मन्त्रीको सचिवको हाजिरीमा रातो घेरा !
रासंसा/काठमाण्डौ, आषाढ ३१,
मुलुकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आए/नआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ। त्यही होडबाजीले मन्त्री–सचिवबीच विवाद पनि हुने गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका छन्। मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिव मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो। ‘कमसेकम सचिव र सहसचिव मन्त्रालय बाहिर जानुपरे मन्त्रीज्यूसँग सहमति लिनुपर्ने वा जानकारी गराउनुपर्ने हो। यस्तो परम्परा बसोस् भन्ने उद्देश्यबाट मन्त्रीज्यूले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाउनुभएको हो,’ अन्सारीले भने, ‘बिहीबार साढे ३ बजेदेखि सचिव र सहसचिव श्रेष्ठ कार्यकक्षमा हुनुहुन्नथ्यो।’ मन्त्री मोदीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले माथिल्लो तहका कर्मचारीहरूले विभागीय मन्त्रीलाई नटेर्ने प्रवृत्ति मौलाएको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘सचिव र सहसचिव मन्त्रीप्रति जिम्मेवार हुनुपर्छ तर अहिले अनुशासनहीन अवस्था देखिएको छ,’ उनले भने। मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए। त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन्। त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन्। ती कर्मचारीका अनुसार बिहीबार साँझ ५ बजेसम्म पुष्कर र श्रेष्ठ मन्त्रालयमा आउँछन् कि भनेर मन्त्री मोदी पर्खेर बसेका थिए। यसबारे मन्त्रीको सचिवालयका कर्मचारीहरूले टेलिफोन गरेर जानकारी पनि मागेका थिए तर पुष्करले आफू प्रधानमन्त्री कार्यालयमा बैठकमा रहेको भन्दै झुट बोलिरहे। त्यस दिन उनीहरू मन्त्रालयमा नआई सोझै निवास पुगे। मन्त्रालयका अर्का एक सहसचिवले भने, ‘मन्त्रालयबाट टाढा जाँदा अथवा काठमाडौंबाहिर जाँदा अथवा कुनै दिन कार्यालयमा आउन नसक्दा मन्त्रीज्यूलाई जानकारी गराउनुपर्ने सामान्य परम्परा हो। तर एउटा भवनबाट नजिकैको अर्को भवनमा जाँदा पनि मन्त्रीसँग सहमति लिएर जानुपर्ने परम्परा मलाई थाहा छैन।’ मन्त्रीले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाएको विषयमा उनले गम्भीर असन्तुष्टि पोखे। उनले भने, ‘यो त मन्त्रीज्यूको ज्यादती नै हो। मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमल भट्टराईले मन्त्री मोदीको छड्के जाँच भएका बेला सचिव पुष्कर मन्त्रीसँगको सहमतिमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा सहभागी हुन गएको दाबी गरे। ‘त्यो दिन सचिवज्यू मन्त्रीज्यूसँग सहमति लिएरै प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा सहभागी हुनुभएको हो भनी सचिवज्यूले भन्नुभएको छ,’ भट्टराईले भने। मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय मन्त्री मोदी सचिव पुष्करको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। अहिले संघीय मामिला मन्त्रालयमा मन्त्री फेरिने चर्चा छ। यो चर्चाले पनि पुष्करले मन्त्रीलाई टेर्न छाडेका हुन सक्ने आकलन कर्मचारीहरूले गरेका छन्। सचिव पुष्करले पनि जेठ २९ गते यसरी नै आफूमातहतका कर्मचारीहरूलाई छड्के गर्न मन्त्रालयका कोठाकोठामा पुगेका थिए। त्यतिबेला १०० भन्दा बढी कर्मचारी सचिवको छड्केमा परेका थिए। तीमध्ये २४ जना त उपसचिव र सहसचिव सरहका थिए। छड्केमा गएका बेला कार्यालयमा उपस्थिति नभएका कर्मचारीहरूको हाजिरी कापीमा सचिव पुष्करले रातो घेरा लगाइदिएका थिए। त्यतिबेला छड्के पर्नेहरूहरूमा अधिकांश कर्मचारीहरू नायब सुब्बा र शाखा अधिकृत थिए। त्यस दिन सचिव पुष्कर बिहान सवा १० बजे कर्मचारीहरू कार्यालयमा आए/नआएको विषयमा छड्के गरेका थिए।