आजबाट काठमाण्डौ र पोखरामा भारतीय फिल्म प्रतिबन्ध

Share to:

मिन बहादुर /कास्की, आषाढ ४,

मुलुकमा काठमाडौं र पोखरामा आजबाट भारतीय फिल्म नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबारबाट भारतीय हिन्दी फिल्मलाई प्रतिबन्ध गरेका हुन्। ‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौँ। नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’ शाहले भने, ‘काठमाडौं महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएको छ ।’ फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले हल सञ्चालकलाई फिल्म नचलाउन निर्देशन दिएको हो। ‘आदिपुरुष’चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने शाहको भनाई छ। उनले भनेका छन्,‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’ पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ। यता पोखरा महानगरपालिकाका मेयर आचार्यले सिनेमा हलहरूलाई चलचित्र आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन पत्राचार गरेका छन्।

Like