अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

क्रिकेटको उचाइतिर नेपाल

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ३,

मुलुकमा नेपालले सन् २०२३ को क्रिकेट विश्वकपको ग्लोबल छनोटको यात्रा तय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लेविस–स्टर्न (डीएलएस) मेथडमा ९ रनले पराजित गर्दै नेपालले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटको यात्रा तय गरेको हो। यो सँगै आईसीसी विश्वकप क्रिकेट लिग–२ का पछिल्ला १२ मध्ये नेपालले ११ खेलमा जित निकालेको छ। घरेलु मैदानमा भएको लिग–२ को अन्तिम खेलमा नेपालले १५ हजारभन्दा बढी घरेलु समर्थकमाझ ऐतिहासिक जितको खुसी साटेको हो। ३ सय ११ रनको लक्ष्य पाएको नेपालले पूरा ५० ओभर खेल्नु परेन। मौसम खराबी र कम प्रकाशका कारण ४४ ओभरमै रोकिएको खेलमा नेपालले डीएल मेथडमा ९ रनको रोमाञ्चक जित निकालेको हो। बिहीबार मैदानमा उत्रिँदा यूएईसँग एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै बाँकी थियो भने नेपाललाई दुई अंक जोडेर सोझै आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्नुपर्ने दबाब थियो। नेपाल जितको सुरुवात टसदेखि नै गर्न चाहन्थ्यो। किनभने नेपालले कीर्तिपुरमै फागुनमा खेलेको शृंखला क्लिनस्वीप गर्दा सबै खेलमा टस जितेर लक्ष्य पछ्याएको थियो। तर, बिहीबार टस नेपालले जितेन। दोस्रो पालिमा ब्याटिङ गर्ने मौका पायो। बलिङमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। उत्कृष्ट ब्याटिङको नमुना प्रदर्शन गरेको यूएईले ६ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल तयार पारेको थियो। लिग–२ मा नेपालका सर्वाधिक विकेट लिएका सन्दीप लामिछाने सर्वाधिक महँगा बलर सावित हुँदा यूएईका आसिफ खानले ४१ बलमा एकदिवसीय अन्तर्राष्ट्रियकै चौथो छरितो शतक बनाएका थिए। अर्का ब्याटर वृत्य अरविन्द शतक बनाउन ६ रनले चुक्दा कप्तान मोहमद वासिमले ६३ रनको अर्धशतकीय पालि खेलेका थिए। नेपाली बलरलाई २१ छक्का प्रहार गरेको यूएईले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो। नेपालले ३ सय ११ रनको लक्ष्य पूरा गर्न यसअघिको २ सय ८७ रनको कीर्तिमान भंग गर्नुपर्ने चुनौती थियो। गत फागुन २ गते नेपालले नामिबियाविरुद्ध २ सय ८५ रनको लक्ष्य पूरा गर्दै कीर्तिमानी जित निकालेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिँदा अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। सन्दीपले १० ओभरमा एक विकेट लिन ८० रन खर्चिँदा ललित राजवंशीले १० ओभरमा २७ रन खर्चेर एक विकेट लिएका थिए। सोमपाल कामीले पनि ९ ओभरमा एक मेडनसहित १ विकेट लिँदा ७४ रन खर्चिनु पर्‍यो। नेपालका लागि ८ ओभर बलिङ गरेका गुलशन झा ६३ रन खर्चेर विकेटविहीन रहनुपर्‍यो। पहिलो ओभरमै ओपनर आसिफ शेख शून्य रनमै पेभेलियन फर्किँदा कुशल मल्ल पनि दोस्रो ओभरमै आउट भएका थिए। कीर्तिमान बनाउनुपर्ने चुनौतीसहित मैदानमा उत्रिएको नेपाली टोलीले ६ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। यद्यपि, भीम र आरिफ शेखले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्दै स्कोरबोर्ड चलायमान राखेका थिए। भीमले ७६ बलमा नौ चौकासहित ६७ रनको अर्धशतकीय पालि खेले। संयमित देखिएका आरिफले पनि ६२ बलमा मात्रै दुई चौकाको मद्दतमा ५२ रनको अर्धशतकीय पालि खेले। चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेल १६ रन बनाएर पेभेलियन फर्केपछि नेपाल अप्ठेरो अवस्थामा थियो। तर, ओपनर कुशल भुर्तेलले भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै पालि उकास्ने काम गरेका थिए। ३५ बलमा चार छक्का र तीन चौकासहित अर्धशतक बनाएका कुशल भुर्तेल आउट भएपछि नेपाल फेरि चिन्ताजनक अवस्थामा पुगेको थियो। गुलशन झाले ४८ बलमा दुई छक्का र चार चौकासहित अविजित ५० रन बनाए। दीपेन्द्र पनि १० रनमा अविजित रहे। त्यसपछि खराब प्रकाशका कारण खेल डीएल मेथडमा धकेलिएको थियो। नेपालले त्यसबेला डीएलमा २ सय ६७ को लक्ष्य पूरा गर्नुपर्ने थियो। तर, ४४ औं ओभरको समाप्तिसम्म नेपालले २ सय ६९ रन बनाइसकेको थियो। जसका कारण डीएल मेथड निर्णायक बन्दा नेपालले रोमाञ्चक र ऐतिहासिक जित निकाल्यो। गत डिसेम्बरमा नामिबिया भ्रमण सकेर स्वदेश फर्किँदा नेपाल २४ खेलमा मात्रै १८ अंक जोडेर तालिकाको छैटौं स्थानमा रुमलिएको थियो। नामिबिया भ्रमणमा खेलेका चारमध्ये तीन खेलमा पराजित र एक खेल नतिजाविहीन हुँदा नेपाल दयनीय अवस्थाबाट गुज्रिएको थियो। सोही अप्रत्याशित नतिजाका कारण तत्कालीन प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका थिए। नेपाली टोलीको प्रशिक्षक घोषित हुँदै गर्दा देसाईले ठूलो महत्वकांक्षा नराखी एक पटकमा एउटा खेललाई लक्षित गरेर अघि बढ्ने तर्क गरेका थिए। देसाई आउँदा नेपालको विश्वकपको ग्लोबल छनोट मात्रै होइन, एकदिवसीय मान्यता नै धरापमा थियो। तर, देसाईको नेतृत्वमा ‘नयाँ’ देखिएको नेपाली टोलीले १२ मध्ये ११ खेल जितेर सनसनी मच्चाउँदै शीर्ष तीनको यात्रा तय गर्‍यो। देसाईको नेतृत्वमा नेपालले पहिलो खेल फागुन २ गते खेलेको थियो। घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध २ सय ८५ रनको लक्ष्य पूरा गर्दै दुई विकेटको शानदार जित निकालेको थियो। प्रभाकरको राजीनामासँगै रिक्त पद भारतीय प्रशिक्षक मोन्टी देसाईले पूरा गरे। राष्ट्रिय टोलीको प्रशिक्षकको पद खाली हुनेबित्तिकै सदाबदार चर्चामा आउने नाम थियो, मोन्टी देसाई। यसपालि त्यो नाम चर्चामा मात्रै सीमित रहेन, उनले प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले। ‘ह्याप्पी ड्रेसिङ रुम’ नै मोन्टीको मूल मन्त्र थियो। उनले सुरुवाती दिनमै नेपालसँग यथेष्ट क्षमता भएको र त्यसको पहिचान गरेर उचित मार्गनिर्देशन मात्रै गर्नसके पर्याप्त हुने बताएका थिए। कीर्तिमानी लक्ष्य पूरा गरेर उच्च मनोबलसहित स्कटल्यान्डविरुद्ध मैदानमा उत्रिएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हरायो। तेस्रो खेलमा फेरि नामिबियाविरुद्ध तीन विकेटको जित निकालेको नेपालले अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध दुई विकेटको जितसँगै शृंखला क्लिनस्विप गर्‍यो। एकदिवसीय मान्यता जोगाएपछि विश्वकपको ग्लोबल छनोटतर्फ लम्किएको नेपालले ११औं खेलमा पीएनजीविरुद्ध ९ विकेट जितसँगै ग्लोबल छनोट पुग्न एक कदम मात्रै टाढा थियो। लिग–२ को अन्तिम खेलको जितले नेपाललाई जिम्बावेमा हुने विश्वकप छनोटको टिकट दिलाउन पर्याप्त भयो। त्यो शृंखलापछि यूएई भ्रमणमा निस्किएको नेपालले पाँचौं खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई चार विकेटले हराएको थियो। पाँचमध्ये पाँच खेलमा विजयी नेपाल छैटौं खेलमा यूएईसँग ६८ रनले पराजित भयो। तर, त्यसपछि तुरुन्तै लय समाएको नेपालले सातौं खेलमा पीएनजीलाई फेरि तीन विकेटले हरायो। आठौं खेलमा घरेलु टोली यूएईलाई ४२ रनले हराएको नेपालले एकदिवसीय मान्यता जोगाउने नजिक पुगिसकेको थियो। लिग–२ को अन्तिम शृंखला घरेलु मैदानमा आयोजना गर्न स्वदेश फर्किएको नवौं खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। यूएईलाई कीर्तिमानी १ सय ७७ रनले हराएपछि देसाईको नेतृत्वमा दुई खेल अगावै एकदिवसीय मान्यता जोगाएको थियो। ​​​​​​​नेपालले दुई शृंखला अर्थात् ८ खेल खेल्न बाँकी रहँदै नामिबिया ३६ खेलबाट ३९ रन जोडेर तेस्रो स्थानमा विराजमान थियो। नामिबिया सोझै विश्वकप छनोटमा पुग्ने दाउमा थियो। केही हदसम्म ढुक्क पनि। किनभने, नेपालले नामिबियालाई पछि पार्न बाँकी आठमध्ये सात खेलमा जित निकाल्नुपर्ने थियो। तर, नेपालले सनसनीपूर्ण यात्रा तय गरेर १४ अंक जोड्दै नामिबियालाई एक अंकले पछि पार्न सफल भयो। चौथो स्थानमा धकेलिएको नामिबियाले अब ग्लोबल छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने भएको छ। चौथो स्थानको नामिबियाले ३९, पाँचौं स्थानको अमेरिकाले ३५, छैटौं स्थानको यूएईले ३३ र सातौं स्थानको पीएनजीले ११ अंक जोडे। शीर्ष तीन टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँद बाँकी चार टोलीले प्लेअफ खेल्नेछन्। करिब साढे तीन वर्षमा लिग–२ का २१ शृंखला र १ सय २६ खेलपछि एउटा अध्याय समाप्त भएको छ। कुल ३६ मध्ये २४ खेलमा जित, १० खेलमा हार र दुई खेल नतिजाविहीन रहँदा ५० अंक जोडेको स्कटल्यान्ड च्याम्पियन बन्यो। यस्तै, समान खेलमा २१ जित, १३ हार, एक बराबरी र एक खेल नतिजाविहीन हुँदा ४४ अंकसहित ओमानले दोस्रो स्थान सुरक्षित गर्‍यो। नेपाल ३६ खेलमा १९ जित, १५ हार, एक बराबरी र एक नतिजाविहीन खेलपछि ४० अंक जोडेर तेस्रो स्थानमा रह्यो। जिम्बाबेमा हुने ग्लोबल छनोटमा नेपालले लिग–२ कै दुई टिम, सुपर लिगबाट आएका पाँच टिम र प्लेअफबाट आएका दुई टिमसँग खेल्नेछ। लिग–२ बाट नेपालसँगै स्कटल्यान्ड र ओमानले स्थान बनाइसकेका छन्। यसै महिना हुने प्लेअफमा क्यानडा, जर्सी, नामिबिया, पीएनजी, यूएई र अमेरिकामध्ये दुई टिम आउने छन्। यस्तै सुपर लिगबाट पुछारका पाँच टिम आउने छन्। अहिलेको अवस्थामा दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स अन्तिम पाँच स्थानमा छन्। सुपर लिग मे महिनामा मात्रै सकिने छ। ​​​​​​​विश्वकप ग्लोबल छनोटमा स्थान बनाइसकेपछि प्रशिक्षक देसाईले सबैले आफ्नो भूमिका निर्वाह गरेको र सम्पूर्ण टिमको योगदानबाट मात्रै यो सम्भव भएको प्रतिक्रिया दिएका छन्। ‘हामीले दुई सय ७०–८० को लक्ष्य पूरा गरिरहेका थियौं। त्यसैले बिहीबार पनि लक्ष्य पूरा गर्नेमा विश्वस्त थियौं’, देसाईले भने, ‘यदि हामीले पूरा ५० ओभर ब्याटिङ गर्यौं भने हामीसँग ३ सय ११ रनको लक्ष्य पूरा गर्ने क्षमता छ भन्ने विश्वास थियौं।’ राष्ट्रिय टोलीमा पछिल्लो समय आइपरेका विभिन्न दृश्य–परिदृश्यको नतिजाले नेपाली टोलीको कप्तानको जिम्मेवारी रोहित पौडेलको काँधमा आइपर्‍यो। पहिलो कदममै नेपाललाई ऐतिहासिक यात्रा तय गराएका रोहित यो जस आफू मात्रै लिन चाहँदैनन्। ‘बिहीबारको खेल ग्रान्डफिनाले जस्तै भयो’, रोहितले भने, ‘यो महत्वपूर्ण जित थियो। हामीले १२ खेल अगाडि नै सोचेका थियौं, पहिले एकदिवसीय त्यसपछि ग्लोबल छनोट। टोलीको नेतृत्व सम्हालेदेखि नै प्रशिक्षकले सबै कुरा व्यवस्थापन गर्नुभयो। हाम्रो लागि त्यो महत्वपूर्ण सावित भयो।’ खेलमा विभिन्न नाटकीय अवस्था आए पनि कप्तानले उत्कृष्ट ढंगले भूमिका निभाएको र डगआउटलाई निश्चिन्त राखेको प्रशिक्षक देसाईले बताए। ‘त्यही कारण हामी लाइन क्रस गर्न सफल भयौं’, उनले भने। देसाईले खेलाडीसँगै व्यवस्थापन पनि जितप्रति पूर्णरूपमा विश्वस्त रहेको बताए।

Like