सक्कली शरणार्थीलाई सोधौं देशको माया कति लाग्छ
रासंसा/झापा, ज्येष्ट ४,
मुलुकमा झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्। कोही दर्ता भएर पनि छानबिन गर्नुपर्ने सूचीमा परेर तेस्रो देश पुनर्वास प्रकृयामा छुटेका हुन् भने कोही दर्ता नै नभएर यहीँ अडिए। अहिले नक्कली शरणार्थी बनाएर अमेरिकालगायतका देशका मुलुककै ठूला नेताले पठाएको प्रकरण सुनेपछि उनीहरू चकित छन्। भन्छन्,‘जो–जो नक्कली शरणार्थी बन्नुभयो, उहाँहरूलाई के कुराले पुगेन ?’ दमक बेलडाँगी शिविरका सचिव टेकबहादुर राईले केही दिनदेखि नक्कली शरणार्थी प्रकरणका समाचार लगातार सञ्चारमाध्यममा आएको देख्दा र सुन्दा अचम्ममा परेको सुनाए। ‘यस्तो कुरा सुन्दा–पढ्दा हामीलाई दुःख लागेको छ। सत्यतथ्य के हो भन्ने कुरा उहाँहरूलाई नै थाहा होला। छानबिन भइरहेकै होला,’ सचिव राईले भने, ‘तर यति चाहिँ हो, जो–जो नक्कली शरणार्थी बन्नु भयो, उहाँहरूलाई त्यस्तो के पुगेन होला ?, आखिर उहाँहरूले पनि पैसा नै खर्च गरेका रहेछन्।’ यहाँ रहेका सक्कली शरणार्थी विभिन्न कारणले समस्यामा छन्। न, काम पाउँछन्, न त उनीहरूको व्यवस्थापनमा कसैको साथ नै छ। शिविरमा बसोबास गर्नेहरूलाई शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूनएनएससीआर) तथा अन्य दातृ निकायले दिने सेवा पनि बन्द गरिसकेको छ। विश्व खाद्य कार्यक्रमले रासन दिन छाडेको पनि ६ वर्ष बित्यो। अहिले उनीहरूको शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिएको छ। तर, पर्याप्त छैन। मान्छे भएर पनि आफूहरूले मान्छेको जस्तो इज्जत नपाएकाले कसैले पनि आफ्नो मातृभूमि छाडेर शरणार्थी बनेर बस्नु नपरोस् भन्छन् राई। थप्छन्, ‘दुःखका साथ भन्नुपर्दा शरणार्थीको ट्याग संसारको कसैलाई पनि नलागोस्। यहाँ गाँस, बास र कपासको कठिनाइ छ। बिरामीहरूको उपचारमा पनि त्यस्तै समस्या छ। जसले गर्दा यहाँ बसोबास गर्ने अधिकांशहरू स्वदेश (भुटान) फर्किन चाहन्छन्। ‘केही नेपाली नागरिक भएर यहाँ नै बस्न चाहन्छ। तर, नेपाली नै किन शरणार्थी हुन खोजे ?’ ‘नक्कलीलाई शरणार्थी बनाएर पठाउनेलाई राष्ट्र र राष्ट्रियता भन्ने कुरा थाहा छैन र, ती कुरा हामीलाई सोध्नुहोस्,’ उनले भनिन्, ‘देशको माया कति लाग्छ यहाँ बस्ने हामीलाई राम्ररी थाहा छ, आफ्नो देश सुरक्षित हुँदाहुँदै लाखौं रकम खर्च गरेर शरणार्थी बनेर अर्काको देश किन जानुपर्यो उहाँहरूलाई ?’ शिविरमा शरणार्थी वास्तविक शरणार्थी भएर बसिरहेका छन्। ‘पैसा हुने र पावर लगाउन सक्नेहरू तेस्रो मुलुकमा शरणार्थी भएर पुगेका छन्। आफ्नो यत्रो सम्पत्ति हुँदा पनि मान्छेलाई लोभले नक्कली शरणार्थी बनाउँदो रहेछ,’ ८२ वर्षीया भुटानी शरणार्थी सनमाया गुरुङले भनिन्, ‘हामी साँच्चैका शरणार्थी चाहिँ खोलाको बगरमा तात्तातो घाममा दुःख गर्नु परेको छ। हुनेखानेलाई चाहिँ शरणार्थी हुनुपर्ने रे, हे भगवान् कुरा सुन्दा पनि अचम्मै लागेर आउँछ।’ nullदमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थी। त्यस्तै बेलडाँगी ३ बी २ का भुटानी शरणार्थी मंगलध्वज सुब्बाले आफ्नो जग्गा जमिन बेचेर नक्कली शरणार्थीको ‘बिल्ला’ भिर्ने काम जसले गरे पनि यो अमानवीय काम भएको बताउँछन्। ‘यहाँका वास्तविक वास्तविक शरणार्थीलाई चाहिँ लैजान नसकेर पारिवारिक बिछोड गराउने अनि नक्कलीलाई चाहिँ शरणार्थीको भेषमा विदेश पठाउने कुरा मिडियामा सुन्दा रिस उठेर आउँछ,’ उनले आक्रोश पोखे। ऊ बेला आन्दोलनकारीको बिल्ला भिराएर भुटानबाट नेपालतर्फ भाग्नु परेको ती क्षणहरू सम्झँदै बेलडाँगी शिविर २ सी ४ हट नम्बर ३९६ मा बसेका दुर्योधन गुरुङले भने, ‘छोराछोरी, आफन्तजन सबै तेस्रो मुलुक पुगिसके। आफू त स्वदेश (भुटान) फर्किनलाई यहाँ बसेको हुँ। अहिले नक्कली भुटानी शरणार्थी घटनामा मुछिएका नेताहरूको कारण घरको न घाट हुने अवस्था भो।’ शरणार्थी शिविरमा अहिले वृद्धवृद्धा, अपांगता भएका तथा कमाएर खान नसक्नेहरू बसेका छन्। तेस्रो मुलुक पुनस्र्थापनाको कार्यक्रम स्थगित छ। कतिपयका छोराछोरी अमेरिकालगायत अन्य मुलुक पुगिसके पनि बाबु–आमा शिविरमा उनीहरूलाई सम्झिएर बस्न बाध्य छन्। परिवार विखण्डित बनेको छ। कतिपयका श्रीमती र केही सन्तान भने भुटानमै पनि छन्। सन् २००६ देखि २०१६ सम्म चलेको पुनर्वास कार्यक्रममार्फत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत, नेदरल्यान्डसलगायतका देशमा १ लाख १३ हजार ५ सय शरणार्थी बसोबासमा गइसकेका छन्। त्यसैगरी भुटान फर्कन चाहनेहरूको मागलाई सरकारले सम्बोधन नगरेको र भुटान सरकारसँग वार्तासमेत नगरेको उनीहरूको गुनासो छ। ‘सरकारमा भएकाहरूले त नक्कलीलाई भुटानी शरणार्थी बनाएर पठाउने योजना बनाइरहेकोले कहाँबाट हाम्रो माग सम्बोधन गर्छन् भन्ने कुरा अहिले पो बुझियो त,’ बेलडाँगी शिविरको बेलडाँगी ३ बी २ हट नम्बर २५२ का पदमबहादुर तामाङले भने। तामाङको परिवार भुटानमै छ। उनलाई अहिले पनि भुटान फर्कने पाए हुन्थ्यो भन्ने नै लाग्छ।
दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर सी ४ घर नम्बर ८५ का ५५ वर्षीय मधुलाल चापागाईं शरणार्थी शिविरमा आएको ३० वर्ष भयो। चापागाईंले शरणार्थीको परिचयपत्र प्राप्तिका लागि सन् २००७ मा १२ जनाको परिवारसँगै फोटो खिचाए। ११ जनाले परिचयपत्र प्राप्त गरे र तेस्रो मुलुक पुगे। तर, छानबिनमा रहेको भन्दै चापागाईंले अझै पनि शरणार्थीको परिचय पाउन सकेको छैन। मधुलालजस्तै शिविरमा कतिपय शरणार्थीहरूको परिचयपत्र अझै बनेको छैन। परिचयपत्रविहीन भएर उनीहरू शिविरभित्रै कष्टकर जीवन बिताउन बाध्य छन्। परिचयपत्र प्राप्तिका लागि हामीले बराबर सरकारसँग हारगुहार गर्र्यौं। ‘तर, आजसम्म हाम्रो मागको सुनुवाइ कहीँ कतैबाट भएन, शिविरमै बस्न बाध्य भयौं,’ चापागाईंले भने, ‘व्यक्तिले एक्लै निवेदन लिएर जाँदा सम्बन्धित निकायले एक्लैको हुँदैन भनी फर्काई पठाउँछ,’ उनले भने, ‘समूह बनाएर जाँदा पनि परिचयपत्र पाएनौं।’ परिचयपत्र प्राप्तिका लागि गरिएको दर्ता नम्बरसहितको पत्र अझै पनि उनीसँग सुरक्षित छ। nullबेलडाँगीका मधुलाल चापागाईंले परिचयपत्रका आवेदन भरेको दर्ता पत्र देखाउँदै। भुटानले नेपालमा अब भुटानी छैनन् भनेर गरिरहेको दाबीलाई हालै बाहिरिएको नक्कली शरणार्थी भ्रष्टाचारको प्रकरणले सक्कली शरणार्थी थप समस्या परेको देखिन्छ। शिविर सेक्टर सी ३ घर नम्बर ३६९ ए का विजय सुनारको परिवार पनि विदेशी पुगिसकेका छन्। २००७ सालमा परिचयपत्रका आवेदन भरेका उनले अझै परिचयपत्र पाउन नसकेको गुनासो पोखे। परिचयपत्र नपाउँदा वर्षौंदेखि पीडित रहेको बताउँदै उनले भने, ‘भोलि कही कतै भइहाल्यो भने हाम्रो परिचयको कुनै आधार प्रमाण नै छैन कि शरणार्थी हुँ भनेर र।’ खडानन्द भण्डारी २००८ सालदेखि शिविरमा बस्दै आएका छन्। उनका बुबा र आमाको शिविरमै निधन भयो। तर, उनी अझै पनि तेस्रो मुलुक जान पाएनन्। परिचयपत्र नबन्दा उनी निराशा छन्। ‘काम गर्न बाहिर जान पाइँदैन। काँकडभिट्टा बोर्डर कटेर भारत छिर्ने आदेश पनि छैन,’ उनले भने, ‘अब शिविर नै एक मात्र सहारा बन्यो। यही मर्नुबाहेक अन्य विकल्प रहेन।’ परिवारका सदस्य विदेश पुगिसके। ढिलो चाँडो विदेश गइन्छ कि भनेर मन थामेर बसेको उनी सुनाउँछन्। नक्कली शरणार्थी प्रकरणको घटना सुन्दा त्यहाँ बसेकाहरूको अब के होला भनेर चिन्तित बनेको उनको भनाइ छ। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाही गर्दै सक्कली भुटानीहरूको समस्या समाधानमा सहयोग गर्न सरकार समक्ष चारबुँदे माग अघि सारेका छन्। स्वदेश फिर्ती र परिवारको मिलनको आशामा जीवन बिताइरहेका साढे ६ हजार भुटानी शरणार्थीहरू र सक्कली तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राख्दै शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र पाएका छैनन्। नवीकरण भएको परिचयपत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाटी भुटानीहरू परिचयपत्रविहीन हुने अवस्था सिर्जना भएको छ। सम्बन्धित निकायको यस्तो कार्यले गैरभुटानीलाई भुटानी र खाँटीलाई भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको छ। तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचयपत्र अविलम्ब वितरण गर्न विज्ञप्तिमा माग गरिएको छ। सोमबार समितिका कार्यवाहक अध्यक्ष तिलक राईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालै नक्कली भुटानी बनाएर तेस्रो मुलुक लैजान ठूलो धनराशिको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकाको आरोपलाई पुष्टि हुने गरी सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले हामी खाँटी भुटानीहरूलाई गम्भीर असर पुर्याएको छ। यस कार्यप्रति हाम्रो संगठन घोर भत्र्सना गर्छ।’