गोलभेंडा ‘होल्ड’ मा राखेर मूल्य बढाउने बिचौलियाको दाउ, २ रुपैयाँको गोलभेंडालाई कसले पुर्‍याउँछ ४५ ?

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ४,

मुलुकमा काभ्रेको पाँचखाल नगरपालिका–६ का किसान जयराम दनुवारले सात रोपनी जग्गामा गोलभेंडा खेती गरेका छन् । एकै सिजनमा ९ सय क्रेट अर्थात् २२ हजार ५ सय किलोसम्म गोलभेंडा फलाएका उनको पूरै बारी राताम्य छ । बगान हेर्ने जोकसैले ‘आहा’ भन्छन् तर उनको मनमा ‘आहा’ छैन । किनकि यतिबेला गोलभेंडाको भाउ ह्वात्तै घटेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको एक अध्ययन प्रतिवेदनअनुसार तरकारी तथा फलफूल क्षेत्रमा ५ देखि ६ तहसम्म बिचौलिया छन् । कतिपय बिचौलियाले किसानलाई फकाउन सुरुमा मल, बीउसम्म उपलब्ध गराइदिन्छन् । त्यसको फाइदा उठाउँदै किसानको बारीबाट सस्तो मूल्यमा उठाएर उपभोक्तालाई महँगोमा बिक्री गरिरहेका छन् । यसैको परिणाम बेलाबेलामा बिचौलियाले नै तरकारी तथा फलफूल सडकमा फाल्ने गरेका छन् । सिजनको सुरुमा प्रतिक्रेट २५० रुपैयाँसम्ममा गोलभेंडा बिक्री गरेका उनले अहिले प्रतिक्रेट ५० रुपैयाँ (प्रतिकिलो २ रुपैयाँ) मा बेच्नुपरेको छ । त्यही गोलभेंडा उपभोक्तासम्म आइपुग्दा भने प्रतिकिलो ४५ रुपैयाँसम्म पर्ने गरेको छ । आखिर किसानदेखि उपभोक्तासम्म आइपुग्दा मूल्यमा अत्यधिक वृद्धि कसले गरिरहेको छ ? उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन्, ‘तरकारी क्षेत्रमा भएको सिन्डिकेट र बिचौलियाका कारण किसान र उपभोक्ता दुवै ठगिए ।’ ‘तरकारी मूल्यका सन्दर्भमा विभिन्न प्रतिवेदन बन्यो, त्यसले बिचौलियालाई निरुत्साहित गर्न तह घटाउनेदेखि खाद्यवस्तुको तह निर्धारणसम्मका सुझाव दियो,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको कार्यदलका सदस्यसमेत रहेका तिमिल्सिनाले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ ले समेत तह निर्धारण गर्न भने पनि कार्यान्वयन भएन । जसले गर्दा किसानको उत्पादन बिचौलियाले कौडीको भाउमा खरिद गरेर उपभोक्तासँग चर्को मूल्य लिएका छन् । किसानले २ रुपैयाँमा बेच्न नसकेको गोलभेंडा खुद्रा बजारमा ४५ रुपैयाँसम्म पर्छ ।’ तिमिल्सिनाको भनाइलाई विभागका पूर्वमहानिर्देशक एवं हाल युवा तथा खेलकुद मन्त्रालयका प्रवक्तासमेत रहेका कुमार दाहालले पनि पुष्टि गरेका छन् । दाहालका अनुसार उत्पादकदेखि होलसेलसम्म आइपुग्दा मूल्य तीन गुणाले वृद्धि हुन्छ । यसबीचमा ठेकेदार (तरकारी संकलन गर्ने), कलेक्टर (गाडीमा हाल्ने) र ढुवानीकर्ताले चलखेल गर्छन् । किसानको बारीबाट होलसेल बजार (कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति) मा आइपुग्दा फेरि मूल्यमा फरक पर्छ । जानकारका अनुसार साना व्यापारी बिहानै होलसेल बजार पुग्न सक्दैन । त्यसका लागि बिचौलियाहरूले ढुवानीको व्यवस्था गरिदिन्छन् । ‘होलसेल बजारबाट खुद्रा पसलसम्म ढुवानी गर्दा प्रतिकिलो १० रुपैयाँ लिन्छन् । त्यसपश्चात् खुद्राले थप मनोमानी असुल्छन्,’ दाहालले भने । विभागले बनाएको प्रतिवेदनले उत्पादनपश्चात् स्थानीय संकलक/मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता, खुद्रा बिक्रेता र उपभोक्ताको तह देखाएको छ । ‘संकलनकर्तामा सिन्डिकेट छ, सस्तोमा नदिने किसानको सामान उठाउँदैनन् । सस्तोमा बिक्री नगरे तरकारी बिग्रने डरले सस्तै भए पनि बिक्री गर्छन्,’ दाहालले भने, ‘त्यसमाथि कलेक्टरको पनि सिन्डिकेट हुन्छ । लगानीकर्ता नै कलेक्टर हुन् । किसानलाई मलबीउ दिन्छन्, मूल्य पनि आफूखुसी तोक्छन् ।’ राजधानीमा सामान्यतः काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सर्लाहीदेखि तरकारी आउँछ । अहिले यी जिल्लाका किसानले गोलभेंडाको मूल्य औसतमा २ रुपैयाँ पाउँछन् । अझ काभ्रेका किसानले त २ रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् । यसरी खनजोत, मलबीउ, सिँचाइ र सुसारमा महिनौं पसिना बगाउने किसानलाई मर्कामा पारेर दुई–दुई घण्टा समय दिने व्यापारीले दोब्बर मूल्य बढाउँदै लग्छन् । किसानले २ रुपैयाँ मात्र हात पार्दा उपभोक्ताले भने ४५ रुपैयाँ तिर्छन् । यसरी २४ घण्टाको चक्रमा २० गुणाभन्दा बढी मूल्य अन्तर हुन्छ । ०७७ भदौमा वाणिज्य विभागले गरेको अध्ययनमा राजधानीमा तरकारीको खुद्रा मूल्यमा १० देखि १५ प्रतिशतसम्म फरक रहेको पाइएको थियो । त्यसमा पनि गोलभेंडाको मूल्य प्रतिकिलो ६० देखि १२० रुपैयाँसम्म फरक परेको अध्ययनले देखाएको थियो । किसानलाई औसत २ रुपैयाँ दिएर गोलभेंडा किन्ने बिचौलियाहरूले दोब्बर नाफा खाएर संकलन केन्द्र पुर्‍याउँछन् । ४ रुपैयाँमा संकलन केन्द्रमा झरेको गोलभेंडा संकलन केन्द्रले ढुवानीवाला बिचौलियालाई ६ रुपैयाँमा बेच्छ । ढुवानीकर्ताले तरकारी काठमाडौं ल्याएर ८ रुपैयाँमा थोक बिक्रेतालाई बुझाउँछ । कालीमाटीमा बस्ने थोक बिक्रेताले त्यही गोलभेंडा खुद्रा थोकवालालाई १२ रुपैयाँमा बेच्छ । खुद्रा थोकवालाले त्यसमा दोब्बर बढाएर खुद्रा व्यापारीलाई औसत २२ देखि २५ रुपैयाँमा बेच्छन् । सबै खुद्रा व्यापारी कालीमाटी पुग्दैनन्, उनीहरूको पसलसम्म पुर्‍याइदिने व्यापारीले मूल्य ३२ सम्म पुर्‍याउँछन् । खुद्रा व्यापारीले औसत १०–१३ रुपैयाँ नाफा लिएर ४५ रुपैयाँसम्म पुर्‍याउँछन् । बजार मूल्यको सन्दर्भमा अनुगमन तथा नियमन गर्ने दायित्व स्थानीय निकाय, नगरपालिकाको हो । प्रमुख दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो, तर यी क्षेत्रमा प्रभावकारी अनुगमन छैन । यही कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका हुन् । कृषक दनुवारका अनुसार पाँचखालका किसानको बारीमा गोलभेंडा लटरम्मै पाकेको छ । तर, व्यापारीले भाउ दिँदैनन् । बिक्री नभएपछि पाँचखालका किसानले दुई पटक गरी १ सय ६५ क्रेट गोलभेंडा फालेको बताए । ‘प्रतिक्रेट २५० रुपैयाँबाट झारेर ५० रुपैयाँसम्ममा पनि बिक्न छाड्यो,’ दनुवारले भने, ‘बिक्री नभएपछि बाध्य भएर बाटोमा फाल्ने, खोलामा फाल्ने गरेका हौं ।’ किसानले उत्पादन गरेका तरकारीको मूल्य छैन । उत्पादन भए पनि बजार पाइँदैन, जसले गर्दा किसानहरू सस्तोमा बिक्री गर्न बाध्य भइरहेको उनले बताए । गोलभेंडाको भाउ बढाउन ३ दिन होल्ड गरेर मात्रै बजारमा बिक्री गर्ने तयारी भएको उनले बताए । ‘किसानले मूल्य पाएका छैनन्, अब ३ दिनसम्म बिक्री नगर्ने निर्णय भएको छ,’ उनले भने, ‘केही अभाव भएपछि मूल्य बढ्ने आशा छ, त्यसले लागत उठ्ने अनुमान छ ।’ भाउ नपाएको भन्दै आइतबार पनि केही किसानले गोलभेंडा फालेर विरोध जनाएका छन् । उनीहरूले कालीमाटी तरकारी बजारमा गोलभेंडा फालेर विरोध गरेका थिए । ‘हामीले व्यावसायिक खेती गरिरहेका छौं तर प्रतिकिलो २ रुपैयाँ पनि पाउन मुस्किल भयो, कालीमाटी बजारमा राति २/३ बजेदेखि बस्दा पनि एक सय क्रेट बिक्री भएन,’ कालीमाटीमा विरोध गरिरहेका भक्तपुरका किसान रमेश फ्यालले भने, ‘भाउ नपाएपछि बाध्य भएर गोलभेंडा फालेका छौं ।’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर (ठूलो) को भाउ प्रतिकिलो न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ निर्धारण गरेको छ । नेपाली टमाटर सानोको भाउ न्यूनतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पछिल्लो समय स्वदेशी उत्पादनकै खपत बढी भएकाले भारतबाट आयात भएको छैन । स्वदेशी उत्पादन अत्यधिक बढेकाले गोलभेंडाको भाउ नपाएको उनले बताए । ‘सामान्यतया दैनिक ६०/७० टन गोलभेंडा भित्रिने गरेकामा अहिले ९५ टन भित्रिएको छ, उत्पादन बढ्दै गएपछि मूल्य पनि घटेको हो,’ उनले भने, ‘अन्य बजारमा खपत नभएपछि किसानले कालीमाटीको होल्डिङ यार्डमा राखे । त्यसपश्चात् विरोधस्वरूप फालेका हुन् ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा २२ हजार ६ सय हेक्टरमा खेती हुन्छ । औसतमा ४ लाख ३२ हजार ६ सय १६ टन उत्पादन हुन्छ । माग धान्नकै लागि भारतबाट समेत आयात हुन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा ५५ करोडको गोलभेंडा आयात भएको छ । पछिल्लो समय टनेल खेती र व्यावसायिक खेती गर्नेको संख्या बढेको समितिले जनाएको छ । विगतमा तराईमा उत्पादन थिएन । उपत्यका आसपासका जिल्लाको उत्पादनले तराईको माग धार्न्थ्यो । ‘यसपालि तराईमा पनि उत्पादन बढेको छ । तर, उपभोग गर्ने संख्या बढेन,’ समितिका सूचना अधिकारी श्रेष्ठले भने, ‘एक साताकै होलसेल मूल्य हेर्दा प्रतिकिलो ३० रुपैयाँदेखि १२ रुपैयाँमा झरेको छ ।’ यद्यपि, गोलभेंडा फालेर समस्या समाधान नहुने उनले बताए । त्यस्तै, २०७८/७९ मा ६३ करोड ११ लाख ९३ हजार रुपैयाँको आयात भएको थियो । पछिल्लो एक–डेढ महिनायता भने आयात नभएको व्यवसायी स्वयं बताउँछन् । ‘स्वदेशमै पर्याप्त उत्पादन हुँदा पछिल्लो महिना आयात भएको छैन । उत्पादन बढी भएपछि लागतसमेत उठेन,’ किसान फ्यालले भने ।

Like