करिश्मा मानन्धरको भनाइ एक्लो जीवन महिलाका लागि अति कष्टकर हुन्छ

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता पछिल्लो समय एकदमै बढेको छ । त्यसको कारण हो फिल्म ‘बगान’ । त्यही फिल्मको प्रचार प्रसारमा सबै काम छोडेर उनी लागिपरेकी छन् । ‘बगान’को पब्लिसिटीमा म यसरी दौडिरहेकी छु कि यसरी त कुनै फिल्मको प्रचारमा हिँडेकी छैन,’ करिब चार दशक अभिनयमा बिताएकी करिश्माले थपिन्, ‘सकभर सबै ठाउँमा पुगेर फिल्म राम्रो बनाउन लागिपरेकी छु ।’ ‘बगान’ असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यसअघि सानोतिनो भूमिकामा देखिँदै आएकी उनी करिब १० वर्षपछि यो फिल्ममार्फत मुख्य भूमिकामा देखिँदै छिन् । यसअघि उनको मुख्य भूमिका रहेको ‘वान वे’ आएको थियो । करिश्मा पछिल्लो समय सामाजिक जनचेतनको क्रियाकलापमा समेत सक्रिय छिन् । फिल्म ‘बगान’ ले पनि यस्तै विषय उठाएको छ । समाज विकासका लागि यसअघि उठाएको कुरा नै ‘बगान’ मा भएको उनले रातोपाटीलाई सुनाइन् । ‘मेरो अहिलेसम्मको भूमिकाले मनोरञ्जनबाहेक केही दिएको छैन । अर्को कुरा, मैले रियल लाइफमै शिक्षाका लागि जुन कुरा अगाडि बढाइरहेकी छु, महिलाको जुन इस्यु उठाइरहेकी छु त्यो बगानको कथासँग मिल्छ,’ उनले बगान अभिनय कारण खोलिन् । करिब दशकको अभिनय करियरमा करिश्मासँग धेरै पात्रको अनुभव छ । तर ‘बगान’ को जस्तो भूमिकामा अहिलेसम्म अभिनय गरेकी छैन भन्छिन् उनी । करिश्मा एक वर्षदेखि यही प्रोजेक्टमा जोडिएकी छन् । यसका कारण उनले अन्य विषयमा ध्यान दिन पाएकी छैनन् । पारिवरलाई समय दिनका लागि केही दिन बेलायत र एउटा कार्यक्रमका लागि अस्ट्रेलिया गइन्, त्यसबाहेक उनी विदेश भ्रमण पनि गएकी छैनन् ।
‘बगान’मा करिश्मा एकल महिलाको भूमिकामा छिन् । यो भूमिका उनका लागि अहिलेसम्मकै नौलो हो । त्यसैले पनि उनको रोजाइमा पर्यो । ‘फिल्म खाली एकल महिलाको विषय होइन । मानिसले आफूलाई कसरी अगाडि बढाउन सक्छ भन्ने हो’, करिश्माले भनिन् ‘सन्तानले अभिभावकका लागि सोच्नुपर्ने विषय छ ।’ नेपालमा फिल्म व्यावसायिक लाभका हिसाबबाट निर्माण हुन्छ । भइहाले यदाकदा सानोतिनो सन्देश देख्न मिल्छ । ‘बगान’ भने पूरै सन्देशको हिसाबले निर्माण भएको हो । विश्व अहिले धेरै अगाडि बढिसकेको छ । प्रगतिले गर्दा हामीले अभिभावकतिर ध्यान दिन सकेका छैनौँ । फिल्मले यो विषय पनि उठाएको करिश्मा सुनाउँछिन् । ‘श्रीमान् श्रीमती भनेका एक रथका दुई पाङ्ग्रा हुन् भनिन्छ । श्रीमान् भए महिलाको जीवन धेरै सहज हुन्छ । एक्लो जीवन महिलाका लागि अति कष्टकर हुन्छ,’ करिश्मा अगाडि थप्छिन्, ‘एक्लै बच्चाको पालन पोषणदेखि सबै क्रियाकलाप गर्दा उसले आफ्नो विषयमा सोच्न र आफूलाई रूपान्तर गर्न भ्याउदिनँ ।’ फिल्ममा यी र यस्तै विषय पनि रहेको उनको भनाइ छ । पछिल्लो समय नेपाल सरकारले एकल महिलालाई ध्यानमा राखेर विभिन्न सेवा सुविधा दिएको छ । त्यो पर्याप्त नभएको बताउने उनी एकल महिलाका लागि जीवनसाथी जस्तो उपयुक्त अन्य केही नहुने धारणा राख्छिन् । हुन पनि हाम्रो समाजले एउटा महिला २२ वर्षमै विधवा भए पनि दोस्रो विवाह गर्नुपर्छ भनेर सोच राख्दैन । छोराछोरीले आमाको उमेर भए पनि फेरि विवाह गर्नुपर्छ भनेर ध्यान दिँदैनन् । पछिल्लो समय यदाकदा यस्तो सोच पलाउन थालेको छ । समाजमा विधवालाई शृङ्गारको अधिकार छैन तर गर्न थालेका छन् । ‘एउटा विधवा विवाह गर्नुपर्छ, जीवन सुखमय हुन्छ । त्यसका लागि परिवारले पनि सोच्नुपर्छ । उनीहरूले आफ्नो तरिकाले बाँच्न पाउने अधिकारको वकालत फिल्मले गर्छ,’ करिश्माले फिल्मको कथावस्तु प्रप्ट पारिन्, ‘एउटा पुरुष विधुर भयो भने उसले दुई महिनामै विवाह गर्छ । त्यसलाई समाजले पनि सहज लिन्छ । महिलाका लागि भने त्यो सहज छैन ।’ यही विद्रोह फिल्मले ओकल्ने उनी बताउँछिन् । थपिन्, ‘जनयुद्ध पछाडि सार्वजनिक भएको तथ्याङ्क अनुसार देशमा १५ लाख हाराहारी एकल महिला छन् । ती महिलाको अवस्था कस्तो छ ? त्यो मैले राम्ररी बुझेकी छु । किनभने मेरी आमा पनि एकल महिला थिइन् । जसको दुःख मैले नजिकबाट नियालेकी थिएँ ।’
‘बगान’ का निर्देशक अभिनेता सरोज खनाल हुन् । करिश्माको जोडीका रूपमा पनि सरोजले अभिनय गरेका छन् । सरोज र करिश्माको फिल्ममा सहकार्य बिसौँ वर्षपछि हो । फिल्म ‘परिभाषा’ पछि दुवैलाई दर्शकले एकसाथ देख्न पाएका थिएन् । अमेरिकामा रहँदा फिल्मबाट टाढा भए पनि स्टेज पर्फमेन्स भने सरोज गरिरहन्थे । कलाकारको रूपमा सरोजभित्र एक प्रकारका द्वन्द्व थियो । त्यो अमेरिका हुँदा पनि करिश्माले महसुस गरेकी थिइन् । त्यसैले उनी सरोजलाई जहिले पनि भन्थिन्, ‘एउटा राम्रो विषयवस्तु आयो भने हामी फेरि सहकार्य गर्नुपर्छ ।’ फिल्ममा अभिनय नगरे पनि यी दुवैले करिब १० वर्षअघि अमेरिकामा एक नाटकमा सहकार्य गरेका थिए । जुन अमेरिकाको पाँच स्थानमा देखाइएको थियो । त्यो रुचाइएपछि नेपालमा पनि गर्ने सोच दुवैले बनाएका थिए । त्यो सोच पछि त्यसै हरायो । पुरानो कलाकार निश्चित समयपछि रिटायर हुन्छन् भन्ने मान्यता कला क्षेत्रमा छ । करिश्मा र सरोज त्यो मानसिकता हटाउने सोच राख्थे । त्यसैले पनि दुवैले ‘बगान’ सहकार्य गरेका हुन् । फिल्ममा सरोज अभिनय गर्ने पक्षमा थिएनन् । फिल्ममा निर्देशकको जिम्मेवारी जो थियो । कलाकार खोज्दै जाँदा उपयुक्त पात्र नभेटेर सरोजले नै अभिनय गरेका हुन् । ‘बगान’ टिमवर्क भएको करिश्मा बताउँछिन् । फिल्म कर्मसिलय पक्षबाट निर्माण भएको छैन । सरल किसिमको कथा वाचन छ । जो सबैलाई मनपर्ने उनी सुनाउँछिन् । ‘सरोजसँग अभिनय कहिल्यै ग्याप भएको छ जस्तै लागेन,’ करिश्माले अनुभव राखिन्, ‘अभिनय सहकार्यका रूपमा एकअर्कासँग एकदमै परिचित भएर काम गरेका व्यक्ति हौँ हामी ।’ ‘कलाकारलाई ससाना विषयसँग समेत जोडेर सरोजले अभिनय गराउनुहुन्छ,’ करिश्माले भनिन्, ‘उहाँको यो क्षमताले फिल्म युनिट सबैलाई काम गर्न सजिलो भए ।’ फिचर फिल्म निर्देशकका रूपमा सरोजको यो पहिलो हो । यसअघि केही छोटा फिल्म उनले निर्देशन गरेका छन् । केही समयअगाडि सरोजको सुनील पोखरेललाई लिएर बनाएको सर्ट फिल्म ‘बिहानीमा अस्ताएको सूर्य’ आएको थियो । करिश्मा उक्त फिल्ममा सरोजले निर्देशकीय क्षमतबाट प्रभावित थिइन् । सरोज नम्र र मिजासिला स्वभावका मानिस हुन् । उनको चित्त नबुझेको सिन हाँसेर यो एक पटक फेरि गरौँ न भन्ने बानी छ । त्यही बानीले पनि फिल्ममा करिश्मालाई काम गर्न सजिलो भयो । ‘नारीप्रधान, सन्देशमूलक विषयमा सरोज एकदमै राम्रो निर्देशक मैले पाएँ’, करिश्माले भनिन् ‘निर्देशकका रूपमा ऊ यस कारण राम्रो लाग्यो । गीत, सङ्गीत, भावना सबैको ज्ञान छ,’ सबै कुरामा डुबेर काम गर्नु भनेको राम्रो निर्देशकको गुण भएको उनी सुनाउँछिन् । थप्छिन्, ‘थिएटरदेखि फिल्मसम्म धेरै पक्षको ज्ञान सरोजमा छ ।’ सरोज अभिनेताका रूपमा प्रमाणित भइसकेका व्यक्ति हुन् । निर्देशकका रूपमा पनि करिश्माले सरोजमा राम्रो क्षमता देखिन् । करिश्मालाई अभिनयको हिसाबले पनि ‘बगान’ विशेष छ । किनभने यो फिल्मबाट उनले अभिनयको धेरै पाटो सिक्न पाएकी छन् । ‘म गम्भीर प्रकृतिको मानिस होइन । यो पात्र मेरो स्वभावभन्दा भिन्न थियो । धेरै अप्ठ्यारो थियो,’ उनी अगाडि भन्दै गइन्, ‘फिल्ममा मेरो अहिलेसम्मकै फरक, रियालिस्टिक अभिनय छ ।’ यो आमा छोरीको कथा हो । उनको पनि एक छोरी छिन् । त्यो भोगाइसमेत अभिनयमा मिसाएकी छन् । ‘म स्टेजबाट उदाएकी कलाकार होइन । त्यसैले सुरु सुरुका कतिपय फिल्म अभिनयबाट दर्शक मात्र होइन, म आफैँलाई आफ्नो अभिनय हेर्दा हाँसो लाग्थ्यो,’ करिश्माले भनिन्, ‘अभिनयमा चञ्चलता थियो । एकाग्रता थिएन ।’ पहिलो पटक रियल लाग्ने अभिनय आफूले यो फिल्ममा गरेको करिश्मा सुनाउँछिन् । ‘बगान’ मा दर्शकले चिनेको, बुझेको र देखेको करिश्माभन्दा भिन्न पाउने उनको दाबी छ । चार दशकको अभिनय यात्रामा उनले कमेडी बाहेकका प्रायः सबै भूमिका निर्वाह गरिसकेकी छन् । त्यसैले अहिले उनलाई कमेडी अभिनय गर्ने रहर जागेको छ । यो रहर मनमा त्यतिकै जागेको होइन । केही अगाडि उनले एक विज्ञापनमा कमेडी भूमिका निर्वाह गरेकी थिइन् । त्यसको चर्चा र सफलताले कमेडी गर्न भन लागेको हो । हुन त यस अगाडि करिश्मा जितु नेपालको कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’मा अध्यक्षका रूपमा देखिसकेकी छन् । शोमा आफ्नो काम थप्पडी बजाउने र हाँस्ने मात्र भएकाले मज्जा नआएको उनी बताउँछिन् । भनिन्, ‘प्रेमकथा, एक्सनदेखि सामाजिक कथासम्मको फिल्ममा भिजिसके । अब कमेडीको अनुभव लिनु छ ।’ ‘विज्ञापनबाट ममा पनि कमेडी गर्न सक्ने क्षमता रहेको बुझेँ, अब कमेडी भूमिका पाए गर्छु,’ करिश्माले भनिन् । करिश्मा अभिनेत्रीको अलावा निर्माता पनि हुन् । उनले थुप्रै फिल्म निर्माण गरेकी छन् । केही अगाडिसम्म उनको ‘वनवास’ नामको फिल्म निर्माण तयारी थियो । जुन अहिले रोकेकी छन् । अहिले एक्लै फिल्म निर्माण गर्ने समय नभएकाले तयारी रोकेकी हुन् । मिलेर गर्ने मानिस पाए गर्ने सोच उनको छ । निर्माण सहकार्य गर्ने व्यक्ति नभेटे उनले फिल्म निर्माण नगर्ने भने होइन । एक्लै लगानी गर्नुपरे केही वर्षपछि गर्ने सोच उनको छ । उनले सुनाइन्, ‘अहिले म आफ्नो घरलाई एउटा रेस्टुरेन्ट भनेर डेभलप गरिरहेको छु । इन्टेक्सको बिजनेससमेत चलिरहेको छ । पहिले यो दुई काम राम्रोसँग सकाउँछु ।’ ‘मैले फिल्म निर्माणबाट घाटा नाफा सबै अनुभव गरेकी छु,’ करिश्माले भनिन्, ‘एक्लै भन्दा पनि मिलेर गर्ने समूह पाए नयाँ फिल्म छिट्टै बनाउँछु ।’ करिश्माका समकक्षी मात्र होइन, जुनियरसमेत फिल्म निर्देशक भइसके । उनको पनि निर्देशनमा आउने सोच छ । कहिले र केबाट निर्देशन सुरु गर्ने उनले सोच्न सकेकी छैनन् । ‘मेरा आफ्ना थुप्रै राम्रो कल्पनाका कथा छन् । जुन प्रस्तुत गर्ने सोच छ । निर्देशन गहन विषय भएकाले झट्ट आँट गर्न सकिनँ’, करिश्माले कुराकानीको बिट मार्दै भनिन्, ‘पहिले छोटो फिल्म गर्छु । त्यसको रिजल्ट हेरेर फिचर फिल्म गर्छु ।’

Like