बेलारुसमा रुसले आणविक हतियार तैनाथ गर्ने, इस्कन्डर मिसाइल प्रणाली पठाउने
एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र बेलारुसमा रुसी रणनीतिक हतियार अर्थात् आणविक हतियार तैनाथ गर्ने बताएका छन् । युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले अमेरिकाले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको बताउँदै त्यसको तुलनामा आफ्नो यो कदमले निःशस्त्रीकरण सम्झौता उल्लङ्घन नहुने बताएका छन् । यद्यपि उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने पनि बताए । शनिवार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले रुसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए । उनले भने, ‘यसमा कुनै अचम्मको कुरा छैन । अमेरिकाले दशकौँदेखि यस्तो गर्दै आइरहेको छ । उसले आफ्नो सहयोगी देशको जमिनमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियार तैनाथ गरिरहेको छ ।’ राष्ट्रपति पुटिनले रुसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको बताए । पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाईको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् । सन् १९९० को दशकको मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो ।