सरकारको नीति तथा कार्यक्रम एमालेद्वारा अस्वीकार
रासंसा/काठमाण्डौ, ज्येष्ठ ७,
मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम ‘संविधानको स्पिरिट’अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोष गरेको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने निर्णय समेत गरेको छ । ‘संविधानको स्पिरिट’अनुसार सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न वा समर्थन गर्न नसकिने अडान राख्दै अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्न सांसदलाई निर्देशनसमेत दिए । शनिबार नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने चेतावनी दिए । ‘नीति तथा कार्यक्रम सरकार आफैंले ल्याएको सिद्धान्त र प्राथमिकताअनुसार पनि छैन । नीति तथा कार्यक्रम संविधानको स्पिरिटबमोजिम पनि छैन । आफैंले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताको स्पिरिटमा पनि छैन । यसले देशको समस्या समाधान गर्न पनि सक्दैन’ ओलीको भनाइ उद्धृत गर्दै सांसद ठाकुर गैरेले भने । नीति तथा कार्यक्रमले देश र जनताका योजना कटौती गर्दै फजुल गफ गर्ने काम गरेको उनको टिप्पणी ओलीको छ । ‘देश र जनताका पक्षाका योजना कटौती गर्ने र फजुल गफ गर्ने कुरा भयो । संसदमा यसको जमेर प्रतिवाद गर्नुपर्छ,’ बैठकमा ओलीले भने । यो सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न सक्दैन । यसले नीतिगतरूपमा कुनै मार्ग निर्देश गर्दैन । स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ, यसर्थ यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ, हाम्रो मुख्य पोजिसन त्यही हो ।’ सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्बाट पारित गर्न नहुने पार्टीको अडान रहेको स्पष्ट पारेका छन् । ‘यो एउटा बेकारको पुलिन्दा हो । यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसावले निर्देशित गर्न सक्दैन । यसले कुनै डेस्टिनेसन नै तोकेन । यसले नीतिगत रूपमा कुनै मार्ग निर्देश गर्दैन । स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ, यसर्थ यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ, हाम्रो मुख्य पोजिसन त्यही हो’ ओलीले भने । नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन रहेको बताए । सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको टिप्पणी उनको छ । अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताए । मुलुकको अर्थतन्त्रको समस्यासमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै उनले आपत्ति जनाए । उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाए । ‘संसद हाम्रो उपस्थिति लुलो–लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो । एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो ?’ सांसदसँग प्रश्न गर्दै ओलीले भने । विचार, तरिका, प्रस्तुति नयाँ हुँदैन भने पार्टी पुरानो हुने बताउँदै उनले आफूहरू विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने हिसाबले प्रस्तुत हुनुपर्ने बताए । पछिल्लो समय संसदमा पार्टीले सशक्त उपस्थिति देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका अध्यक्ष ओलीले सांसदलाई संसदमा सशक्तरूपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् । एमाले उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम मुलुकको समस्या समाधान गर्ने नभई पुरातन खालको र कर्मकाण्डी रहेको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमले अहिलेको मुलुकको संकट समाधान दिने खालको नभएको उनले बताए । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नीति तथा कार्यक्रमको विरोध गरे पनि सत्तारूढ दलका नेताले बचाउँ गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कमजोर धरातलमा आएको कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको जोखिम रहेको बताए । एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको तर जीवन नभएको भनेर टिप्पणी गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम’bout उनले भने, ‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ, प्राण नभएको छ । कुनै सपना छैन, आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन ।’ ‘प्राथमिकतामा राखेर ठूलो आयोजनामा केन्द्रित हुनुपथ्र्यो, त्यस्ता आयोजनाले मात्र दीर्घकालीन प्रतिफल दिन सक्छन् । सबैतिर कनिका छरेजस्ता कार्यक्रम हेर्दा राम्रो तर परिणाम कमजोर निस्कन्छ । एक अंकको आर्थिक वृद्धि भएको ६० वर्ष भइसकेको छ । दुई अंकको आर्थिक वृद्धि गर्न राज्यको संरचनाको आमूल परिवर्तन नगरी हुँदैन’ उनले भने । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको विकास गर्न आवश्यक सबै पक्षलाई नीति तथा कार्यक्रममा समेटिएको बताए । सर्वपक्षीयरूपमा धेरै कुरा समावेश भएको बताउँदै उनले आगामी बजेट पनि यसैगरी बन्ने र यसमा आशा गर्ने ठाउँ पनि रहेको बताए ।