सवारी चालक अनुमतिपत्र जेल बसेका कैदीको हातमा

Share to:

रासंसा/सप्तरी, ज्येष्ठ ११,

मुलुकमा स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घट्ना उजागर भएको छ । तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस.हाल खडक नगरपालिका ७ वस्ने मो.मन्जुर मियाँको २२ वर्षिय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा न गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेको चकित तुल्याउने घट्ना सार्वजनिक भएको हो । उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो । अपहरण तथा शरिर बन्धक मुदामा उनी २०७४ बैशाख ५ गते देखी राजविराज कारागारमा छन् । तर उनको हातमा २्र०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हैवी सवारी साधन) को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको अचम्मको घट्ना उजागर भएको छ । लाईसेन्समा उल्लेखित नागरिक्ता नं.१६१०७९÷३२२ र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो । लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ । त्यसपछी २०७५ साल फागुन १४ गते अदालतले मो.सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैया जरिवानाको पैmसला गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ । सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरिर बन्धक मुदामा मो.सैयद सहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागी राजविराज कारागार चलान गरिएको थियो । सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हाल सम्म कैद भुक्तानका लागी राजविराज कारागार मै छन । उनी कारागार मै रहेको अवस्थामा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुरा आश्चर्य र अनुसन्धानको विषय रहेको कानून व्यवसायी एवं प्रदेश सभासदस्य किरण कुमारी साहको भनाई छ । कैदमा रहेका व्यक्तीले सोही अवधीमा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुराले आफुलाई पनि चकित बनाएको उनले बताए । उनले कैदीबन्दीले आफन्तको मृत्यु संस्कार, गम्भीर प्रकृतिका उपचार तथा त्रिविविबाट लिने परिक्षामा सहभागी हुन प्रहरी निगरानीमा बाहिर जान पाउने व्यवस्था भएपनि सवारी चालक अनुमती पत्रका लागी बाहिर जान दिने कुनै व्यवस्था र सुविधा न रहेको स्पष्ट पारे । मो.सैयदले आफन्त मार्फत सो चालक अनुमती पत्रको नविकरण गर्न खोज्दा यसको रहस्योदघाटन भएको श्रोतले जनाएको छ । सवारी चालकको अनुमति पत्र बनाउनका लागी दलाल मार्फत रकम खुवाएर सहजै काम हुने गरेकाले उनले सोही जुक्तीको प्रयोग गरी लाईसेन्स निकाल्न सफल भएको श्रोतको दाबी छ । राजविराज कारागारका निमित्त जेलर राजकुमार बरालले निज हाल पनि कैद भुक्तानका लागी कारागार मै रहेको बताए । यस्ता घट्ना मौलाउन नपाओस भनेर यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा वितरण गरिने सवारी चालक अनुमती पत्रमा यस्तो अनियमितता र लापरवाही भएको घट्ना सार्वजनिक हुनु भनेको सम्बन्धित निकाय प्रति आशंका बढाउने काम गरेको नागरिक सञ्चाल सप्तरीका अध्यक्ष सुखराम यादवको भनाई छ । यसरी गैर कानुनी रुपमा कारागारमा रहेका व्यक्तीलाई आवश्यक प्रकृया पुरा नै नगरी सवारी चालक अनुमती पत्र दिने व्यक्ती उपर अनुसन्धान गरी कडा कारवाही हुनु पर्ने सरोकारवालाहरुले माँग गरेका छन् ।

Like