प्रदेशसभा अगाडि प्रदर्शन गर्ने पहिचानवादीहरूको तयारी हुँदै, कोशी प्रदेशसभाको बैठक बस्दै,

Share to:

रासंसा/मोरङ, ज्येष्ठ १४,

मुलुकमा कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ । उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् । ‘आन्दोलनकारीको रणनीतिक योजनाहरू हामीले जानकारी पाएका छौँ,’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘हामीले पनि त्यही अनुसार सुरक्षा व्यवस्था अपनाएको छौँ ।’ शान्ति सुरक्षा कायम गराउँदै जनधनको क्षति हुन नदिन विगतभन्दा धेरै प्रहरी परिचालन गरिने उनले बताए । ‘जिल्लाबाट मात्र नभएर प्रदेश प्रहरी, गण र तालिम केन्द्रहरूबाट थप मद्दत आउने छ । सशस्त्र प्रहरी पनि उल्लेख्य सङ्ख्यामा परिचालन हुनेछ,’ एसपी पोखरेलले भने । सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

CG

Like