४० लक्ष्यअनुरूपको कार्यगत उद्देश्य नेपाल प्रहरीको १३ मुख्य लक्ष्य

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ । यस्तै, प्राथमिकताका क्षेत्रहरूको पहिचान गरी वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै विगतका कार्ययोजना कार्यान्वयन प्रगति विवरणसम्बन्धी समीक्षात्मक प्रतिवेदनबाट प्राप्त सुझावलाई ध्यानमा राखी कार्ययोजनाका गतिविधि निर्धारण गरिएको हो । सरकारको न्यूनतम साझा कार्यक्रम, आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत नीति तथा कार्यक्रम, गृह प्रशासन सुधार योजना–२०७८, तालुक गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्र, नेपाल प्रहरीको रणनीतिक योजना, विगतमा कार्यान्वयन गरिएका कार्ययोजनासमेतका सन्दर्भ सामग्रीहरूको अध्ययन गरी कार्ययोजना बनाइएको हो । प्रचलितकानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ । यसैगरी, प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास, खोज तथा अन्वेषण र अनुगमन तथा मूल्यांकन पद्धतिको सुदृढीकरण, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा अभिवृद्धि, प्रहरी जनशक्ति व्यवस्थापन तथा सुदृढीकरण, वैज्ञानिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणाली विकास, भौतिक पूर्वाधारको विकास तथा स्रोत साधनको समुचित व्यवस्थापन र कल्याणकारी योजनाहरूको क्षेत्र र पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्यअनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप संख्या रहेका छन् । १३ वटा मुख्य लक्ष्यअन्तर्गत प्रहरी कर्मचारीको संघीय संरचनाअनुरूप समायोजन, विद्यमान कानुन तथा नीतिमा समयसापेक्ष सुधार, प्रहरी इतिहासको संरक्षण र प्रवद्र्धन, आन्तरिक सुदुढीकरण, विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान प्रणालीको विकास, शान्ति सुरक्षा तथा प्रहरी कारबाही व्यवस्थापनमा प्रभावकारी अभिवृद्धि गर्ने रहेको छ । यस्तै, आन्तरिक सुदृढीकरण योजनातर्फ पाँचवटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ चारवटा गरी प्राथमिकताको आधारमा जम्मा नौवटा बेन्चमार्क गतिविधि निर्धारण गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै संगठन रूपान्तरण र विकासका लागि वर्तमान सरकारबाट धेरै नै सहयोग पाएको र यो अहिलेसम्मकै निकै उपयुक्त समय भएको बताए । उनले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरू कार्यान्वयनका लागि तयार रहेको बताए । प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै छवि सुधार गर्न आफूले कुनै कन्जुस्याइँ नगर्ने उनको भनाइ थियो । उनले अहिलेको राजनीतिक नेतृत्वबाट काम गर्न निकै सहज र सजिलो भएको पनि बताए । उनले गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुरूप संगठनको सुदृढीकरणका लागि उपयुक्त वातावरण सिर्जना गरी अगाडि बढ्ने पनि बताए । उनले प्रहरी प्रशासनलाई बलियो बनाउन गृह मन्त्रालयबाट राम्रो सहयोग मिले पनि अन्य निकायबाट भनेअनुसारको सहयोग नपाएको गुनासो गरे । महानिरीक्षक कुँवरले साधनस्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए ।

Like