राहदानी दुरुपयोगको मुद्दा चलाउनुपर्ने भन्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकमा रास्वपा सभापति लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चलाउनुपर्ने भन्दै युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले लामिछानेले राहदानी दुरुपयोग गरे, नगरेको सम्बन्धमा न्यायिक परीक्षण हुनु आवश्यक रहेको उल्लेख गरे। यद्यपि सो रिट अदालतमा दर्ता भएको छैन। सफलले लामिछानेलाई राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयको खिलाफमा आफूले रिट दायर गरेको बताए। सफल भन्छन् ‘महान्यायाधिवक्ता कार्यालयले २०७९/१२/०६ गते राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनेर रवी लामिछानेलाई सफाइ दिने निर्णय गरेको थियो। त्यो निर्णयको खिलाफमा हामी सम्मानित सर्वोच्च अदालतमा आज म युवराज पौडेल सफलले रिट दायर गरेको अवस्था हो। न्यायिक निकायले नै दुरुपयोग गरेको, नगरेको भन्ने कुरा निर्णय गर्ने भएको हुँदा खेरी अहिलेसम्म प्रशासनिक निकायले मात्रै त्यो निर्णय गरेको र न्यायिक परीक्षण नभएको अवस्थाले हामी सर्वोच्च अदालतमा गएका हौँ। आज साढे १२ बजे रिट पेस गरेका थियौँ। अध्ययनको क्रममा छ। १, २ दिन भित्रमा त्यो दर्ता हुने भनेर सर्वोच्च अदालत प्रशासनले हामीलाई जानकारी दिएको छ। आशा छ यो रिट चाँडै दर्ता हुन्छ।’ उनले रिट अध्ययन पछि केही दिन भित्रमा दर्ता हुने जानकारी आफूलाई सर्वोच्च अदालत प्रशासनले दिएको बताए।