नक्कली शरणार्थी प्रकरण छानबिन नगर्न कसले दबाब दियो ?, प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न
रासंसा/काठमाण्डौ, बैशाख २४,
मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई कसले छानबिन नगर्न दबाब दियो भनेर प्रश्न गरेका छन्। आइतबार संसदीय दलको बैठकबाट ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’छानविन नगर्न कसले दबाब दिएको हो भन्दै प्रश्न गरेका हुन्। ओलीले एमालेका सांसदहरुले यस अगाडि देखि नै नक्कली शरणार्थी प्रकरणबारे संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको बताए। ‘यस कुरामा हामीले सरकारलाई सचेत गराइरहेका छौं। हामीले सरकारको ध्यानाकर्षण गराइरहेका छौं।’ उनले थपे,‘म झुक्दिनँ, दबाबमा पर्दिनँ। कसले दबाब दियो ? मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने ? म निस्किएपछि कसैको दबाबमा पर्दिनँ म, अनि फुँइ के लगाएको ? कसैको दबाबमा पर्दिनँ, म झुक्दिनँ, म पछि हट्दिनँ। म प्रचण्डजीलाई भन्न चाहन्छु पछि हट्नुस कसले भन्यो ? झुक्नुस् कसले भन्यो, कसले दबाब दियो ? मैले उहाँलाई के कसैको बारेमा कसलाई बचाइदिनुस्, छानबीन नगर्नदिनुस्, कारबाही नगर्नुस् भनेँ ? मैले त भनेको छु कडाई साथ छानबीन गर्नुस्, कारवाही गर्नुस्।’ शनिबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भइरहेको छानबिन कसैको दबाबमा नरोकिने अभिव्यक्ति दिएपछि ओलीले यस्तो बताएका हुन्। ओलीले यस प्रसंगमा एमालेका विरुद्ध क्यानपियन लान खोजिदैछ त्यो दुष्प्रयास कसैले नगर्न आग्रह गरेका छन्। ओलीले आफूले कुरा उठाएपछि प्रचण्डले भर्खर मैले कुरा बुझ्दैछु भनेको जानकारी दिए।