अन्य थपदेशप्रदेश-१मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

ताप्लेजुङमा बाढी पहिरो : मेहेलेमा ४ जना बेपत्ता, आङ्खोपमा ३ घर बगायो, दोभान बजार जोखिममा

Share to:

रासंसा/ताप्लेजुङ, आषाढ ३,

मुलुकमा ताप्लेजुङमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन्। सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन्। बुवाआमालाई सुरक्षित स्थानमा राख्ने क्रममा उनी भने बेपत्ता भएको बताइएको छ। उनीहरुको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। अहिलेपनि अविरल वर्षा भइरहेकाले उद्धारमा भने समस्या भएको छ। मेहेलेको भालुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको स्थानीय कमल कडरियाले जानकारी दिए। यादव भने सिरिजङ्गा गाउँपालिकाको पेदाङ गएका थिए। उनका अनुसार भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता भएका छन्।सिदिङ्वा गाउँपालिका-३ आङ्खोपमा ३ वटा घर पहिरोले बगाएको छ। सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार आङ्खोपमा प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ। सो घरका मानिसहरु भने भागेर बाँच्न सफल भएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले बताए। उनका अनुसार ईङवाखोलामा रहेको पुल तथा हाईड्रो पावरमा समेत क्षति पुगेको छ। तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटिय क्षेत्र दोभान बजार जोखिममा परेको छ। दोभान वारी–पारी हुने मोटरेवल पुल नजिक गएको पहिरोले सडक अबरुद्ध गरेपछि आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्क बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिए। सिरिजङ्गा गाउँपालिका-४ तेल्लोकस्थित बाघथलामा घरलाई बीचमा पारी गएको पहिरोले बाधथलादेखि गाउँपालिकाको कार्यालयतर्फको क्षेत्र समेतको सम्पर्क बिच्छेद भएको स्थानीय इन्द्र घतानीले जानकारी दिए। उता मेची राजमार्ग अन्र्तगत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको छ।

Like