सत्तालाई अभीष्ट ठान्दा कांग्रेसको संगठन नै ठप्प

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १५,

मुलुकमा पार्टी नेतृत्वले सत्तालाई मात्रै केन्द्रमा राख्दा देशभर साढे आठ लाख क्रियाशील सदस्य रहेको देशकै पुरानो पार्टी कांग्रेसको सांगठनिक जीवन क्रमशः क्षयीकरणतर्फ गइरहेको छ । कांग्रेसको क्रियाशील सदस्यता संख्या मात्रै नभएर संरचनागत बनोट पनि फराकिलो छ तर यसलाई गतिशील बनाउने काम नेतृत्वबाटै नभएपछि सांगठनिक गतिविधि ठप्पप्रायः छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आमकांग्रेसजनको आशा र भरोसा तर उनीहरू पनि पार्टीभित्रै प्रतिरक्षात्मक छन् । ०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि पार्टी पंक्तिमा छाएको उत्साह छोटो समयमै शिथिल बन्न पुगेको छ । थापा र शर्माको भूमिकालाई लिएर अहिले पार्टीभित्रै प्रश्न उठिरहेको छ । कांग्रेसले बुथ केन्द्रदेखि केन्द्रीय कार्यसमितिसम्म आठवटा तहगत संरचना निर्माण गरेको छ । १३ वटा भ्रातृ संस्था, १८ वटा शुभेच्छुक संस्था र ३५ देशमा जनसम्पर्क समिति छन् । पार्टीलाई गतिशील बनाउने यी संरचना ‘प्यारालाइज्ड’ छन् । सत्ता हातमा हुँदा पनि कांग्रेसले आशा जगाउन सकेको छैन । सत्ता र पार्टी प्रणाली कब्जा गरेर बसेको नेतृत्वको कार्यशैलीप्रति आमअसन्तुष्टि बढ्दा कांग्रेसले भुइँमान्छेको विश्वास गुमाउँदै गएको छ । यसको पछिल्लो उदाहरण हो– तनहुँ–१ को उपनिर्वाचन । २०७२ फागुनदेखि कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा छन् । उनी ०५२ मै प्रधानमन्त्री बनिसकेका थिए । त्यसयता पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका छन् । ४९ वर्षको उमेरमै पहिलोपल्ट प्रधानमन्त्री बन्न सफल तिनै देउवा अहिले ८० वर्षको उमेरमा पनि पार्टीको सभापति र छैटौं पटक प्रधानमन्त्री बन्न पर्खाइमा छन् । पाँचपटकसम्म प्रधानमन्त्री हुँदा गर्न नसकेको काम उनले छैटौं पटक प्रधानमन्त्री भएर गर्लान् भन्ने जनविश्वास छैन । बरु देउवाको सत्तामोहले कांग्रेसप्रतिकै आकर्षण घटाएको बुझाइ अधिकांश कांग्रेसी नेताको छ । चितवन–२ र बारा–२ मा कांग्रेसले गत मंसिर ४ मा जित निकाल्न सकेको थिएन । तनहुँ–१ मा भने ५ हजारभन्दा बढी मतान्तरले जितेको थियो । पुरानो सांगठनिक पकड रहेको यो क्षेत्र कांग्रेसले पाँच महिनाको छोटो समयमै गुमाएको छ । कांग्रेसका एक नेताका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिट बढी जित्नेभन्दा पनि तनहुँको हारले राष्ट्रव्यापी रूपमा कांग्रेसलाई पुर्‍याउने क्षति ठूलो हुन सक्छ । यस्तो परिणाम आउनुका पछि सत्ता र पार्टी प्रणालीलाई आफ्नो कब्जामा लिएर बस्ने पुरानो पुस्ताप्रतिको विकर्षण र उनीहरूको शासन–प्रशासनको शैलीलाई लिएर उत्पन्न जनआक्रोश मुख्य भएको कांग्रेसका एक नेताले भने । पार्टीलाई देउवाले सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएका छन् । चार वर्षमा हुनुपर्ने केन्द्रीय महाधिवेशन साढे पाँच वर्षपछि गराएर ०७८ मंसिरदेखि उनी दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । उनले पहिलो कार्यकालमा पनि पार्टीका कामलाई प्राथमिकतामा राखेका थिएनन् । सभापति भएदेखि नै सत्तामा कसरी पुग्ने र पुगिसकेपछि कसरी टिक्ने भन्नेमै समय बिताइदिए । पार्टीका विभागले पूर्णता पाएनन् । भ्रातृ संस्थालाई तदर्थमै छाडिदिए । ‘शेरबहादुरजी पार्टी बनाउन भनेर सभापति हुनुभएकै होइन, प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टीको सभापति चाहिएको हो,’ कांग्रेसका एक शीर्ष नेता भन्छन्, ‘सत्ताले सबै निर्माण गर्छ । पार्टी अघि बढ्न पनि सत्ता चाहिन्छ भन्ने मान्यतामा उहाँ हुनुहुन्छ ।’ अघिल्लो कार्यकालमा लथालिंग छाडेका काम दोस्रो कार्यकालमा पनि गर्ने सुरसार देउवाले देखाएका छैनन् । विधानअनुसार ६ महिनाभित्र गरिसक्नुपर्ने काममा डेढ वर्ष बित्दा पनि हात हालेका छैनन् । केन्द्रीय कार्यसमितिमा एक दर्जन सदस्य मनोनयन गर्न बाँकी छ । संगठन, प्रचारप्रसारलगायत २८ वटै विभाग रिक्त छन् । पार्टीको आय र व्ययको सम्पूर्ण हिसाबकिताब राख्नुपर्ने कोषाध्यक्ष पद खाली छ । विधानअनुसार यी सबै काम महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ । तर, देउवा ती सबै कामलाई थाँती राखेर मंसिरको निर्वाचन सम्पन्न भएदेखि नै सत्ताकेन्द्रित गतिविधिमा सीमित छन् । अहिले पनि उनको ध्यान कसरी चाँडै सत्ता हात पार्ने भन्नेमै रहेको देखिन्छ । वैचारिक रूपमा पनि पार्टी कमजोर बनेको छ । १४ औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरिएको थियो । नीति अधिवेशन छुट्टै गर्ने भनेर वैचारिक बहस रोकियो तर अहिलेसम्म नीति अधिवेशन गर्ने छाँट छैन । संगठनलगायत २८ वटा विभाग खाली छन् । केन्द्रीय कार्यसमिति र अन्य समितिको पूर्णता, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन वा तदर्थ समिति बनाउने र पूर्णता दिने अधिकार पनि सभापतिमै निर्भर छ । सबैभन्दा बढी चलायमान हुने नेविसंघमा अहिले दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ अध्यक्ष छन् । अध्यक्ष भएको एक वर्षसम्म पनि पदाधिकारी र सदस्य चयन गर्न सकेका छैनन् । भ्रातृ संस्थाका पदाधिकारी र सदस्य मनोनयन गर्नसमेत केन्द्रीय सभापतिमै निर्भर रहनुपर्ने अवस्था छ । अधिवेशन नगराएकाले सबै भ्रातृ संस्था तदर्थमा चलेका छन् । किसान संघलगायत केही भ्रातृ संस्थाको अधिवेशन नभएको दस वर्षभन्दा बढी बितिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आमकांग्रेसीजनले आशा र भरोसा राखेका थिए । थापा र शर्माका कारण पार्टी सञ्चालनमा परम्परागत शैली र व्यवहार तोडिने अनुमान थियो । अहिले उनीहरू पार्टीभित्रै प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । सभापति देउवाको कार्यशैलीमा उनीहरूले हस्तक्षेप गर्न सकेका छैनन् । पार्टी विधानले कांग्रेसको केन्द्रीय कार्यालय नै महामन्त्रीमातहत हुने व्यवस्था गरेको छ । पार्टीको संगठन, संरचनालाई क्रियाशील बनाउने जिम्मेवारी पनि महामन्त्रीकै काँधमा छ तर पार्टीका गतिविधि किन ठप्प छन् त ? महामन्त्री शर्मा विधानले महामन्त्रीलाई पार्टीको ‘हेड’ माने पनि संगठनका संरचना र भ्रातृ संस्थालाई पूर्णता दिने अधिकार सभापतिलाई दिएको र सभापतिले संरचनालाई पूर्णता नदिँदा पार्टी गतिशील हुन नसकेको स्विकार्छन् । ‘पार्टीलाई भाइब्रेन्ट बनाउनेमध्येको एउटा प्रचार विभाग हो, जसको गठन अधिकार विधानले सभापतिलाई दिएको छ,’ शर्मा थप्छन्, ‘क्यानभास नै नभई कसरी चित्र बनाउन सकिन्छ ?’ पछिल्लो समय केन्द्रीय कार्यसमिति नै निकम्माजस्तो बनेको छ । विधानले प्रत्येक दुई महिनामा एक पटक बैठक बस्नुपर्ने व्यवस्था गरे पनि नेतृत्वको अनिच्छाका कारण बैठक बस्न सकिरहेको छैन । १४ औं महाधिवेशनदेखि अहिलेसम्म तीन पटक केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । दुई पटक पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गराउने औपचारिकताका लागि बसेको थियो भने एक पटक मात्रै केन्द्रीय सदस्यहरूले बोल्ने अवसर पाएका थिए । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा गर्न तीन पटकसम्म बैठक बोलाइयो तर सत्ता समीकरणकै दाउपेचको स्वार्थले सर्दै अहिले अनिश्चित बन्न पुग्यो । केन्द्रीय सदस्य श्याम घिमिरे कांग्रेसकै वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएकाले पार्टीभित्र आमूल परिवर्तन नगर्ने हो भने २०८४ को निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउँछन् । पार्टीका नीति, संरचना, कार्यक्रम र काम गर्ने शैलीमै आमूल परिवर्तनको आवश्यकता रहेको उनको भनाइ छ । अर्का महामन्त्री गगन थापा आफूहरूले जनअपेक्षाअनुरूप काम गर्न नसकेको स्वीकार गर्छन् । लामो समयदेखि पार्टीभित्र रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको अभियानमा निरन्तर लाग्दै आए पनि आमचाहनाअनुरूप अपेक्षित परिणाम दिन नसकिएको उनले बताए । ‘प्रयत्न गरे पनि परिणाम नदेखिएकाले आगामी दिनमा थप सार्थक प्रयत्न गरेर परिणाममुखी भूमिका निर्वाह गर्न नेपाली जनता र पार्टीका साथीहरूले दिएको सुझावलाई मैले गम्भीरतापूर्वक लिएको छु,’ आमअपेक्षाअनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ, कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु । साथीहरूको खबरदारीले मलाई सदाझैं ठूलो ऊर्जा, प्रेरणा र आत्मबल दिएको छु ।’ पछिल्लो पटक निर्वाचनमा गठबन्धनको संस्कृति अघि बढाउँदा पनि पार्टी संगठन कमजोर भएको ठम्याइ कतिपय कांग्रेसी नेताहरूमा छ । भूगोल र क्षेत्रअनुसार फरक–फरक दलसँगको गठबन्धनले पार्टीको वैचारिक धरातल कमजोर भएको र कांग्रेसको शक्ति खुम्चेको केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् । गठबन्धनका कारण परम्परागत भोट बैंक भत्किएको उनको निष्कर्ष छ । ‘पार्टीलाई रूपान्तरण गर्ने हो भने चुनावअघिको गठबन्धनमा अब जानु हुँदैन । तनहुँको निर्वाचनले परीक्षण नभएको नयाँ अनुहारलाई जनताले मन पराएको सन्देश दिएका छन् । पार्टी महाधिवेशनमा होस् वा संसदीय निर्वाचनमा, अब युवामात्रै भनेर हुन्न, फ्रेस अनुहारलाई पनि पार्टीले प्राथमिकतामा राख्नुपर्ने देखियो,’ उनले भने, ‘आमनागरिकले पार्टी र सरकारको शासन–प्रशासनमा परिवर्तनको माग उठाएका छन् ।’ ‘सबै कुरा सत्ताले निर्माण गर्ने भए तनहुँमा कांग्रेसले चुनाव जित्नुपर्ने थियो किनकि त्यहाँ राज्यसत्ता नै उत्रिएको थियो । मन्त्री बाँडिएको थियो । तर, आमजनता त्यसबाट लोभिएनन् । परिवर्तनको एजेन्डा भनेकै आधारमा रास्वपाका उम्मेदवारलाई मन पराए,’ कांग्रेसका अर्का एक नेता भन्छन्, ‘पार्टीको संगठनले सत्ता बनाउने हो । सत्तामा पुगेपछि समाज र देश बनाउन सकियो भने स्वतः पार्टी बन्छ । पार्टी नेतृत्वको कार्यशैलीलाई परिवर्तन गर्न महामन्त्रीले पनि हस्तक्षेप गर्न सकेनन् । निरीह भए तर फेरि पनि कांग्रेसमा सम्भावना र आशा कसैप्रति छ भने यिनै दुई महामन्त्रीप्रति छ ।’ पार्टी पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्न प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बोलाउने विधानमा प्रावधान छ । तर, त्यसको समेत बेवास्ता गर्दै अहिले त केन्द्रीय कार्यसमितिको हैसियत नै समाप्त पारिएको महर बताउँछन् । कतिपय नेताहरू महामन्त्री शर्मा र थापाले चाहेअनुसार पार्टीलाई अघि बढाउन नसक्नुमा पुस्तान्तरणको समस्या पनि कारण रहेको बताउँछन् । शर्माभन्दा २७ वर्ष र थापाभन्दा ३५ वर्ष जेठा देउवामा हिजो जसरी चलेको छ, आज पनि त्यसैगरी चल्छ भन्ने परम्परागत शैली छ । त्यसलाई चिरेर महामन्त्रीहरू पनि अघि बढ्न सकेका छैनन् । ‘अहिले पार्टीलाई पुस्तान्तरणभन्दा पनि रूपान्तरण चाहिएको छ । तनहुँमा चुनाव जित्नुपर्दथ्यो, जितिएन । पंक्तिलाई प्रशिक्षण दिने, नयाँ पुस्तासँगको संवाद गर्ने, पार्टीले सुरु गरेको डिजिटाइलासेनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने काम तत्काल थाल्नुपर्छ । यसबाट मात्रै पार्टी रूपान्तरण हुन्छ ।’ एउटा उपनिर्वाचन नजित्दा सबै कुरा सकिन्छ भन्ने सोच पनि राख्न हुन्न । तर, काम गर्ने र संगठन परिचालन गर्ने कुरामा भने रूपान्तरण हुनु जरुरी छ,’ शर्मा भन्छन्, ‘पार्टी संरचनालाई पूर्णता दिने, टिकट वितरणमा नयाँ शैली अपनाउने, नीति तथा कार्यक्रमका साथ राष्ट्रिय जागरणको अभियान लिएर जनतामाझ जाने, संसद्मा संगठित भएर प्रभावकारी भूमिका निर्वाह गर्ने, स्थानीय तहमा कांग्रेसका प्रमुख, उपप्रमुखका कामको मूल्यांकन गर्ने, पार्टी

Like