उपनिर्वाचन : प्रतिष्ठाको लडाइँ
रासंसा/बारा/चितवन/ तनहुँ, चैत्र २१,
मुलुकमा बारा २, चितवन २ र तनहुँ १ का उपनिर्वाचनमा दलहरूबीच प्रतिष्ठाको लडाइँ देखिएको छ। बारामा ३६, चितवनमा २४ र तनहुँमा ९ जनाले सोमबार मनोनयन दर्ता गरेका छन्। दलबाट उम्मेदवारी दिनेमा जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाहा, आम जनता पार्टीका अरुण ज्ञवालीलगायत छन्। यस्तै राप्रपाका सोनालाल साह तेली, नागरिक उन्मुक्तिका कमरुल्लाह अन्सारी, राप्रपा नेपालका मनिफ मिया अन्सारी, नेमकिपाका मुक्ति यादव, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेराजुल अन्सारी, मंगोल नेसनल अर्गनाइजेसनका प्रमोद राम चमार छन्। अरू २४ जना स्वतन्त्र उम्मेदवार छन्। यीमध्ये बढी कडा टक्कर बारामा हुने देखिन्छ। जहाँ यसअघि मंसिर ४ को निर्वाचनमा अन्य क्षेत्रमा पराजित नेताहरू पुगेका छन्। त्यहीँ पराजय बेहोरेका नेता पनि उपचुनावमा अघि सरेका छन्। यसअघि सप्तरी २ मा जनमतका डा. सिके राउतसँग पराजय बेहोरेका जसपा अध्यक्ष यादव अर्को ‘अवसर’ खोज्दै बारा पुगेका हुन्। आफ्नो पार्टीबाट बारा २ मा निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उनले ठाउँ रिक्त पारेका थिए। तर, यादवलाई रोक्ने दाबी गर्दै जनमतबाट कुशवाह अघि सरेका छन्। उनी यसअघि थोरै मतान्तरले पराजित भएका थिए। माओवादीबाट यसपटक टिकट नपाउने भएपछि जनमतमा प्रवेश गरेर उनी उपचुनावमा उठेका हुन्। रास्वपाका खरेल यसअघि काठमाडौं १ मा उठेका थिए। आम जनताका ज्ञवाली यसअघि पराजित अनुहार हुन्। त्यस बेला कांग्रेसबाट टिकटको आकांक्षी रहेका उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवार भने अधिकांश दलका ‘डमी’ रहेका जानकार बताउँछन्। निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सुविधा लिन दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन्। मंसिर ४ मा बारा २ मा ११ जना स्वतन्त्र उम्मेदवार थिए। उपचुनावका उम्मेदवारले कलैयास्थित जिसस भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्। ठूला दलबाट उम्मेदवारी दिएकामध्ये एमालेका पौडेल नयाँ अनुहारका देखिएका छन्। उनी २०७० मा बारा ६ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। यसअघि बारा १ मा उम्मेदवार आकांक्षी थिए। तर, अर्का पोलिटब्युरो सदस्य अच्युत मैनालीले टिकट पाएका थिए। उनी पूर्वयुवा तथा खेलकुदमन्त्रीसमेत हुन्। राप्रपाका तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन्। चितवन २ मा यसअघि निर्वाचित रवि लामिछानेको पद नागरिकता मुद्दामा गुमेपछि उपनिर्वाचन हुन लागेको हो। रास्वपा सभापति लामिछानेले यसपटक केही समस्या नभएको भन्दै उनले मत मागेका छन्। ‘म फेरि न्यायिक कठघरामा उभिन तयार छु। मेरो बारेमा कानुनी अल्झन छैन। अदालती प्रक्रियाबाट टुंगिएको छ,’ उनले भने, ‘मेरो शक्ति भनेको जनता मात्रै हुन्। त्यसैको आधारमा चुनावमा आएको छु।’ चुनावी सभा गर्दै नेताहरू कार्यकर्ताका साथमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मुख्य गरेर कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि साना दलको पनि सहभागिता रह्यो। कांग्रेसका जितनारायण श्रेष्ठ केन्द्रीय नेतासहित मनोनयन दर्ता गर्न पुगेका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन्। ‘मैले क्षमता र योग्यता भए पनि जागिर र विदेश छाडेर परिवर्तनका लागि होमिएको छु। यहीँको माटोमा पसिना बगाएर आएको छु। त्यसैले यो पटक जनताले मान्छे चिनेका छन्’, श्रेष्ठले भने, ‘चितवनलाई प्रयोगशाला मात्रै बनाइयो। यसपटक जनताले यही माटोमा भिजेको प्रतिनिधि छान्नेछन्।’ यसअघि तेस्रो स्थानमा आएको एमालेले जित्ने दाबी गरेको छ। जनताको सामिप्यता नै जित्ने आधार रहेको एमाले उम्मेदवारको भनाइ छ। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सोमबार उम्मेदवारी दर्ता गरे। एमालेका बागमती प्रदेश सचिव विजय सुवेदी प्रस्तावक र नेता कृष्णभक्त पोखरेल समर्थक छन्। सुवेदी स्थानीय निर्वाचनमा भरतपुर महानगर प्रमुखमा पराजित भएका थिए। ‘पहिलाजस्तो यसपटक हुँदैन। हामी माहोल राम्रो बनाएर चुनावमा होमिएका छौं’, न्यौपानेले भने, ‘पहिलाको अवस्थामा धेरै सुधार आएको छ। हाम्रो पार्टीका सदस्यहरू आफ्नो ठाउँमा छन्। हामी जित्छौं।’ गएको मंसिरमा चितवन ३ मा उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी फिर्ता भएको थियो। एमालेले कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गरेको थियो। राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ। सानादेखि ठूला दलसम्मका उम्मेदवारले उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गरे। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन्। यो क्षेत्रका लागि यी तिनै अनुहार नयाँ भए पनि उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। सांसद भनेको राष्ट्रिय मुद्दामा बहस गर्ने, समाधानका लागि नीति बनाएर लागू गर्ने पनि हो’, उनले भने, ‘अहिले भू–राजनीति, जलवायु परिवर्तन र आर्थिक संकटजस्ता चुनौती देशमा छन्। छोटो समयमा धेरै प्रगति गर्नु छ। त्यसैले हात बाँधेर र टोलाई राख्ने राजनीतिले देशलाई यथास्थितिमा बन्दी बनाएर राख्छ। त्यसलाई धक्का दिनुपर्छ।’ कांग्रेसछाडेर रास्वपाबाट उम्मेदवार बनेका अर्थविद् डा. वाग्लेले स्थानीय क्षेत्रको विकास र केन्द्रमा नीति नियम बनाउन आफ्नो भूमिका रहने बताए। तनहुँका जनताले आफूलाई सानदार मतसहित जिताउने दाबी उनले गरे। ‘स्थानीय मुद्दामा निर्वाचित जनप्रतिनिधिसँग छलफल र सहकार्य गरेर अगाडि बढ्नेछु। एमालेका उम्मेदवार पूर्वआईजीपी खनालले जनतामा हाँसो ल्याउने गरी काम गर्न आफूले उम्मेदवारी दिएको बताए। आफ्नो जित भएपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने प्रतिबद्धता उनले जनाए। ‘म नेपाली हुँ भनेर गर्व गर्न लायक वातावरण बनाउन प्रतिबद्ध छु। देशमा भइरहेको भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता जस्ता आम नागरिकले पाइरहेको दुःखबाट मुक्त गर्नका लागि मेरो यो कदम हो’, खनालले भने, ‘मैले तीन दशक राष्ट्र सेवकका रूपमा गरेको सेवा नै मप्रति जनताले गर्ने विश्वास हो।’ तनहुँमा ९ दलका उम्मेदवारले मनोनयन दर्ता गराए। कांग्रेस उम्मेदवार भट्टराईले आफ्नो उम्मेदवारी राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रूपमा रहेको बताए। पौडेलको विरासत धान्ने उनले बताए। ‘उहाँ (रामचन्द्र पौडेल) राजनीतिबाट रिटायर्ड हुनुभएको छ। उहाँको सिद्धान्त, निष्ठा, आदर्शको विरासत बोक्ने हकदार मै हुँ’, भट्टराईले भने, ‘विगतमा पार्टीबाट मन्त्री हुनुभएकाहरूले जति काम गर्नुभयो, सुरुवात भएको छ, पूरा गर्ने जिम्मेवारी मेरो हो। म विकासको उत्तराधिकारी हुँ। रामचन्द्र दाइको राजनीतिको पनि उत्तराधिकारी हुँ। समग्र विकासमा म लाग्नेछु।’