उपेन्द्र यादवको दोस्रो परिक्षा तर सफल प्रयास
रासंसा/बारा, बैशाख १३,
मुलुकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनबाट संघीय संसद भवन प्रवेश गर्ने भएका छन् । बारा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनबाट यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सप्तरीमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित भएका यादवलाई बारामा पनि सोही पार्टीले चुनौती दिएको थियो । यादवले बारा २ बाट उपनिर्वाचन लड्ने निश्चित भएपछि डा. राउतले नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै उम्मेदवार बनाएका थिए । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा यादवले पाँच हजार ८१ मतको मतान्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गरेका छन् । यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्दा कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । कुशवाहा मंसिर ४ मा सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए । उक्त निर्वाचनमा कुशवाहा जसपाका उम्मेदवार रामसहाय यादवसँग तीन सय ५४ मतले पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भएको हो । सप्तरीमा गठबन्धनको उम्मेदवार रहेकै बेला डा. राउतसँग १८ हजार ६३ मतको फराकिलो मतान्तरले पराजित भएका यादवले दोस्रो प्रयासमा जित निकाल्न सम्पूर्ण शक्ति परिचालन गरेका थिए । यादवको चुनावी अभियानमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसहित अन्य मन्त्रीहरु सक्रिय रुपमा परिचालित देखिए । मुख्यमन्त्री यादवको कलैयास्थित घरबाटै यादवको चुनावी अभियान सञ्चालन भएको थियो । संसदीय दलका नेता समेत रहेका यादवलाई उपराष्ट्रपति बनाएर बारा २ खाली गराएका अध्यक्ष यादव आफैँ उम्मेदवार बनेर आएका हुन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर बारा आएका यादवसामु जनमतनै प्रतिस्पर्धी बन्न पुग्यो । यादवले सम्पूर्ण शक्ति परिचालन गरिरहँदा जनमतका अध्यक्ष डा. राउत आफैँले कुशवाहाको चुनावी अभियानको कमाण्ड सम्हालेका थिए । उम्मेदवारी मनोनयनसंगै बाराको महागढीमाई नगरपालिकालाई मुकाम बनाएर डा. राउत आफै मतदातामाझ पुगिरहेका थिए । पाँच दलीय गठबन्धनको उम्मेदवार, जसपाको पकड क्षेत्र र जातिय भोटका कारण बलियो देखिए पनि यादवको जित सहज रहन सकेन । जनमतका राउतको उपस्थितीले यादवको चुनावी अभियान कठिन बनेको थियो । राउतको उपस्थितीले जसपा अध्यक्ष यादवमाथी दवाव बढेको थियो । चुनावी प्रचारका क्रममा दुई मधेसवादी दलका शिर्षस्थ नेता एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा समेत उत्रिएका थिए । यादवले आफ्नो प्रतिस्पर्धी नै नभएको बताईरहदा जनमतका राउतले सप्तरीमा पराजित ब्यक्तिले बारामा जित्ने आधार नरहेको बताएका थिए । दुवै नेताले आफ्नो पार्टीको जित हुने दावी गरेका थिए । उक्त क्षेत्रमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनमतले प्रत्यक्षतर्फ दुई हजार सात सय २५ र समानुपातिकतर्फ आठ हजार आठ सय ४६ मत पाएको थियो । एमालेसंगको तालमेलमा उम्मेदवार बनेका हालका उपराष्ट्रपति यादवले प्रत्यक्षतर्फ १३ हजार आठ सय २२ मत प्राप्त गर्दा समानुपातिकतर्फ जसपाले १३ हजार दुई सय ४२ मत पाएको थियो । डा. राउतको उपस्थितिले चुनावमा दवाव महसुस गरेका यादव अन्ततः दोस्रो प्रयासमा जित निकाल्न सफल भए । निर्वाचित भएको प्रमाणपत्र लिदै यादवले आफूलाई जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । ‘ममाथि जिम्मेवारी थपिएको छऽ’ यादवले भने ‘यो जिम्मेवारीलाई मूर्तरुप दिन मैले भ्याएसम्म गर्नेछु ।’ पाँच महिना अघि सम्पन्न समानुपातिकको मतपरिणाम हर्ने हो भने जनमतभन्दा चार हजार तीन सय ५६ मतले मात्रै जसपा अगाडि देखिन्छ । गठबन्धनकै उम्मेदवार रहेका कुशवाहा अघिल्लो निर्वाचनमा पराजित भएका कारण यादव थप दबाबमा थिए । जनमतले मंसिरमा प्राप्त गरेको समानुपातिक मत र डा. राउतको उपस्थितीले यादवमाथि चुनौती थपिएको देखिन्थ्यो । राउतको उपस्थितिले जनमतका उम्मेदवार कुशवाहाको चुनावी अभियानले चर्चा पाएको थियो । दुई मधेसवादी दलबीच प्रतिस्पर्धा हुँदा नेकपा एमाले भने तेस्रो स्थानमा देखियो । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गरे । यता देशका अन्य दुई स्थानमा शानदार जित हात पारेको रास्वपाले बारामा भने जमानत समेत जोगाउन सकेन । रास्वपाका उम्मेदवार रमेश खरेललको जमानत जफत भएको हो ।
पौडेलले प्राप्त गरेको मत मंसिरमा समानुपातिकतर्फ एमालेले प्राप्त गरेको भन्दा एक हजार एक तीन मत बढी हो । मंसिर ४ गते भएको निर्वाचनमा एमालेले ९ हजार एक सय १३ मत पाएको थियो । खरेलले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न सकेनन् । निर्वाचनमा खरेलले दुई हजार आठ सय २९ मत प्राप्त गरेका थिए । उक्त मत कुल सदर मतको ४.१५ प्रतिशत हो । खरेलसंगै बारामा उम्मेदवारी दिएका अन्य ३० उम्मेदवारको पनि जमानत जफत भएको छ । बारा २ मा १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचनमा खसेको कुल ६९ हजार २२ मतमध्ये ६८ हजार एक सय ९२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।