१० एजेण्डामाथि केन्द्रीय कमिटी बैठक आजबाट छलफल हुने
रासंसा/काठमाण्डौ, बैशाख २८,
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुने एमाले प्रचारविभाग प्रमुख विष्णु रिजालले जानकारी दिए। एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ। एमाले केन्द्रीय कमिटी बैठकमा छलफल हुने १० वटा एजेण्डा सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’अभियानको समीक्षा, पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन, अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टीका विभिन्न आयोग र प्रदेशको प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, समसामयिक राजनीति लगायतका विषयमाथि छलफल हुनेछ। यता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको छ। पार्टीका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्,’केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो। केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ। ‘ बैठकमा यस विषयमा पनि छलफल हुनेछ। एमालेले यस अगाडि झापामा बैठक राख्ने तयारी गरेपछि बजेट अधिवेशन आह्वान भएकाले पुन : पार्टी कार्यालयमा नै गर्ने निर्णय गरेको हो।
