मिटरब्याजमा कम्तीमा तीन गुणा लिएको साहुकारले नै स्विकारे, १ अर्ब ७१ करोड दाबी, ५६ करोडमा मिलापत्र

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३१,

मुलुकमा मिटरब्याजपीडितका समस्या समाधान गर्न गठित जाँचबुझ आयोगमा परेका केही उजुरीको छानबिनमै तराईका जिल्लामा मिटरब्याजको विकराल तस्बिर सार्वजनिक भएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले उजुरीकर्ता र साहुलाई बोलाएर छलफल गराइरहेको छ । फर्छ्योट भएका उजुरीको छानबिन र दुई पक्षबीच छलफलका क्रममा आयोगले साहुहरूले ऋणीलाई ८९ करोड ८० लाखको तमसुक गराएर १ अर्ब ७१ करोड २८ लाख रुपैयाँ माग गरेको भेट्टाएको छ । आयोग अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार छलफलपछि ५६ करोड ७४ लाख रुपैयाँ लेनदेनको सहमति भएको छ । ‘सहमति हुँदा साहुहरू आफ्नो दाबीभन्दा १ अर्ब १४ करोड ५४ लाख छाड्न तयार भएका छन्,’ कार्कीले भने, ‘यो सहमतिबाट पनि साहुहरूले ऋण र तमसुकभन्दा तीन गुणा बढी माग गर्ने गरेको देखियो ।’ आयोगमा परेका २३ हजार ९ सय ५९ उजुरीमध्ये १ हजार ८ सय ८० वटाको छानबिन गर्दा नै मिटरब्याजी ‘साहु’ ले ऋणीसँग तीन गुणाभन्दा बढी रकम असुलेको र ४१ बिघाभन्दा बढी जग्गा हडपेको पाइएको हो । तर, दलहरू भने पीडितको पक्षमा बनाउन लागिएको कानुन रोक्न विभिन्न बहाना खोजिरहेका छन् । मिटरब्याजपीडित सबैभन्दा बढी मधेश प्रदेशको ८ जिल्लामा रहेको आयोगले जनाएको छ । आयोगले सहमति गराएको १ हजार ८ सय ८० उजुरीमध्ये मधेशका मात्रै १ हजार ४ सय ७१ छन्, जसमा २९ करोड २६ लाख लेनदेन भएकामा साहुले ६६ करोड ६७ लाख १७ हजार माग गरेको आयोगले जनाएको छ । छलफलपछि साहुले ३३ करोड १३ लाख ४५ हजार छाडेर सहमति गरेका छन् । १ हजार ८ सय निवेदनको छानबिन गर्दा नै यो अवस्था पाइएकाले बाँकी २२ हजार ७९ उजुरीकर्तासँग साहुले माग गरेको रकमको अनुमानै गर्न नसकिने कार्कीले बताए । ‘१ हजार ८ सय निवेदनमा साहुहरूले माग गरेभन्दा १ अर्ब १४ करोड छाडेर मिलापत्र गर्नुबाटै मिटरब्याजको अवस्था कति भयावह छ भन्ने पुष्टि हुन्छ,’ उनले भने ।

Like