरकारमा गएको र उता भाजपा पनि भारतमा सरकारको नेतृत्व गरेको कारण माओवादीसँग सम्बन्ध बनेको उनको भनाई छ । भाजपाको निमन्त्रणमा माओवादी नेताहरूको हुन लागेको भ्रमणले सम्बन्ध झन् राम्रो बनाउने उनले आशा व्यक्त गरे । जतिखेर माओवादीको जनयुद्ध पिक प्वाइन्टमा थियो, त्यति बेला भाजपा नेतृत्वको सरकार भारतमा थियो । भाजपा नेता अटलबिहारी बाजपेयी भारत सरकारको नेतृत्व गरिरहेका थिए । सन् १९९९ देखि २००३ सम्म बाजपेयीको सरकार हुँदा माओवादीहरू भारतका विभिन्न ठाउँमा शरण लिएर बसेका थिए । नेपाल–भारत सम्बन्धका जानकार एवं राजनीतिक विश्लेषक देवेश झा बाजपेयी भारतको प्रधानमन्त्री भएको बेला माओवादीका अध्यक्ष प्रचण्ड र तत्कालीन नेता डा.बाबुराम भट्टराई सरकारको सम्पर्कमा रहेको दाबी गर्छन् । तत्कालीन प्रधानमन्त्री बाजपेयीका सुरक्षा सल्लाकार बृजेश मिश्रमार्फत प्रचण्ड र भट्टराईले सरकारको सम्पर्कमा रहेको चर्चा त्यति बेला आफू पनि सुनेको बताउँदै उनले भाजपासँग माओवादीको सम्बन्ध त्यति खराब कहिले नदेखिएको बताए । एक किसिमले तत्कालीन भारत सरकारले माओवादीलाई त्यति बेला संरक्षण नै गरेको थियो । बाजपेयी सरकारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन निकै प्रयास गरिरहेको थियो । भारतीय नेतृत्वले माओवादी र नेपाल सरकारसँग पनि यस विषयमा कुराकानी गरिरहेको थियो । ‘भारतमा भाजपाको सरकार छ, यता माओवादीको सरकार छ, त्यसले सम्बन्ध राम्रो हुनु स्वाभाविक हो,’ उनले भने, ‘अहिले नेपालका राजनीतिक दलहरुले पनि भारतको कंग्रेससँग मात्र आफ्नो सम्बन्धलाई सीमित राख्न चाहेका छैनन् ।’ सन् २००३ मा बाजपेयी सरकार हटेपछि काँग्रेस (आई) का नेता मनमोहन सिंहको नेतृत्वमा सरकार बनेको थियो । मनमोहन सिंहको नेतृत्वमा सरकार बनेको एक वर्षपछि सन् २००४ अर्थात् २०६२ मंसिर ७ गते तात्कालिक सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो । भाजपाका ती नेताको दाबी अनुसार १२ बुँदे सम्झौतापछि माओवादी शान्ति प्रक्रियामा आए पनि भारत र माआवादीबीच भने राम्रो सम्बन्ध थिएन । माओवादीले पटक–पटक भारतविरोधी अभिव्यक्ति दिएर चुनौती दिइरहेको थियो । भाजपाका एक नेताले भने, ‘नेपाल सरकार र माओवादीको बीचमा सम्बन्ध सुधार गर्ने काम बाजपेयी नेतृत्वको सरकारले गरेको थियो । माओवादी र नेपाल सरकारको बीचमा पटक–पटक वार्ता गराउने काम त्यतिबेलादेखि नै सुरु भएको थियो ।’ जब भारतमा सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको सरकार बन्यो, त्यसपछि भारत र माओवादी बीचको सम्बन्धमा सुधार आएको ती नेताको दाबी छ । प्रधानमन्त्री मोदीले नेपालको पहिलो भ्रमण गर्दा नेपालको प्रधानमन्त्री सुशील कोइराला थिए । तर, प्रधानमन्त्री मोदी माओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न उत्सुक थिए । जबकि त्यति बेला अध्यक्ष प्रचण्डले तत्कालीन मधेसी मोर्चासँग मिलेर संघीय गणतान्त्रिक मोर्चा गठन गरी आन्दोलनमा थिए । त्यो भेटमा प्रचण्डले पनि भारतीय पक्षबाट नेपालको बारेमा माइक्रो म्यानेजमेन्ट गर्न खोजिएको जसले आफूहरूलाई अप्ठ्यारो बनाएको कुरा राखेका थिए । त्यो भेटघाटपछि मोदी सरकार र भाजपासँग माओवादीको सम्बन्धमा थप सुधार आएको माओवादीका नेताहरू बताउँछन् । २०७१ साउन १९ गते हयात होटलमा भएको भेटमा पनि प्रधानमन्त्री मोदीले प्रचण्डलाई भनेका थिए, ‘तपाईंहरुले शान्ति प्रक्रियामा खेलेको भूमिका कम महत्त्वपूर्ण छैन । यसको सम्पूर्ण जस तपाईंहरुलाई नै जान्छ, तर तपाईंहरुले जस लिन चाहनुभएको छैन त्यो कुरा मलाई थाह छैन ।’ भारतमा मोदी सरकार गठन भएपछि भाजपाका नेताहरू नेपालको अत्यधिक भ्रमण गर्न थालेका छन् । भाजपाका तत्कालीन महासचिव राम माधव जतिपटक नेपाल भ्रमणमा आए त्यति पटक माओवादीका अध्यक्ष प्रचण्डलगायत सो पार्टीका अन्य नेताहरूसँग भेटघाट गरेका थिए । भारतमा भाजपा सरकार बनेपछि माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक भारतको औपचारिक भ्रमण गरिसकेका छन् । २०७३ मा दोस्रो कार्यकालमा प्रधानमन्त्री भएपछि उनी प्रधानमन्त्रीको रूपमा भारतको भ्रमण गरेका थिए भने दोस्रो पटक उनी नेकपाको अध्यक्षको हैसियतमा प्रधानमन्त्री मोदीको निमन्त्रणमा भ्रमण गरेका थिए । त्यति बेला तत्कालीन नेकपाबाट केपी शर्मा अोली प्रधानमन्त्री थिए । तर प्रचण्डले भारतको भ्रमण गर्दा राजकीय भ्रमण जस्तै मोदी सरकारले उनलाई स्वागत गरेको थियो । भाजपा नेतृत्व सरकारका मन्त्रीहरू आउँदा पनि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न छुटाउँदैन थिए । भारतमा मोदी नेतृत्वको सरकार गठन भएपछि प्रचण्डले भारतविरुद्ध कडा अभिव्यक्ति दिएको सुनिएन । सा–साना असन्तुष्टि भए पनि पछि कुरा सहज हुँदै जान्थ्यो । त्यति बेला प्रचण्डले प्रधानमन्त्री मोदीका साथै भारतका राष्ट्रिय सल्लाहकार अजित डोभल, भारतका गृहमन्त्री राजनाथ सिंह, भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह, तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटेका थिए । त्यसपछि उनी भाजपाको निमन्त्रणमा २०७९ असार ३१ गते भारतको भ्रमण गरेका थिए । उनले त्यहाँ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भाजपाको मुख्यालयमा भेटेका थिए । त्यसबाहेक उनले नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुको साथै विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रालगायतसँग भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएर साउन १ गते स्वदेश फर्केका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा हिन्दु धर्म परम्परा अनुसार पूजा अर्चना गरेपछि भारतीय सत्ता र भाजपासँग माओवादीको निकटता छर्लङ पारेको विश्लेषण भइरहेको छ । भाजपा र माओवादीबीच अन्तरङ्ग सम्बन्ध रहेको कुरा कसैबाट लुकेको छैन । त्यसपछि उनी तेस्रो कार्यकालका लागि २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएपछि जेठ १७ गते नेपाल भ्रमण गरे । त्यो भ्रमणले त भाजपा र माओवादीको सम्बन्धलाई झन् स्पष्ट गर्यो। भाजपा हिन्दुवादी संगठन हो । र, भाजपाले प्रचण्डलाई पनि हिन्दुवादी रंगमा ढाल्न सफल भयो । प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधन भए लगतै प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली तथा संवेदनाको सन्देश पठाएका थिए । भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले पनि सीता दाहालको निधनमा साउन ३ गते लिखित रूपमै शोक सन्देश पठाएका थिए । भाजपाका अन्य नेताहरूले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसपछि उनी तेस्रो कार्यकालका लागि २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएपछि जेठ १७ गते नेपाल भ्रमण गरे । त्यो भ्रमणले त भाजपा र माओवादीको सम्बन्धलाई झन् स्पष्ट गर्यो। भाजपा हिन्दुवादी संगठन हो । र, भाजपाले प्रचण्डलाई पनि हिन्दुवादी रंगमा ढाल्न सफल भयो । भाजपाको निमन्त्रणमा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली भोली भारत भ्रमणमा जाँदै छन् । ६ दिनसम्म हुने त्यो भ्रमणमा पाँच सदस्य टोलीमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् ।