राष्ट्रपतिको सांसदलाई चियापान
रासंसा/काठमाण्डौ, चैत्र ५,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्। राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक शितल निवासमा चियापानको आयोजना गरेका हुन्। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनादेखि संघीय तथा प्रदेश सांसदहरूको उपस्थिति थियो। मन्तव्यका क्रममा राष्ट्रपति पौडेलले सांसदहरूलाई अबका चुनौतीबारे पनि सुझाव दिएका छन्। जसमा अर्थतन्त्रमा देखिएका चुनौती, संक्रमणकालीन न्यायको अवस्था, जलवायु परिवर्तन लगायतका विषयमा चिन्ता व्यक्त गरे। यसबाहेक राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता देखेको बताएका छन्। राष्ट्रपति पौडेलले लिखित मन्तव्य सकिएपछि सांसदहरूले लाइन लागेरै पौडेल र उनकी पत्नी सवितालाई बधाई दिएका थिए। चियापान कार्यक्रममा राष्ट्रपति भण्डारीले आठ मिनेटको मन्तव्य दिएका थिए। जसमा उनले आफू कर्तव्यबाट विचलित नभई संविधानको दायराभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफू गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति सदैव सचेत रहेको बताउँदै उनले भने, ‘राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्य सम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु।’ राष्ट्रपति पौडेलले दिएको चियापानमा पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित थिएनन्।