अदालतमा ट्रम्पद्वारा आत्मसमर्पण

Share to:

एजेन्सी,

विश्वमा आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन्। सन् २०१६ को राष्ट्रपति चुनावअघि स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठुलो रकम दिएर चुप राखेको विषयको अनुसन्धानपछि लगाइएको अभियोगमा ट्रम्प अदालतमा हाजिर भएका हुन्। पोर्न स्टार ड्यान्यल्सलाई चुप राख्न ट्रम्पले त्यतिबेला आफ्ना निजी वकिलमार्फत एक लाख ३० हजार डलर दिएको आरोप छ। यसैगरी पोर्न स्टारलाई रकम दिएकोबाहेक उनीविरुद्ध अन्य अभियोग पनि लगाइएको छ। अदालतमा उपस्थित भएपछि उनीविरुद्ध लागेको आपराधिक अभियोगका बारेमा जानकारी गराइएको थियो। उक्त अदालतले ट्रम्पविरुद्ध मुद्दाको सुनुवाइ गर्नेछ। मुद्दाका लागि न्यायाधीश छनोट भइसकेपछि यो प्रक्रिया सुुरु हुने र अभियोगका अन्य विवरण पनि जानकारी हुने अपेक्षा गरिएको छ। उच्च सुरक्षा घेराबीच मंगलबार अपरान्ह न्युयोर्क सिटी अदालतमा ट्रम्प हाजिर भएका थिए। यसअघि अमेरिकी संसद्ले ट्रम्पविरुद्ध दुई पटक महाभियोगको प्रस्ताव ल्याए पनि पारित हुन सकेको थिएन। गत साता अदालतले अभियोगपत्र दर्ता गरेर मुद्दा अगाडि बढाउने निर्णय गरेसँगै ट्रम्प अमेरिकी इतिहासमा आपराधिक अभियोगमा मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति बनेका छन्। अदालतमा हाजिर हुन ७६ वर्षीय पूर्वराष्ट्रपति फ्लोरिडाबाट सोमबार न्युयोर्क पुगेका थिए।

Like