तेस्रो प्रधानमन्त्री कार्यकालमा प्रचण्डलाई दौरा–सुरुवाल र धर्मको ब्रह्मज्ञान

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ३०,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका छन् । तर उनको यो कार्यकाल अघिल्ला दुई कार्यकालको तुलनामा भिन्न देखिएको छ । खासगरी उनले आफ्नै जीवनशैली र आचरणमार्फत त्यो भिन्नतालाई उजागर गर्दै आएका छन् । त्यसो त उनी बेलाबखत आफूलाई ‘निरन्तरताको क्रमभङ्ग’ गर्ने नेताका रुपमा पनि व्याख्या गर्दछन् । दौरा–सुरुवाल र मन्दिरमा पूजाआजाको विषयलाई ‘निरन्तरताको क्रमभङ्ग’ कै पछिल्लो उदाहरणका रुपमा लिने कि यसको राजनीतिक उद्देश्य र अर्थ पनि छ भन्नेबारे समेत चर्चा हुने गरेको छ । ‘टाइ–सुट’ मा सजिएर हिँड्ने प्रचण्डले प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको आरम्भ ‘दौरा–सुरुवाल’ बाट गरे । यतिमात्र होइन, भारत भ्रमणका क्रममा गेरुवा वस्त्र धारण गरेर उनले महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेको अद्भूत दृश्य पनि धेरैले अनौठो मानेर हेरे । प्रचण्डमा देखिएको यो परिवर्तनलाई लिएर कतिपयले आश्चर्य प्रकट गरेका छन् भने कतिपयले आलोचना गर्दैछन् । १० वर्ष लामो जनयुद्धका क्रममा धर्म, परम्परामाथि धावा बोलेको, क्रान्तिकारी कम्युनिस्ट नेताको छवि बनाएका प्रचण्ड एकाएक कसरी गेरुवा वस्त्र लगाएर मठ–मन्दिरसम्म पुग्ने अवस्थामा पुगे भन्ने प्रश्न पनि उठिरहेको छ । आखिर प्रचण्डमा यो ‘ब्रह्मज्ञान’ कहाँबाट आयो ? केही दिनअघि संसदमा यसबारे प्रचण्डले केही हदसम्म प्रस्ट्याउने प्रयत्न पनि गरे । गत पुस २६ गते संसदमा पहिलो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले आफू दौरा सुरुवालको विरोधी कहिल्यै नरहेको जवाफ दिए । ‘दौरा–सुरुवाल र प्रचण्डबारे चर्चा भयो । धेरै समयदेखि बाहिर चर्चा भइराखेको छ । कयौं विदेशी कूटनीतिज्ञले दौरा–सुरुवाल, कोट किन नलगाएको भन्ने गर्थे । देशभित्रकै पार्टीका साथीहरूले पनि भन्ने गर्नुहुन्थ्यो,’ प्रचण्डले भनेका थिए, ‘म दौरा–सुरुवालको विरोधी कहिल्यै थिइनँ । सन्दर्भले राजनीतिक रूपमा जुन प्रक्रियाबाट अघि बढेँ, मलाई दौरा–सुरुवाल लगाउने अवसर जुरेको थिएन ।’ आफूले दौरा–सुरुवाल लगाउन ‘कमेन्ट’ हेरेर निर्णयमा पुगेको उनको भनाइ थियो । ‘प्रचण्डले दौरा–सुरुवाल लगाएर शपथ लिने भनेर प्रचार भयो,’ प्रचण्डले भने, ‘मैले कमेन्टमा कति नेगेटिभ आउँदो रहेछ भनेर हेरेँ, नेगेटिभ एउटा पनि देखिनँ । सबै कमेन्ट पोजेटिभ आएपछि मैले यो निर्णय लिनैपर्ने भयो । जनअभिमत अनुसार लगाउनै पर्ने भएपछि लगाएको मात्रै हो ।’ भारतमा महाकालेश्वर मन्दिरमा गरेको पूजाको विषयमा सांसदहरुले समेत प्रश्न उठाएपछि प्रचण्डले प्रस्टिकरण दिँदै आफू धार्मिक पर्यटन प्रवर्द्धनका लागि महाकालेश्वर मन्दिरमा गएको जवाफ दिए । ‘सिद्धान्तः म प्रस्ट धर्म निरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ, राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउन हुँदैन भन्ने पक्षको हुँ,’ प्रचण्डले भने, ‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै धर्म सम्प्रदायको जनतामा पनि उनीहरूको आस्थालाई अपमान हुने काम पार्टी र राजनीतिज्ञले गर्नुहुँदैन भन्ने मान्यतामा दृढ छु ।’ आफू बौद्ध धर्मदेखि मुस्लिम, क्रिस्चियन लगायत सबै धर्मका कार्यक्रममा सहभागी हुने गरेको भन्दै प्रचण्डले आफ्नो बचाउ गरे । तर १० वर्ष लामो जनयुद्धमा उनकै सहकर्मी रहेका डा. बाबुराम भट्टराई भने प्रचण्डमा देखिएको यो बदलावप्रति सकारात्मक छैनन् । केही दिन अघि प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीका साथ पशुपतिनाथ मन्दिर गएको विषयलाई लिएर डा. भट्टराईले टिप्पणी गर्दै ‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन । त्यो उसको निजी आस्थाको कुरा हो । तर, जब पूरै मन्त्रीमण्डल एकसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ’ भनेका छन् । वामपन्थी विश्लेषक खगेन्द्र संग्रौला माओवादी वैचारिक र नैतिक दुवै दृष्टिकोणले स्खलित भएपछि प्रचण्ड दक्षिणपन्थको यात्रामा लागेको बताउँछन् । ‘माओवादी आस्था र उद्देश्यका दृष्टिकोणले अईश्वरवादी हो । माओवादी भौतिकवादी, द्वन्द्ववादी हो । माओवादीको कसैले नथुपारेर माओवादीका अनेकौ दस्तावेजमा हजारौं पटक प्रचण्डले भनेका कुरा हुन् यी,’ संग्रौलाले भने, ‘धर्मनिरपेक्ष राज्यमा धर्मनिरपेक्षताको उपहास हुनेगरी राजेन्द्र लिङदेनको पाइला पछ्याएको देखिने गरी पुष्पकमल दाहाल ज्यान छाडेर हिन्दु धर्मको वकालतमा छन् ।’ हरेक निर्वाचनमा माओवादी खुम्चिँदै जान थालेपछि प्रचण्डले धर्मलाई टेको लाग्ने आधार बनाएको संग्रौलाको दाबी छ । ‘गठबन्धनको बाध्यात्मक अवस्थाले गर्दा माओवादी तेस्रो शक्ति भएर सत्तामा छ । माओवादीको संगठन कहीँ कतै बनिरहेको छैन । माओवादी गाउँमा कहिलै जाँदैन । सहरमा माओवादीको कतै जरा देखिँदैन । माओवादीको एउटै भर गठबन्धन हो । गठबन्धनको भ¥याङ बनाएर सत्तामा जानु हो,’ उनले भने, ‘माओवादीभित्र चरम निरासा र हतासा छ । सत्ताको स्वाद चाखेपछि भोग गर्नै प¥यो । राप्रपा र एमाले जस्तै राजनीतिक धन्दा चलाउन नश्लीय उग्रराष्ट्रवाद उपभोगमा छ ।’ जसरी केपी ओलीले राजनीतिक धन्दा चलाउन रामको आविश्कार गरे, प्रचण्ड पनि ओली र लिङदेनको पथमा जान मन्दिर धाउने गरेको संग्रौलाको भनाइ छ । महाकालेश्वरदेखि पशुपतिसम्मको प्रचण्डको यात्रा वैचारिक राजनीतिक दृष्टिकोणले भयावह स्थिति भएको उनले दाबी गरे । प्रचण्डले दक्षिणपन्थको बाटो समाउनु नेपाली राजनीतिमा अत्यन्तै खतरा र दुखद् भएको संग्रौलाको विश्लेषण छ । संग्रौलाका अनुसार माओवादी आन्दोलनले नेपालको इतिहासभर संग्रामको माध्यमबाट सिङ्गो समाजलाई हल्लाएर बिउँझाएको थियो । ‘विगतमा माओवादीले समाजका धेरै कुनाकानीका निमुखा मान्छेलाई बिउँझायो । केन्द्रीकृत, निरंकुश र दमनकारी शासनलाई देशलाई संघीयतामा लग्न वातावरण निर्माण ग¥यो । गणतन्त्रको परिस्थिति निर्माण ग¥यो,’ उनले भने, ‘तर, अहिले वैचारिक आस्था र व्यवस्थागत आस्थाको विरुद्धमा लाग्यो । प्रचण्डका यी सबै गतिविधि दक्षिणपन्थका गन्धे डकार हुन् ।’ ‘महाकालेश्वर मन्दिरमा कसैले कर गरेर लगेको होइन । प्रचण्ड आफैं गएका हुन् । भ्रमण गर्ने देशबाट कार्यतालिका पठाउँछन् । कहाँकहाँ भ्रमण गर्ने, क–कसलाई भेट्ने इच्छा छ ? सबै लिष्ट सम्बन्धित देशबाट पठाइन्छ’ रोकाले भने, ‘यो ठाउँ जान्छु, यो जाँदिनँ । यसलाई भेट्छु, यसलाई भेट्दिन भन्ने यहाँको प्रधानमन्त्रीले छान्न पाउने सुविधा हुन्छ ।’ अर्का राजनीतिक विश्लेषक हरि रोकाले भारतीय संस्थापन पक्षलाई खुसी पार्न प्रचण्डले अनेक धार्मिक गतिविधि गरेको टिप्पणी गरे । महाकालेश्वर मन्दिरको पूजाआजा भारतीयले नथपोरेको बताउँदै रोकाले पूर्व राजा ज्ञानेन्द्रदेखि राजेन्द्र लिङदेन, कमल थापा लगायतको मुद्दा क्यास गर्न प्रचण्डले पछिल्लो समय धर्मप्रति रुझान बढाएको टिप्पणी गरे । भ्रमण दुवैपक्षको समझदारीमा हुने भएकाले बाध्यता वा अन्य कारणले पूजाआजा गरेको हुँ भन्नेमा कुनै तुक नभएको रोकाको भनाइ छ । धर्म निरपेक्षतावादी वाकालत गर्ने व्यक्तिले गेरुवा वस्त्र धारण गरेर पूजाआजा गर्नु ठिक नभएको उनले बताए । देश धर्मनिरपेक्षता हुनुपर्छ भनेर सबैभन्दा बढी वकालत गर्नेले धर्मप्रति यस्तो गतिविधि गर्नु आफैँमा गलत भएको रोकाको टिप्पणी छ । ‘प्रधानमन्त्रीको इमेज नै राष्ट्रको इमेज हो । यसमा राज्यले कुनै धर्म नमान्ने अर्थ लाग्छ,’ उनले टिप्पणी गर्दै भने, ‘व्यक्तिगत रुपमा को हिन्दु, को मुस्लिम, को बुद्धिस्ट हुन्छ भन्ने फरक कुरा भयो । राज्यको प्रतिनिधित्व गर्ने मान्छे मठमन्दिरमा लाइन लागेर गेरुवा वस्त्र प्रदर्शन गर्नु ठिक हो कि होइन भन्नेमा आफैँलाई सोध्न सकिन्छ ।’ तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भारतको महाकालेश्वर मन्दिर गएपछि पूजाआजा गर्नु स्वाभाविकै भएको प्रतिक्रिया दिए । ‘महाकालेश्वर मन्दिर गएपछि दर्शन गर्न जानु हुँदैनथ्यो, गइयो । गएपछि मन्दिरभित्र जुन पूजाआजाको विधि पद्धति थियो, त्यो मान्नै प¥यो,’ गजुरेलले भने, ‘अध्यक्ष कमरेड प्रचण्ड अहिले पार्टी अध्यक्षमात्रै हैन । देशको प्रधानमन्त्री समेत हुनुहुन्छ । मन्दिरमा पूजा गर्नु स्वाभाविक रुपमा लिनुपर्छ ।’ महाकालेश्वर मन्दिरका पुजारीले पशुपतिमा लगेर जल चढाउन आग्रह गरेकाले प्रधानमन्त्री सहित सबै मन्त्री हालै पशुपति मन्दिरमा समेत पुगेको उनको भनाइ छ । ‘भारत भ्रमणमा हुँदा गुरुहरुले जल दिए । यो जल पशुपतिमा लगेर चढाउनुहोला भनेका थिए । त्यहाँका मन्दिरका गुरुहरुले अनुरोध गरेपछि उतैबाट ल्याएको जल चढाउन गएकोमात्रै हो,’ गजुरेलले भने, ‘भारत भ्रमणमा हुँदा नै पशुपतिमा जल चढाउनैपर्ने भन्ने भयो । समय मिलाएर पशुपतिमा जल चढाउन जान सामान्य छलफल भएको थियो ।’ त्यसलाई अन्यथा लिन नहुने गजुरेलले बताए ।

Like