आज पनि पूर्वगृहमन्त्री खाँणको बयान लिइने
रासंसा/काठमाण्डौ, ज्येष्ठ २,
मुलुकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ। खाँणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको थियो। सोमबार आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान रोकिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने भने, “बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकियो।’ यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो। उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ। आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो। आइतबार पक्राउ परेका रायमाझीको हकमा भने तीन दिनको म्याद थप भएको छ। शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए। यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो। त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए। त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो। पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन्। तर उक्त घटनाका आरोपीहरू १० महिनापछि गत चैतमा मात्रै पक्राउ परेपछि उनीहरुको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन्। अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ। शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरोप लगाएका छन्। उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ। उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दावी गरेको छ। लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए। गत जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए।